शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गर्भबाट घरी घरी लात हान्दा
खुसी खुसी सहने आमा तिमी
सन्तानको दिसापिसाब
खानुपर्ने आमा तिमी ।
प्राण दिने सास दिने
जन्म दिई धर्तीमा ल्याउने
आफ्नो देहको रगतलाई
दुधको धारा बनाई
अमृत पिलाउने तिमी ।
सन्तानको शरीरलाई
बलियो र चिल्लो बनाउन
अङ्ग अङ्गमा
धसी धसी तेल लगाउने तिमी
हात समाई समाई हिँड्न सिकाउने
संसार देखाउने आमा तिमी ।
ताते ताते भनी बोल्न सिकाउने
विनम्र भाषा बोल्दै
कहिले गाली गरेर
कहिले माया गरेर
हुर्कायौ बढाउने आमा तिमी ।
कहिले कुटी कुटी
कहिले ललाइफकाई
विद्यालय पठाउने
सही गलत छुट्याउन
ज्ञान दिने आमा तिमी
नैतिकताको पाठ पढाउने
असल मानिस बनाउने
जिम्मेवार आमा तिमी ।
त्यसैले
पूजनीय छौ आमा तिमी
त्यसैले त माथिल्लो स्थानमा छौ आमा तिमी
कोटी कोटी नमन छ आमा तिमीलाई ।