जनार्जन खत्री
सर्लाही, चैत २३ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथान र लालबन्दी नगरपालिका–१५, देउरालीलाई जोड्ने गरी फूलजोर खोलामा पुल बन्ने भएको छ ।
यो ठाउँमा पुल नहुँदा घारिबथान र परवानीपुर क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन् । पुल नरहेकाले बर्खायाममा बाढी आउँदा आउजाउ ठप्प हुने गरेको छ ।
अब भने मधेश प्रदेश सरकारको लगानीमा पक्की पुल निर्माण कार्य प्रारम्भ गर्न लागिएको हो । क्रमागत योजनाअन्तर्गत पुल निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा एक करोड बजेट विनियोजन भइसकेको सर्लाही क्षेत्र नं. १ (ख) की मधेश प्रदेश सभा सदस्य बेची लुङ्गेलीले जानकारी दिनुभयो ।
क्रमागत रुपमा बजेट बिनियोजन हुँदा यस वर्ष सुरु भए पनि पुलको काम सम्पन्न हुन केही वर्ष लाग्ने प्रदेशसभा सदस्य लुङ्गेलीले बताउनुभयो । “सडक कालोपत्रे भइसक्न लागेकाले अब पुल नै प्राथमिकतामा पर्छ,” प्रदेश सभा सदस्य लुङ्गेलीले भन्नुभयो, “यो वर्ष एक करोडबाट काम सुरु गरेर जति सक्दो चाँडो सम्पन्न गर्ने गरी आगामी वर्षहरुमा पनि बजेट विनियोजनका लागि पहल गर्छौँ ।”
मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’अन्तर्गत अहिले लालबन्दी नगरपालिका–११, बाहुनीदेखि ईश्वरपुर नगरपालिका–१२, घारिबथानसम्मको सडक कालोपत्रे गर्ने कार्य जारी रहेको छ । सोही सडकअन्तर्गत नै पर्ने फूलजोर खोलामा पक्की पुल बनाइने भएको हो ।
बाहुनीदेखि परवानीपुर चोकसम्मको छ किलोमिटर सडक कालोपत्रेका लागि यसै वर्ष १३ करोड १२ लाख ३७ हजार ५०३ रुपियाँ २३ पैसामा ठेक्का लागेर धमाधम काम भइरहेको छ । ईश्वरपुर १२ घारिबथानको चाकलटोल क्षेत्रको सडक कालोपत्रेका लागि पनि बेस बिछ्याउनेलगायतका काम भइरहेको स्थानीय सन्तबहादुर तामाङ बताउनुभयो ।
खोलामा पुल बन्दिए बर्खामासमा वारपार नै ठप्प हुने अवस्थाको अन्त्य हुने तामाङको आशा छ । उहाँले भन्नुभयो, “हिउँदमा त पुल नहुँदा पनि केही थिएन तर बर्खा लागेपछि त बाढी आउन थालेपछि वारपार गर्नै सकिँदैन् ।”
चुरेको फेदीमा पर्ने बाहुनीदेखि घारिबथानसम्मको विभिन्न गाउँका स्थानीय सडक कालोपत्रे भइरहँदा खुसी भएका छन् । परवानीपुर चोकदेखि देउरालीसम्मको सडक यसअघि नै कालोपत्रे भइसकेको थियो ।
घारिबथानस्थित चाकलटोल क्षेत्रको सडक कालोपत्रे भएपछि लालबन्दी ११ बाहुनीदेखि चुरेपाखा तलको बाटो भएर महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारासम्म सहज रुपमा आउजाउ गर्न सकिने स्थानीयले बताएका छन् । चुरेफेदीकै सडकअन्तर्गत लालबन्दी नगरपालिका–११, हीरापुर र लालबन्दी नगरपालिका–१३, जियाजोरलाई जोड्ने गरी लखन्देही खोलामा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।
भर्खरै मात्र हरिवन नगरपालिका १ मा पटौना र भोक्टेनी गाउँलाई जोड्ने गरी पक्की पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेको छ । अब फूलजोरमा बन्न लागेको पुल र लखन्देहीको निर्माणाधीन पुल सम्पन्न हुनासाथ बागमतीदेखि बाँके खोलासम्म चुरेको फेदी नै फेदी वैकल्पिक सडक तयार भइ जनजीवन सहज हुने अवस्था रहेको हरिवन नगरपालिका १ का वडाध्यक्ष टमबहादुर तामाङले बताउनुभएको छ ।
सडक र पुल तयार भएपछि यस क्षेत्रका कृषि उपज सहजै बजारसम्म ल्याउन र आकस्मिक बिरामी पर्दा लालबन्दी तथा हरिवनका अस्पतालसम्म आइहाल्न छिटोछरितो हुने स्थानीयले बताएका छन् ।