विजयकुमार साह
ढल्केबर, जेठ २ गते । छिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा १५ शय्याको सुविधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ । नगरवासीलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण अघि बढाइएको हो ।
महेन्द्रनगरस्थित प्राथमिक उपचार केन्द्र परिसरमा निर्माण हुने अस्पताल भवनको शिलान्यास नगर प्रमुख सुखदेव यादव र उपप्रमुख रचना श्रेष्ठ माथेमाले संयुक्त रूपमा गर्नुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले नगरभित्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न अस्पताल निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँका अनुसार अस्पताल भवन निर्माणका लागि कुल १८ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ भने टेन्डर प्रक्रियामार्फत १२ करोड १० लाख २१ हजार रुपियाँमा निर्माण ठेक्का लागेको हो ।
नगर प्रमुख यादवका अनुसार सिरहास्थित बलाजी ड्रीमवे जन आदर्श जेभी निर्माण कम्पनीले ठेक्का पाएको छ । २०८२ चैत १८ गते ठेक्का सम्झौता भएको र २०८४ चैत १८ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।
अस्पताल निर्माणपछि नगरवासी तथा आसपासका क्षेत्रका नागरिकले सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिएको छ । अस्पतालमा आधारभूत स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक सेवा तथा विभिन्न रोगको उपचार सेवा विस्तार गर्ने योजना रहेको जनाइएको छ ।
उपप्रमुख माथेमाले नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै अस्पताल निर्माणले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । शिलान्यास कार्यक्रममा वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।