पन्ध्रौं योजनामा सञ्चार तथा सूचना प्रविधि

ganes raiगणेश सिन राई

वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा अगाडि सारेको छ । उक्त नाराको मर्मलाई संवोधन हुने गरी आवश्यक नीति, योजना र कार्यक्रमहरू तर्जुमा र कार्यान्वयनमा प्राथमिकता छ । राष्ट्रिय योजना आयोगबाट पन्ध्रौँ पञ्चवर्षीय योजना (२०७६–०७७ देखि २०८०–०८१) को सोचपत्र तयार भई विषयगत तथा क्षेत्रगत छलफलको चरणमा छ । यसले मुलुकको समग्र क्षेत्रको विकास र समृद्धिमा जोड दिएको छ । ती विभिन्न क्षेत्र र विषयहरूमध्ये विकासका समग्र पक्षहरूमा सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय सुशासन कायम गर्न सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा आगामी पाँच वर्षमा हासिल गरिने सोच, लक्ष्य, उद्देश्य, रणनीतिहरू प्रस्तुत गरिएको छ ।
विद्यमान अवस्था
पन्ध्रौँ योजनाको सोचपत्रमा आमसञ्चार माध्यम पूर्णरूपमा मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय हुन नसक्नु, दूरसञ्चार सेवामा सबै नागरिकको पहुँच पुग्न नसक्नु, सूचना प्रविधिको विकास र साइवर सुरक्षाको लागि पर्याप्त संरचनागत र कानुनी व्यवस्था हुन नसक्नु, सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको न्यून उपयोग, नेपाललाई प्राप्त ‘अर्विटल स्लट’को समयमै उपयोग गर्न नसक्नु, सुरक्षण मुद्रणको पर्याप्त पूर्वाधार विकास नहुनु, चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न नसक्नु, विज्ञापन व्यवसाय व्यवस्थित हुन नसक्नुलाई समस्याका रूपमा पहिचान गरिएको छ ।
यी समस्यालाई चुनौतीका रूपमा प्रस्तुत गर्दै सोचपत्रले पूर्ण अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सञ्चार र सूचनाको हकको प्रत्याभूति गरिएको, डिजिटल नेपालको अवधारणाले महìव पाउनु, शिक्षा क्षेत्रको समग्र विकासको लागि सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा विस्तार हुनु, सूचना प्रविधिमा निजी क्षेत्रको लगानी वृद्धि हुँदै जानु, सूचना प्रविधिलाई आर्थिक विकासको संवाहकको रूपमा स्वीकारिनुलाई अवसरका रूपमा लिएको छ । सूचना प्रविधिमा काम गर्न युवा आकर्षित हुनु, थप रोजगारीका अवसर सिर्जना हुनु, मोवाईल प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनु, डाटामा आधारित दूरसञ्चार सेवा, सार्वजनिक सेवामा नागरिकको पहुँच क्रमशः वृद्धि हुँदै जानु, सूचना प्रविधिको प्रयोगले सेवा प्रवाहको लागतमा कमी आउनुलाई सूचना प्रविधिका क्षेत्रमा उपलब्ध अवसरका रूपमा लिईएको छ ।
रणनीति
योजनाको सोचपत्रमा स्पष्ट रूपमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सोच ‘नविनतम सञ्चार तथा सूचना प्रविधियुक्त राष्ट्र’ रहने उल्लेखित छ । ‘आम सञ्चार, दूरसञ्चार तथा सूचना प्रविधिमा सबै नागरिकको पहुँच तथा उच्चतम उपयोग सुनिश्चित गरी आम नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने’ लक्ष्य र ‘सबै नागरिकमा सूचनाको सहज पहुँच तथा उपयोग विस्तार गर्नु, सञ्चार र सूचना प्रविधिको सेवालाई सर्वसुलभ, भरपर्दो र गुणस्तरीय बनाई सञ्चार र सूचना प्रविधिमा आधारित उद्योगको विकास गरी रोजगारी वृद्धि गर्नु’लाई मूल उद्देश्य मानिएको छ । योजनाको सोचपत्रमा तय गरिएका सोच, लक्ष्य र उद्देश्यहरू प्राप्तीका लागि आठवटा मूल रणनीतिहरू र आवश्यकतानुसार कार्यनीतिहरूको समेत व्यवस्था गरिएको छ । रणनीतिमा सूचना र आमसञ्चारमा सबै नागरिकको पहुँच तथा उपयोग सुनिश्चित गर्ने, दूरसञ्चार एवं ब्रोडव्याण्ड सेवाको पहुँच विस्तार गर्ने, डिजिटाईजेसन मार्फत सामाजिक, आर्थिक र शासकीय व्यवस्थामा सुधार गर्ने, सुरक्षण मुद्रणको व्यवस्था गर्ने, विज्ञापन बजार व्यवस्थित बनाउने लगायतका विषयहरूमा जोड दिइएको छ ।
पन्ध्राँै योजनाको रणनीतिहरू अनुरूप कार्यनीतिहरूमा सबै नागरिकमा सूचनाको पहुँच पु¥याउन आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था, सूचनाको हकको कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोगको प्रभावकारिता र क्षमता अभिवृद्धि, सङ्घीय संरचना अनुरूप सातै प्रदेशमा सञ्चार ग्रामको स्थापना, स्थानीयस्तरसम्म ब्रोडब्यान्ड सेवा विस्तार, ग्रामीण दूरसञ्चार कोषलाई प्रभावकारी ढङ्गबाट परिचालन गरिनेजस्ता कार्यनीतिहरू अवलम्बन गरिने उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आमसञ्चार, सूचना प्रविधि र फ्रिक्वेन्सीको व्यवस्थापनलाई मूल स्तम्भका रूपमा स्वीकार तथा आत्मसात् गरेका क्षेत्र तथा विषयहरूलाई नै पन्ध्रौँ पञ्चवर्षीय योजनामा समेत अङ्गीकार गरिएको देखिन्छ । मन्त्रालयले स्वीकार तथा आत्मासात् गरेका आधारस्तम्भहरूको प्रभावकारी परिचालन र व्यवस्थापनमार्फत् मुलुकको सामाजिक, आर्थिक तथा प्रविधि लगायतका पक्षहरूको विकासमा योगदान दिने विश्वास योजनाले गरेको छ । यी क्षेत्रहरूका साथमा डिजिटल नेपाल, सुरक्षण मुद्रणसमेतका विषय र क्षेत्रहरूमा जोड दिइएको छ ।
अबको कदम
पन्ध्रौँ योजनाको सोचपत्रले अगाडि सारेका योजना कार्यान्वयनमा सहयोग हुने बजेट, नीति कार्यक्रमसहित पर्याप्त नीतिगत, संरचनागत व्यवस्थासँगै मानवीय तथा गैर मानवीय साधन स्रोतको उपलब्धता सुनिश्चित गर्नु पर्दछ । योजना कार्यान्वयनको संयन्त्र निर्माण र परिचालन, पर्याप्त आर्थिक साधनसहित दक्ष जनशक्तिको विकास र उपलब्धता, सहभागितामुलक, प्रतिनिधिमुलक समावेशी कार्य सम्पादनको अवधारणाको अवलम्बन आवश्यक हुने गर्दछ ।
सञ्चार तथा सूचना प्रविधि विशुद्ध प्राविधिक तर बहुआयामिक र बहुक्षेत्रलाई प्रभाव पार्ने क्षेत्र हो । यसको आवश्यकतालाई अझ थप अर्थपूर्ण र प्रभावकारी बनाउन दक्ष जनशक्तिको विकास र सदुपयोगमा जोड दिनुपर्दछ । राष्ट्रिय सूचना आयोग र राष्ट्रिय समाचार समितिको सशक्तिकरणसहित प्रादेशिक संरचनासम्म विस्तार र विकास गरिनुपर्दछ ।
यस्तै, भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवाको प्रत्याभूति, ग्रामीण दूरसञ्चार कोषको प्रभावकारी परिचालन र व्यवस्थापन गरी दुर्गम भेग, क्षेत्र र सीमान्तकृत वर्ग, समुदायसम्म सहज र प्रभावकारी दूरसञ्चार सेवाको विस्तार, हुलाक सेवाप्रतिको विश्वसनियता विकास गर्न सेवाग्राहीको पहिचान, हुलाक सेवाको विविधीकरणमा प्राथमिकता उत्तिकै आवश्यक छ ।
सञ्चार तथा सूचना प्रविधि मुलुकको समग्र पक्षको विकासको लागि महìवपूर्ण संवाहक तथा उत्प्रेरक हो । बहुक्षेत्रीय उपयोग र उपयोग हुन सक्ने अवस्थालाई मनन् गर्दै यसको पर्याप्त, गुणस्तरीय, प्रभावकारी, सर्वसुलभ उपलब्धता सुनिश्चित हुन आवश्यक देखिन्छ । यसका लागि मौजुदा नीतिगत व्यवस्थाहरूको समसमायिक परिमार्जन, संशोधन र नयाँ व्यवस्थाहरूको निर्माणसँगै प्रभावकारी कार्यान्वयन हुन आवश्यक छ । पन्ध्रौँ योजनाको सोचपत्रमा उल्लेख गरिएका चुनौती, समस्या तथा अवसरहरूलाई आत्मसात् गरी अन्तरनिकाय, अन्तर तह समन्वय र सहकार्यमा प्राथमिकता दिई अगाडि बढ्ने हो भने सञ्चार तथा सूचना प्रविधिसँगै मुलुकको समग्र पक्षको विकास हुन गई सरकारले लिएको नारा ‘समृद्ध नेपाल र सुखी नेपाली’ले साकार रूप लिनेछ ।

(लेखक नेपाल सरकारका शाखा अधिकृत हुनुहुन्छ । )

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds