पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण, संवर्धन समितिले २०८१ वैशाख १३ गते पाणिनीय ज्ञान तथा पाणिनि तपोभूमिको महत्वलाई उजागर गर्ने हेतुले काठमाडौँमा अन्तरसंवाद आयोजना ग¥यो । अन्तरसंवादमा विद्वान् वक्ताले पाणिनि ऋषिका बारेमा प्रकाश पार्नुभयो । शोधार्थी तथा जिज्ञासुले पाणिनि र पाणिनि तपोभूमिका सम्बन्धमा आआफ्ना धारणा राख्नुभयो । पाणिनि संस्कृत व्याकरणका रचयिता हुनुहुन्छ ।
पाणिनिलाई वर्णनात्मक तथा वैज्ञानिक भाषा विज्ञानका प्रथम व्यक्ति भनिन्छ । कतिपय पश्चिमा विद्वान्ले पाणिनिलाई भाषाशास्त्रका पिता भनेका छन् । फ्रेन्च प्रोफेसर फर्निनान्ड दे ससर, जसलाई संरचनात्मक भाषा विज्ञानका जनक भनिन्छ । अमेरिकन भाषाशास्त्री चाल्र्स सन्डर्स पियर्स, जसलाई यथार्थवाद वा कार्यात्मकतावादका पिता भनिन्छ । उनीहरूको भाषासम्बन्धी ज्ञानको आधार पाणिनि ऋषि भएको मानिन्छ । अर्का अमेरिकन भाषाशास्त्री लियोनार्ड ब्लुमफिल्ड पनि पाणिनिको भाषा विज्ञानबाट प्रभावित भएको मानिन्छ ।
पाणिनिको जन्म कहिले भयो यकिनसाथ भन्न सकिएको छैन । धेरैको मतमा उनको जन्म इसापूर्व चौथो शताब्दीमा हालको पाकिस्तानको लाहोर सहरनजिक रहेको सलातुर भन्ने ठाउँमा भएको मानिएको छ । यद्यपि कतिपय विद्वान्ले पाणिनिका सूत्रमा उल्लेख भएका शब्दको हवाला दिँदै इसापूर्व छैटौँ शताब्दी भएको पनि भन्छन् । जे होस् पाणिनि इसापूर्व चौथो तथा छैटौँ शताब्दीको वरिपरि जन्मिएका र उनले संस्कृत व्याकरणको रचना गरी त्यसलाई सूत्रका रूपमा संहिताबद्ध गरेकाले यो नै वैज्ञानिक तथा प्रयोगात्मक भाषाशास्त्रको पहिलो पाइला रहेकोमा सबै विद्वान् एक मत छन् ।
अध्ययन
जनश्रुति अनुसार पाणिनि अध्ययनका लागि आफ्नो मावली घर पाटलीपुत्र (हालको पटना) आउनुभएको थियो । उनले आफ्ना मामा ब्याडी ऋषि (कसैले वर्षा ऋषि पनि भनेका छन्) बाट शिक्षा ग्रहण गर्नुभएको थियो । अध्ययन गर्दा ब्याडी ऋषिका अरू शिष्यको तुलनामा पाणिनि कमजोर रहेकाले गुरुआमा अर्थात् ब्याडी ऋषि पत्नीले पाणिनिलाई शिवको तप गरी विद्या प्राप्त गर्न सुझाए अनुसार उनी पाटलीपुत्रबाट तप गर्न उत्तरतर्फ लाग्नुभयो । पाणिनिको तपबाट शिव प्रसन्न भई आफ्नो डमरु बजाई आवाजबाट पाणिनिलाई चौध सूत्रको ज्ञान दिएको बताइन्छ । शिव प्रसन्न भएर ज्ञान दिने कुरा अहिलेको युगमा अविश्वसनीय लागे पनि पाणिनिले पाटलीपुत्रमा पाएको शिक्षाका आधारमा निर्जन स्थानमा एकाग्र भई चिन्तन गर्दा उनलाई अन्तर्मनबाट १४ सूत्रको ज्ञान प्राप्त भयो । जसलाई शिवसूत्र पनि भनिन्छ । यसै ज्ञानको विकासका क्रममा उनले संस्कृत व्याकरणको रचना गरेका हुन् । यो नै भाषा विज्ञानको विकासको प्रथम पाइला थियो ।
एकान्तमा एकाग्र भई ध्यान र अध्ययन गर्दा ज्ञान प्राप्त हुने कुरा बुद्धले ध्यानद्वारा ज्ञान प्राप्ति गरेबाट पनि सत्यको नजिक हुन्छ । त्यो समयमा ज्ञानको स्रोत शिवलाई मानिने हुनाले शिवबाट प्राप्त आशीर्वादका रूपमा शिवसूत्र नामकरण गरिएको मान्नु युक्तिसङ्गत देखिन्छ । लाहोरनजिक सलातुरमा पाणिनिको जन्मस्थान रहेकोले हालको रावलपिण्डीनजिक रहेको तथा त्यस समयको प्रख्यात तक्षशिला विश्वविद्यालयमा पनि पाणिनि सम्बद्ध रहेको इतिहासकारले बताएका छन् । पाणिनिले व्याकरणको रचना गरेपछि त्यसका आधारमा ऋषि पिङ्गलले छन्दशास्त्रको रचना गरे । ऋषि पिङ्गल पाणिनिका भाइ रहेको मानिएको छ ।
पाणिनि तपोभूमि
अर्घाखाँची जिल्लाको पूर्व दक्षिणमा हालको पाणिनि गाउँपालिका छ । त्यो गाउँपालिकाको पूर्वतर्फ वडा नं. १ पणेनाको दक्षिणतर्फ चार हजार पाँच सय फिटको उचाइको लेकडाँडोमा सुन्दर, शान्त, मनोरम तलाउ रहेको थियो । हाल तलाउमा सिमेन्टको लेपन गर्नाले पानी जम्मा हुन सकेको छैन । तलाउको वरिपरिको वनजङ्गल, लेकको टुप्पोमा समथर भूमि, रुखको हाँगामा बसेर चिरबिर, चिचुङ्का साथ सुनिने चराको मिठो सङ्गीत, तलाउबिचमा रहेको शिवजीको मूर्तिले त्यहाँ पुग्ने जोकोहीलाई आध्यात्मिक शान्तिको अनुभूति दिलाउँछ । तलाउको दक्षिणतर्फ पाणिनिको मूर्ति स्थापित गरिएको छ । उत्तरतर्फ पाणिनिले तपस्या गरेको स्थान छ । जसलाई सिद्धाश्रम वा सिद्धिको स्थान भनिन्छ । यही स्थानमा महादेवको तपस्या गर्दा पाणिनिलाई ज्ञान प्राप्त भयो ।
महादेवको तपस्याबाट प्राप्त भएको ज्ञानलाई शिवसूत्र भनियो । यसैका आधारमा पाणिनिले विश्वप्रसिद्ध अष्टाध्यायीको रचना गर्नुभयो । यही उत्तर भागमा पछि राधाकृष्ण र महादेवको मन्दिर पनि बनाइएको छ । यसै स्थानमा स्वामी कृष्णानन्दको आश्रम छ । यही आश्रममा बसेर स्वामी कृष्णानन्दले योगसाधना गर्नुभयो । कृष्णानन्दको आश्रमको पूर्वतर्फ स्वामीकै समाधिस्थल छ । त्यही समाधिस्थलमाथि स्वामीको मन्दिर बनाइएको छ । पोखरीको पश्चिमतर्फ दृश्यावलोकन गर्न एउटा टावर बनाइएको छ । यहाँबाट हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न सकिन्छ ।
योगी तथा अन्य साधकका लागि साधना गर्न यहाँ प्राकृतिक सौन्दर्य, आध्यात्मिक शान्ति तथा मानवनिर्मित आश्रमको उपलब्धताले सहज वातावरण निर्माण गरिदिएको छ । यहाँ समय समयमा मेला र पूजा आराधना हुने गर्छ । पाणिनि तपोभूमि ज्ञान, साधना र आध्यात्मिक शान्तिको सङ्गम भएर रहेको छ । यो नेपालको ऐतिहासिक र सांस्कृतिक महìव बोकेको स्थान पनि हो । प्राचीन समयमा योगीको साधना स्थल रहेको यो स्थानमा २०१८ सालमा पणेनाका प्रतिष्ठित व्यक्ति गिरिराज पोख्रेलको अगुवाइमा पाणिनि तपोभूमिमा विश्वशान्ति महायज्ञ गरेपछि उक्त स्थान धार्मिक गन्तव्य र अनुष्ठानको पनि केन्द्र बन्यो ।
विसं २०३० मा खगेन्द्रराज पोख्रेल र धातानन्द पोख्रेलको अगुवाइमा यज्ञकार्य गर्ने मण्डप निर्माण गरियो । स्वामी कृष्णानन्दको प्रेरणाले त्यहाँ आउने योगीको बासका लागि नेपाल सरकारको सहयोगमा २०५८ सालमा आश्रम निर्माण भयो । २०८१ चैतमा पाणिनि गाउँपालिकाको अग्रसरतामा रैनादेवी छहरा गाउँपालिका पाल्पा, पर्यटन विकास परिषद् बुटवल तथा नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पाणिनि तपोभूमि सम्मेलनको आयोजना गरियो । स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि सबैको प्रयत्नले पाणिनि तपोभूमिको प्रचारप्रसार र निर्माणको क्रम चलिराखेको छ ।
भाषाको समृद्धि
प्राचीन समयमा संस्कृत भाषा समृद्ध थियो । अहिले पनि नीतिशास्त्रसम्बन्धी ज्ञान लिन संस्कृत साहित्यको अध्ययन गर्नु पर्छ । राजनीति, अर्थनीति, कूटनीतिसमेत अनेकन सामाजिक नीतिका श्लोक चाणक्य नीति, विदुर नीति, भर्तृहरि नीति, धौम्य नीति, पञ्चतन्त्रलगायतका संस्कृत साहित्यमा उपलब्ध छन् । यी नीति अहिलेको लोकतान्त्रिक परिवेशमा पनि त्यत्तिकै प्रभावशाली छन् । यी नीतिको ज्ञानबाट दीक्षित मानिसले नीति अनुकूल देशको शासन सञ्चालन गर्ने हो भने देशमा सदाचार वृद्धि हुनेमा सन्देह रहँदैन । हामीले अहिले बोल्ने राष्ट्रभाषा तथा सरकारी कामकाजमा प्रचलित नेपाली भाषा पनि संस्कृतबाट विकसित भएको मानिन्छ । संस्कृत–प्राकृत हुँदै नेपाली भाषाको विकास भएको छ ।
नेपालीका धेरै शब्द संस्कृत भाषाबाट तत्सम अर्थात् जस्ताको तस्तै र तद्भव अर्थात् रूप परिवर्तन हँुदै लिइएका छन् । हाम्रा धार्मिक सांस्कृतिक कार्यमा अहिले पनि संस्कृत भाषाका श्लोक उच्चारण गरिन्छ । दुवै भाषाको लिपि देवनागरी हो । हिन्दु, बौद्ध र जैन धर्ममा यसको गहिरो प्रभाव छ । दक्षिण एसियाली देशको धार्मिक, सांस्कृतिक र दार्शनिक परम्पराको आरम्भिक स्रोत संस्कृत भाषा हो । यो भाषा इतिहासमा गर्व गर्ने विषय हो । इतिहासमा गर्व गरेर मात्र समयसापेक्ष गतिमा अगाडि बढ्न सकिँदैन । त्यसैमा गर्व गरेर मात्र पुग्ने भए अहिले हामी अङ्ग्रेजी भाषाको पछि दगुर्ने बाध्यतामा पर्नु पर्ने थिएन ।
आधुनिक विज्ञान, दर्शनको ज्ञान लिन तथा विकास निर्माणका योजना निर्माण गर्न विदेशी भाषाको ज्ञान हुनुको विकल्प हामीसँग छैन । कतिपय देशले आफ्नै भाषामार्फत ज्ञान लिन सक्ने सामथ्र्य बनाइसकेका छन् । युरोपका धेरै देश तथा एसियाका जापान, चीनलगायतले आफ्नै भाषालाई समृद्ध बनाई आफ्ना नागरिकलाई आफ्नै भाषामा युग अनुकूलको शिक्षा लिन सक्ने बनाएका छन् । हामी वा हाम्रा पूर्वज संस्कृत भाषाको इतिहासको गौरवमा आत्ममुग्ध मात्र नबनी आधुनिक तथा भौतिक विकासतर्फ ध्यान दिई विकास गरेको भए हामीलाई आज हाम्रो भाषा यति समृद्ध छ भनी कार्यक्रम आयोजना गर्नु नै पर्ने थिएन । व्यवहारले नै समृद्धता दर्साउने थियो ।
भाषा समृद्ध हुन त्यो देश पनि समृद्ध हुनु पर्छ । कक्षा १२ पछि अस्ट्रेलिया, अमेरिका जाने चाँजोपाँजो मिलाउने अवस्था रहँदासम्म नेपाली र संस्कृत भाषा समृद्ध हुन सक्दैन । जापान, चीन, फ्रान्स, जर्मनी, रुस आदि देशलाई विदेशी भाषा पढ्नुपर्ने बाध्यता नहुनुको कारण ती देशले आर्थिक विकास गर्नु र आफ्ना नागरिकलाई आफ्नै देशमा बस्न सक्ने वातावरण बनाई विदेश जाने बाध्यता सिर्जना हुन नदिनु हो । यी देशका नागरिकलाई अध्ययन, अनुसन्धान गर्न आफ्नै देशमा आफ्नै भाषामा लेखिएका पठन सामग्री तथा आवश्यक साधन उपलब्ध छन् । यी देशका जनताले आफ्नो भाषाको समृद्धिको स्वयम् अनुभव गरेका छन् । उनीहरूलाई आफ्नो भाषाको समृद्धताको बखान गर्न कार्यक्रम आयोजना गर्नु पर्दैन । अरूले गर्न सकेको काम हामीले गर्न नसक्ने हुँदैन ।
हाम्रो देशका नीतिनिर्माता, राजनीतिक तथा प्रशासनिक नेतृत्वका साथै शिक्षा प्रतिष्ठानलगायत सबैले प्रयत्न गर्ने हो भने असम्भव केही छैन । आवश्यकता छ, दृढ प्रतिबद्धता, सदाचारिता र राष्ट्रभक्तिका साथै सबैलाई सँगै लिएर हिँड्न/हिँडाउन सक्ने उदार चरित्रको ।