• २३ फागुन २०८२, शनिबार

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर-१ मा नेकपाको अग्रता

blog

केदार तिमल्सिना

बनेपा, फागुन २२ गते । काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएको छ । शुक्रबार मध्यान्हबाट सुरु भएको मतगणनाको हालसम्मको मतपरिणाम अनुसार यो क्षेत्रमा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार दिनानाथ गौतमले अग्रता लिनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर–१ का अनुसार महाभारत गाउँपालिका सम्पूर्ण मतदान केन्द्र र खानीखोला गाउँपालिकाका दुई वटा मतदान केन्द्रको मत गणना गर्दा नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार गौतमले तीन हजार ४४६ मतप्राप्त गर्नुभएको छ । 

यस्तै यो क्षेत्रमा हालसम्म नेपाली काङ्ग्रेसका उम्मेदवार गुणराज मुक्तानले एक हजार ९९० मत, नेकपा एमालेका अमि (अमित) लामाले एक हजार २४० मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मधुकुमार चौलागाँईले ३१५ मत, उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेन्द्र लामाले २९३ मत प्राप्त गर्नुभएको छ । हालसम्म यो क्षेत्रमा सात हजार २२० मत गणना हुँदा ३७५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहिबार भएको मतदान कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा ५६ दशमलव ५७ प्रतिशत अर्थात् कुल ९१ हजार १२८ मत र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ६४दशमलव १७ प्रतिशत अर्थात् एक लाख छ हजार २१३ मत गरी जिल्लामा कुल ६० दशमलव ४२ प्रतिशत अर्थात् एक लाख ९७ हजार ३४१ मत खसेको थियो । 

क्षेत्र नम्बर–१ मा ८३ हजार ७७३ पुरुष र ७७ हजार ३२६ महिला गरि एक लाख ६१ हजार एक सय मतदाता रहनुभएको थियो ।