• ८ जेठ २०८१, मङ्गलबार

घोप्टेभिरमा पहिरो जाँदा सडक अबरुद्ध

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन १६ गते । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिर नजिकै मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभीरमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड अबरुद्ध भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्डको काभ्रेभीरस्थित घोप्टेभिरमा सडक माथिबाट पहिरो आएको र म्याग्दी क्षेत्रमा पनि दुई ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।

कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला सडकखण्ड मुस्ताङतर्फ थासाङ गाउँपालिकाको घोप्टेभिरमा पहिरोले सडक अबरुद्ध भएको छ । घोप्टे भिरको पहिरो पन्छाउन केही दिन लाग्नसक्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले बताउनुभयो । 

सुवेदीका अनुसार मुस्ताङको बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–४ पाण्डा खोलामा पनि खोलाले धार परिवर्तन गर्दा सडक अबरुद्ध भएको छ । त्यस्तै थासाङ गाउँपालिकाको कैकु खोलामा बाढी आउँदा खोलाले धार परिवर्तन गर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम सडक खण्डको म्याग्दीतर्फ पर्ने अन्नपुर्ण गाउँपालिका–३ दानाको रुप्सेमा सडक माथिबाट ढुङ्गा खस्दा सवारी आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो । 

अन्नपुर्ण गाउँपालिकाकै नौनीबगर, रघुगंगा गाउँपालिकाको बेगखोला, गलेश्वर, बेनी नगरपालिकाको जलेश्वरमा सडकमा हिलो तथा सडक कटानले सोझो यातायात सञ्चालनमा समस्या भएको ढकालको भनाइ छ ।