• १६ चैत २०८२, सोमबार

डोटीमा कांग्रेसका खड्का ७८७ मतान्तरले विजयी

blog

नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का

केशवचन्द्र महरा
दिपायल (डोटी), फागुन २३ गते ।
डोटीमा नेपाली  कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले १४ हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपक धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकारी एवम् सूचना अधिकारी चेतबहादुर बोहराका अनुसार रास्वपाका नरेन्द्र बहादुर खड्काले १३ हजार २७० मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार त्रिलोचन भट्ट पाँच हजार ४१३ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित रहनुभयो । भट्ट सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री हुनुहुन्छ भने विजयी उम्मेदवार खड्का उहाँकै पालामा निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । खड्का समानुपातिकबाट संविधान सभा सदस्य समेत रहनुभएको थियो । 

राष्ट्रिय जनमोर्चाका उम्मेदवार पार्टीका केन्द्रीय महासचिव मणिराज भट्ट (मनोज) ले ४१७ मत मात्रै प्राप्त गर्नुभयो । त्यस्तै राप्रपाका उम्मेदवार खडक अग्रवालले ५९४ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार प्रकाश कठायतले ३९२ मत प्राप्त गर्नु भयो ।

नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खगेन्द्रबहादुर शाहीले ३२ मत प्राप्त गर्दा मितेरी पार्टी नेपालका उम्मेदवार सरस्वतीकुमारी पाल (मल्ल) ले ४३ मत मात्रै प्राप्त गर्नुभयो ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा नौ जनाको उम्मेदवारी परेको थियो । एक लाख २८ हजार ३९९ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ४८५ जना ले मतदान गर्नुभएको थियो । जुन कुल मतदाता सङ्ख्याको ४०.८८ प्रतिशत मात्रै हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा २ हजार ९२० मत बदर भएका छन् ।