• २९ वैशाख २०८१, शनिबार

‘थप बिजुली बेच्न सके व्यापार घाटा कम’

blog

सचिन पोख्रेल/निशा राई

सुनसरी, भदौ १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दस वर्षमा नेपाल विकसित मुलुक बन्न सक्ने बताउनुभएको छ। शनिबार धरानमा आयोजित नेपाल प्रहरी विद्यालयको नवनिर्मित विद्यालय र छात्रावास भवनको उद्घाटन समारोहमा मन्त्री कार्कीले सो धारणा व्यक्त गर्नुभएको हो।

भारत सरकारको सहयोगमा निर्माण गरिएको भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मित्रराष्ट्रबाट निरन्तर सहयोग प्राप्त भइरहेको अवस्थामा आगामी दस वर्षमा नेपाल दक्षिण एसियामा एउटा विकसित राष्ट्र बन्नेमा मैले विश्वास लिएको छु।” जलस्रोतमा धनी नेपालले भारतलाई १५ हजार मेगावाट विद्युत् बिक्री गर्न सके त्यसबाट मुलुकले ५०/६० अर्ब रुपियाँ प्राप्त गर्न सक्ने र भारतसँगको व्यापार घाटा कम गर्न सकिने बताउनुभयो।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका पूर्वाधार विकासमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले भारतले नेपालका विभिन्न स्थानमा ४४७ वटा विकासका परियोजना सम्पन्न गरिसकेको जानकारी दिनुभयो।

राजदूत श्रीवास्तवले नेपाल–भारत सम्बन्ध, व्यापार, सीमालगायतका क्षेत्रमा रहेका समस्याबारे भारतको केन्द्र सरकारसँग कुरा राख्ने पनि बताउनुभयो। नेपाल–भारतको सम्बन्ध सदियौँदेखि रहेकोले आर्थिक हिसाबले अझ राम्रो गर्दै जाने र त्यसका लागि दुवै देशले सकारात्मक भूमिका खेल्नुपर्ने भारतीय राजदूत श्रीवास्तवको भनाइ थियो। 

दुईवटा भवन निर्माणका लागि भारत सरकारबाट पाँच करोड रुपियाँ उपलब्ध भएको जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले बताउनुभयो। 

यसैबीच सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा मन्त्री कार्की र भारतका राजदूत श्रीवास्तवलाई सम्मान गरिएको छ। कार्यक्रममा बोल्दै मन्त्री कार्कीले विकास सबै जातजातिका लागि भएकाले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभयो। 

नेपाल र भारतबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजान वीरगञ्जमा पुल निर्माण गरिने पनि उहाँले बताउनुभयो। त्यसका लागि भारतको केन्द्र सरकार र बिहार सरकारसँग पहल भइरहेको उहाँले  बताउनुभयो।  सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका अध्यक्ष विजय श्रेष्ठले स्थानीय तहमा देखिएका व्यापारिक समस्याबारे उल्लेख गर्नुभयो।