• २३ फागुन २०८२, शनिबार

डडेल्धुरामा रास्वपाका डा. जोशी विजयी

blog

डडेल्धुराबाट विजयी हुनु भएका रास्वपा उम्मेदवार डा. तारा जोशी । तस्बिरः पुष्कर भण्डारी

पुस्कर भण्डारी

डडेल्धुरा, फागुन २३ गते । डडेल्धुरा जिल्लाले ३४ वर्षपछि संसदमा नयाँ अनुहार पाएको छ । २०४८ साल यता भएका सात वटै निर्वाचनमा नेपाली कांग्रेसबाट पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भइ निर्वाचित हुँदै आउनुभएको थियो । 

डडेल्धुरा जिल्लालाई कांग्रेसको किल्ला मानिन्थ्यो । देउवा उम्मेदवार नबन्दा यस पटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी १९ हजार १३१ मत ल्याउदै विजयी हुुनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार डडेल्धुरामा जम्मा ४५ हजार ९०९ मत खसेका थिए । डा. जोशीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्तु गर्नुभयो । यसैगरी नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले दुई हजार ३१६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिह मालले ६ हजार ४३८ मत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

डा. जोशी २०७० सालको दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भइ देउवासँग फराकिलो मतअन्तरले पराजित हुनुभएको थियो । देउवाले २३ हजार ९२० मत प्राप्त गर्दा जोशीले सात हजार १९० मत मात्र प्राप्त गर्नुभएको थियो । 

जोशी १६ हजार ७३० मतअन्तरले पराजित हुनुभएको थियो । देउवा र जोशीको गृह पालिका एउटै गन्यापधुरा हो । २०७४ सालमा भएको सुदूरपश्चिम प्रदेशसभा सदस्यमा पनि जोशी नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति कर्ण मल्लसँग झिनो मतअन्तरले पराजित हुनु भएको थियो । 

एउटै गाउँका उहाँहरु सुदूरपश्चिम क्षेत्र (ख) बाट उम्मेदवार बन्नु भएको थियो । मल्लले १३ हजार ४१३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५७ मत पाएर ३५६ मतले पराजित हुनु भएको थियो । 

त्यसपछि जोशी नेकपा एमाले पार्टी फुट्दा माधबकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीमा पुग्नु भएको थियो । २०७९ सालमा भएको सुदूरपश्चिम प्रदेश सभा सदस्यको दोस्रो निर्वाचनमा समाजवादी पार्टीबाट उम्मेदवारको टिकट नपाएपछि उहाँ स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । 

कांग्रेसमा विद्रोह गरी बिपी कांग्रेस बनेका मल्लकै सहयोगमा जोशी प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँले कांग्रेसका उम्मेदवार गोबिन्दराज बोहरालाई २०० मत अन्तरले पराजित गर्नुभएको थियो । जोशीले ११ हजार १७० मत प्राप्त गर्दा बोहराले १० हजार ९७० मत प्राप्त गर्नु भएको तथ्यांक जिल्ला निर्वाचन कार्यालयको छ । 

अहिले चुनाव घोषण भएपछि जोशी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नु भएको थियो । पछि उज्यालो नेपाल र रास्वपा पार्टी एकिकरण हुदा उहाँ पनि रास्वपामा समाहित हुनुभयो । उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ रास्वपाबाट केही घण्टामै फर्किदा जोशी भने रास्वपामै बस्नुभएको थियो ।