• १७ असार २०८१, सोमबार

खोलाले बगाउँदा किशोरीको मृत्यु

blog

फाइल तस्बिर

लीलाधर ओली

घोेराही, साउन १६ गते । दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।  

प्रहरी प्रवक्ता रिजालका अनुसार दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएकाबेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । उहाँसँगै गएकामध्ये घोराही उपमहागनरपालिका–१४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएको प्रहरीले जनाएको छ ।  

प्रहरी प्रवक्ता रिजालका अनुसार सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चार जना दाङको पहाडी गाउँपालिकाका रुपमा रहेको बंगलाचुली गाउँपालिकाको मर्फेस घुम्न गएका थिए । पानी पर्न थालेपछि घुम्न गएका उनीहरू बाटोबाटै फर्किएका थिए । फर्किने क्रममा बंगलाचुली गाउँपालिका –२ स्थित स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको प्रवक्ता रिजालले जानकारी दिनुभयो । 

‘खोला तर्दा पछाडिबाट मोटरसाइकल ढकल्दै गर्दा सुनितालाई बगाएको भन्ने कुरा आएको छ’ प्रवक्ता रिजालले भन्नुभयो, ‘प्रहरीलाई खबर आएपछि खोजी गर्दा शव घोराही उपमहानगरपालिका –१८ स्थित सिस्नेखोलामा भेटिएको छ ।’ मृतकको शव पोष्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जनाएको छ । 

खोलाले दुई वटा मोटरसाइकल बगाएको भएपनि रा ३ प ५०६३ नम्बरको मोटरसाइकल मात्रै खोलामा फेला परेको रिजालले बताउनुभयो ।