• २३ फागुन २०८२, शनिबार

‘हामी तीन भाइ’ को टिजर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २३ गते । चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ । तीन भाइ एकदमै मिल्छन् । उनीहरू खेतबारी गोरुले झैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन् । सानैमा बुवाआमा बिते पनि उनीहरूको मायाममता भनेको दाजु नै हो ।

मधुसुदन भट्टराई निर्देशित चलचित्रमा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुषमा निरौला, यादव देवकोटा (सरापे) लगायतको अभिनय रहेको छ । प्रसिद्धि सिने आटर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुनुहुन्छ । चलचित्र आगामी चैत १३ देखि प्रदर्शन हुने छ ।