पुष्कर भण्डारी
डडेल्धुरा, फागुन २३ गते । नेपाली कांग्रेसको किल्ला मानिने डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको छ । २०४८ सालपछि पहिलो पटक नयाँ उम्मेदवार बनाएको कांग्रेस रास्वपाका उम्मेदवार भन्दै निकैपछि पर्नुभएको छ ।
कांग्रेस उम्मेदवार नैनसिंह महरलाई रास्वपाका उम्मेदवार डा. तारा जोशीले चार हजार मत अन्तरले पछि पार्नुभएको छ । एक मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको डडेल्धुरामा यस अघि २०४८ साल यता भएका निर्वाचनमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्दै निर्वाचित हुँदै आउनुभएको थियो । यस पटक भने उहाँले उम्मेदवार मनोनयन दर्ताको अघिल्लो राति मात्रै उम्मेदवार नबन्ने जानकारी गराउनुभएको थियो ।
रास्वपाका उम्मेदवार जोशीको अग्रता कायमै रहदा कांग्रेसको किल्ला भत्किने पक्का भएको छ । देउवा २०४८ यताका सात वटै चुनावमा निर्वाचित हुँदा डडेल्धुरालाई कांग्रेसको किल्लाको रूपमा लिइन्थ्यो । रास्वपा उम्मेदवार जोशी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थिया । प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै उहाँ प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएको हो ।
सात वटा पालिका रहेको डडेल्धुरामा हालसम्मको जानकारी अनुसार रास्वपाका उम्मेदवार जोशीले ११ हजार ८०१ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार महरले सात हजार ७२६ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार हालसम्म ३० हजार ५५६ मत गणना गरिएको छ । अहिलेसम्म एक हजार ७५२ मत बदर भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको सबैभन्दा बढी मतदाता सङ्ख्या रहेको परशुराम नगरपालिकाका मतदान केन्द्रका मतपेटिकाबाट मतगणना सुरु गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म परशुराम नगरपालिकासँगै भित्रि मधेशकै आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिका १, २ र ५ को मतगणना सकिएको छ ।
अब अजयमेरु गाउँपालिका ३, ४ र ६ सँगै जिल्ला सदरमुकामको अमरगढी नगरपालिका र रास्वपा उम्मेदवारको गृह पालिका गन्यापधुरा गाउँपालिकाको मत गणना हुन बाँकी छ ।
२१ गते भएको निर्वाचनमा डडेल्धुरामा जम्मा ४५ हजार ९०९ मत खसेका थिए । कुल मतदाता सङ्ख्या ९३ हजार ४०३ रहेको डडेल्धुरामा महिला २५ हजार ३१३ र पुरुष २० हजार ५९६ मत गरी उक्त सङ्ख्यामा मत खसेका थिए ।