खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), जेठ २ गते । वैशाख तेस्रो साता सदरमुकाम खलङ्गाबाट कुन्चा हिँडेको सौका समुदाय एक सातापछि तिङ्कर पुगेको छ । आफ्नै भूमि (नेपाल) बाट दार्चुलाको अति दुर्गम व्यास गाउँपालिका–१ को तिङ्कर र छाङरुगाउँसम्म पुग्न खासै बाटो नभएपछि कुन्चाका लागि भारतको बाटो हुँदै तिङ्कर पुगेको हो । सदरमुकाम खलङ्गाबाट २८ कोस टाढा उत्तरतर्फ रहेको तिङ्कर र छाङरुका मानिस कुन्चा सरेका हुन् ।
दार्चुलामा मात्रै बसोबास रहेको सौका समुदायमा बसाइँसराइ गर्नुलाई कुन्चा सर्नु भनिन्छ । सौका समुदायका मानिस हिउँदको छ महिना गाउँमा र गर्मीको छ महिना सदरमुकाम खलङ्गामा बसाइँसराइ सर्ने गर्छन् ।
गाउँमा बाक्लो हिमपात भएपछि तिङ्कर र छाङरुमा बस्दै आएका सौका समुदायका मानिस गत मङ्सिरको पहिलो साता सदरमुकाम खलङ्गा बसाइँ सरेका थिए ।
नेपालबाट बाटो नभएका कारण उनीहरू भारतीय प्रशासनको अनुमति लिएर तिङ्कर हिँडेको स्थानीय दानसिंह तिङ्करी विभिन्न समस्या झेल्दै सात दिनपछि गाउँमा पुगेको बताउनुहुन्छ ।
उहाँ काठमाडौँमा कालापानीको कुरा गर्दा सीमाका नागरिकलाई दुःख हुने गरेको बताउनुभयो । सरकारले सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “छाङरु, तिङ्कर जान भारतीय बाटो प्रयोग गर्नु पर्छ, काठमाडौँमा कालापानीका कुरा उठाउँदा सीमामा जनताले अनावश्यक दुःख भोग्नुपर्ने हुन्छ । त्यसैले सरकारले कि कूटनीतिक माध्यममार्फत सीमा समस्या सामाधान गर्नु पर्छ । कि त नेपालबाटै हिँड्न मिल्ने गरेर सडक निर्माण गरिदिनु पर्छ ।”
सीमामा रहेका भारतीय सुरक्षाकर्मीको डरका कारण स्थानीय सञ्चार माध्यममा खासै बोल्न नमान्ने गरेको पनि उहाँको भनाइ छ । धारचुलास्थित भारतीय प्रशासनले बाटो प्रयोग गर्न अनुमति दिएपछि छाङरु र तिङ्करगाउँमा बसोबास गर्दै आइरहेका सौका समुदायका नागरिक एक साता लामो पैदल यात्रा गरेर गाउँ पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत चैत ३० गते भौगोलिक विकटता र नेपालतर्फ पैदाल यात्रा गर्न सक्ने बाटोको अवस्था नरहेको भन्दै भारतीय बाटो प्रयोग गरेर छाङरु र तिङ्कर जाने नागरिकलाई अनुमति दिएर आवश्यक समन्वय र सहजीकरण गरिदिन धारचुलास्थित एसडिएमको कार्यालयलाई पत्र पठाएपछि स्थानीयले बाटो प्रयोग अनुमति पाएका हुन् ।
सीमाका पहरेदारका रूपमा बसोबास गर्दै आएका नागरिकलाई आफ्नै भूमिबाट गाउँसम्म जाने वातावरण बनाउन दार्चुला–तिङ्कर सडक निर्माण युद्धस्तरमा गर्नुपर्ने व्यासका स्थानीय दीपक खातीको भनाइ छ । साथै उहाँले पनि सीमा समस्या सामाधानका लागि सरकारले भारतसँग कूटनीतिक माध्यममार्फत वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । व्यास–१ को छाङरुगाउँमा १२५ र तिङ्करगाउँमा ७० परिवार सौका समुदायको बसोबास रहेको व्यासी सौका समाज दार्चुलाले जनाएको छ ।
तिङ्कर नाकामा सशस्त्र खटियो
दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने चीनसँगको सीमानाका तिङ्कर छ्यालेकमा सशस्त्र प्रहरी बल खटिएको छ । बाक्लो हिउँ जमेका कारण गत कात्तिकको पहिलो साता छाङरु झरेको सशस्त्र प्रहरीको टोली वैशाख २८ देखि तिङ्करस्थित छ्यालेकको बोर्डर आउट पोस्ट (बिओपी) मा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेड क्वाटर छाङरुका सशस्त्र प्रहरी नायब उपरीक्षक फणीन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । सुरक्षाविहीन भएको सात महिनापछि चीनसँगको सीमानाका तिङ्कर छ्यालेकमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको टोली खटिएको हो ।
कात्तिकको पहिलो साता सशस्त्र प्रहरी छाङरु झरे पनि बेला बेला त्यस क्षेत्रतर्फ गस्ती जाने गरेको उहाँले बताउनुभयो । सुरक्षाकर्मी बाह्रै महिना बस्न सक्ने किसिमको भौतिक पूर्वाधार अभावमा हिउँदमा तिङ्कर नाका सुरक्षाकर्मीविहीन हुने गरेको छ ।
राज्यले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न तथा बाह्य राष्ट्रको हस्तक्षेप रोक्न भौतिक पूर्वाधारको उचित व्यवस्थापन गरेर बाहै्र महिना सुरक्षाकर्मी परिचालन गर्न यहाँका स्थानीयले माग गरेका छन् । छाङरुबाट तिङ्करगाउँको दुरी १२ किलोमिटर रहेको छ ।