• २३ चैत २०८२, सोमबार

गाउँमै निःशुल्क विशेषज्ञ सेवा

blog

गाउँमै निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराउनुहुँदै मुटुरोग डा. नारायण गौतम । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, चैत २३ गते ।
चार वर्षबाट मुटुमा समस्या देखिएर उपचार नगर्नु भएका अर्जुनचौपारी वडा नं –४ का ५८ वर्षीय होम नाथ चपाईले गाउँमै मुटुको उपचार पाउनु भएको छ ।

आर्थिक अभावमा अहिलेसम्म उपचार गर्न नसक्नु भएका चपाईले घरनजिकै रहेको वडा नं –४ कै खेवाङमा पहिलो पटक मुटुरोग डा. नारायण गौतमबाट सेवा लिनुभएको हो ।  

सत्य साई सेवा सङ्गठनले वडाको सहकार्यमा आयोजना गरेको एक दिने निःशुल्क शिविरमा गाउँमै उपचार पाएकोमा चपाईले खुसी व्यक्त गर्नुभयो ।

उहाँले रकमको अभाबमा उपचर नभई ज्यानै जाने हो की भन्ने लागेको थियो पहिलो पटक गाउँमै रोगको उपचार पाएको बताउनुभयो ।

चपाई जस्तै बनपाखेका ५७ वर्षीय डेलप्रसाद गुरुङले समेत गाउँमै मुटुकोट उपचार गर्नु भयो । नौ वर्ष पहिला मुटुको भल्ब काठमाडौँमा फेरेर पोखराबाट निरन्तर औषधी सेवन गर्नु भएका गुरुङले अहिले मुटुमा समस्या परेर देखाउने बेलामा गाउँमै विशेषज्ञ सेवा पाएको बताउनुभयो ।

हरेक तीन तीन महिलामा उपचार गर्न पोखरा र काठमाडौँ पुग्दा धेरै खर्च हुने गरेको बताउदै गुरुङले गाउँमै भएको निःशुल्क शिविरले समयको बचत, खर्च घटाएको बताउनुभयो ।

यहाँ चपाई र गुरुङ जस्तै ११२ पुरुष र तीन सय महिला गरेर ४१२ जनाले स्वास्थ्य सेवा लिएको वडा सदस्य नेत्र बहादुर गुरुङले बताउनुभयो ।

शिविरमा मुटु रोग, स्त्री रोग, दन्तरोग, आँखा सम्बन्धी रोग, हाँडजोर्नी तथा बाधरोग, इसीजी र भिडियो एक्स–रे सेवा प्रदान गरिएको थियो भने निःशुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा मुटु रोग विशेषज्ञ डा नारायण गौतमको नेतृत्यमा १० जना विशेषज्ञ र अन्य मेडिकलकर्मी गरेर ४१ जनाले सेवा प्रदान गर्नु भएको थियो भने शिविरमा स्याङ्जा र पर्वतका सेवाग्राहीले स्वास्थ्य सेवा लिएका थिए ।