• २ जेठ २०८३, शनिबार

जाजरकोट–डोल्पा सडक : चौध नयाँ पुल बन्दै

blog

भेरी कोरिडोर अन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५, मुलातरामा पुल बनाइने स्थल ।

कुलबहादुर शाही

शिवालय (जाजरकोट), जेठ २ गते । भेरी कोरिडोर अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्डमा नयाँ १४ वटा पक्की पुल निर्माणका लागि सरकारले एक अर्ब २७ करोड २० लाख रुपियाँ बराबरको सहमति दिएको छ । 

अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले उक्त सडक योजना अन्तर्गत बाँकी पुल निर्माण कार्य अघि बढाउन सहमति प्रदान गरेको भेरी कोरिडोर कार्यालयका प्रमुख नरेशप्रसाद केशरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पासागाढदेखि डोल्पाको दुनैसम्म पर्ने २४ वटा पुलमध्ये १४ वटा पुल निर्माण हुन बाँकी रहेका छन् । हाल निर्माण सुरु भएका १० पुलमध्ये तीन वटा पुल निर्माणको जिम्मा पुल सेक्टर सुर्खेतले लिएको छ भने अन्य सात वटा पुल निर्माणको काम कोरिडोर कार्यालय आफैँले गरिरहेको छ । कोरिडोर कार्यालयका अनुसार निर्माणाधीन पुलमध्ये तिब्ले र ठहरे पुल अन्तिम चरणमा पुगेका छन् भने बाँकी पुलको काम प्रारम्भिक चरणमा रहेको छ । 

पुल सेक्टर सुर्खेतले हेरिरहेका पुलमध्ये जाजरकोटको तल्लुबगरस्थित भेरी नदीमा पुल निर्माण भइरहेको छ । तर डोल्पाको त्रिपुराकोटस्थित छलगाड खोलामा दुई वटा पिल्लर निर्माणपछि काम रोकिएको तथा खदाङ क्षेत्रमा निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।

सरकारबाट सहमति प्राप्त भएसँगै अब योजना कार्यान्वयन र खरिद प्रक्रिया अगाडि बढाइने कोरिडोर कार्यालयले जनाएको छ । अर्थ मन्त्रालयले भने सहमति प्राप्त आर्थिक वर्षभित्र खरिद प्रक्रिया अघि नबढाए स्रोत सहमति निष्क्रिय हुने चेतावनी दिएको छ । मन्त्रालयले समयमै प्रक्रिया सुरु गरी निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । जाजरकोटदेखि डोल्पासम्म जोड्ने भेरी–कोरिडोर सडकलाई कर्णाली प्रदेशकै रणनीतिक महìवको परियोजनाका रूपमा हेरिएको छ । डोल्पा २०७५ सालमै राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि तल्लुबगरदेखि दुनैसम्मका विभिन्न खोल्सामा पुल नहुँदा वर्षायाममा यातायात सञ्चालन प्रभावित हुँदै आएको छ ।

यस्तै कोरिडोर अन्तर्गत दुनै–मरिम–तिन्जे–धो सडकखण्डको निर्माण कार्य बर्सौंदेखि सुरु हुन नसक्दा माथिल्लो डोल्पाका स्थानीयवासी थप समस्यामा परेका छन् ।