काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो निक्षेप फिर्ता गर्न माग गर्दै सञ्चालक र व्यवस्थापकविरुद्ध विभागमा उजुरी दिएका छन् । विभागले सहकारीका सञ्चालक तथा व्यवस्थापकका खाता रोक्का राख्न राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध पठाइसकेको छ ।
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । जबराविरुद्धको महाभियोग पाँच महिनाभन्दा लामो समयदेखि विचाराधीन छ । फागुन १ गते प्रस्तावको सूचना दर्ता भई २९ गते प्रतिनिधि सभामा पेस भएको थियो । तर त्यसयता समितिमा पठाउने कार्यसूची बन्न सकेको छैन । विधायिकाले विशेषाधिकार प्रयोग गरेर दर्ता गरेको प्रस्तावले न्यायपालिका प्रमुख निलम्बन भएको लामो समय भए पनि संसदीय प्रक्रिया अघि नबढाइएको हो ।
काठमाडौं, साउन १६ गते । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरस्थित बागमती खोला परिषरमा साँझको आरती हेर्न आउने भक्तजनहरुको घुईंचो । तस्बिरहरु : सागर बस्नेत
बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपालीलाई सुत्केरी बेथाले च्यापेपछि छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसअन्तर्गत रहेका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तरूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
राप्ती गाउँपालिका– ३, भालुवाङको पुलबाट देखिएको राप्ती नदी आएको बाढी ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
राज श्रेष्ठ र अजर सिम्हाले चौंथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । सातदोबाटोस्थित स्क्वास कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिातको पुरुष खुलातर्फ राज र अजरले जित निकाल्नुभयो । राजले राज महर्जनलाई १४–१६, ११–५, ११–५, ७–११, ११–४ ले पराजित गर्नुभयो ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिर नजिकै मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभीरमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड अबरुद्ध भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्डको काभ्रेभीरस्थित घोप्टेभिरमा सडक माथिबाट पहिरो आएको र म्याग्दी क्षेत्रमा पनि दुई ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई हिन्दू परिषद नेपालले २१ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग नेपालको भएकाले फिर्ताको लागि निरन्तर प्रयास र पहलको खाँचो भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ती भूभाग नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभयो ।
दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तात्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध चार लाख ४७ हजार पाँचसय रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा जोशीले आर्थिक वर्ष २०७३–७४ मा फर्निचर खरीद गर्दा कमिसन खाएको आरोप लागेको छ ।
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अधिकांश भवन जीर्ण अवस्थामा रहेको छ । करिब ५० बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहेको क्याम्पस प्रमुख लालमणी आचार्यले जानकारी दिनुभयो । भवन जीर्ण भए पनि त्यही भवनमा पठनपाठनको काम हुँदैआएको छ ।