बाँके समाचारदाता
बाँके, जेठ २ गते । नेपालगन्ज–गुलरिया सडक विस्तारका लागि स्थानीय बासिन्दाले स्वस्फूर्त रूपमा घरलगायतका संरचना हटाउन थालेका छन् । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले सडक विस्तारका लागि सडकका दायाँबायाँ १५ मिटर क्षेत्रभित्र परेका संरचना हटाउन १५ दिने सूचना जारी गरेपछि हाल नेपालगन्जको धम्बोझीदेखि नन्दनी मिलसम्मको क्षेत्रका बासिन्दाले सडकको मापदण्डभित्र पर्ने संरचना स्वस्फूर्त रूपमा हटाइरहेका छन् । सडक मापदण्डभित्र १६९ घर तथा अन्य संरचना रहेकामा स्थानीय बासिन्दाले आफ्नो खर्चमा संरचना भत्काइरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सडक विस्तारका लागि हुलाकी सडक र स्थानीय बासिन्दाबिच समन्वयको काम वडा र उपमहानगरपालिकाबाट भएको भन्दै सडक विस्तारका लागि सहयोगी भूमिका निर्वाह गरिएको जानकारी दिनुभयो ।
नेपालगन्जको धम्बोझीदेखि बर्दियाको गुलरियासम्म सडक विस्तारको योजना भए पनि घना बस्ती भएका कारण धम्बोझीभन्दा करिब दुई किलोमिटर पश्चिम नन्दनी मिलबाट सडक निर्माण सुरु गरिएको थियो ।
प्रमुख डिभिजनल इन्जिनियर लीलाबहादुर भण्डारीले नन्दनी मिलदेखि गुलरियासम्मको सडक निर्माणको काम पूरा भएपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले बाँकी खण्डको विस्तारका लागि प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
मापदण्डभित्रका संरचना हटाउनासाथ सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने कार्यालयको तयारी छ । ३२ किलोमिटर लम्बाइको नेपालगन्ज–गुलरिया सडक करिब तीन अर्ब रुपियाँमा शर्मा एन्ड शर्मा कम्पनीले निर्माण गरेको हो । यो सडक घना बस्ती क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेनमा निर्माण गरिएको छ ।