शिवशङ्कर मिश्रा
बारा, फागुन २३ गते । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी विजयी हुनुभएको छ। उहाँले ४१ हजार २०० मत प्राप्त गर्दै स्पष्ट अग्रतासहित विजय हासिल गर्नुभएको हो।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले ११ हजार ६३९ मत प्राप्त गर्नुभएको छ। अन्सारी र श्रेष्ठबिच २९ हजार ५६१ मतान्तर रहेको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो।
यसैगरी, जनता समाजवादी पार्टी (नेपाल) का उम्मेदवार सञ्जु साह कानुले सात हजार ५९३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नुभएको छ।
निर्वाचनअघि अन्सारीले नेकपा पार्टी परित्याग गरी रास्वपामा प्रवेश गर्नुभएको थियो। पार्टी परिवर्तनपछि पहिलो पटक निर्वाचनमा सहभागी भएका उहाँले ठुलो मतान्तरसहित विजय हासिल गर्दै आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउनुभएको छ।
यसैबिच, बाराका अन्य निर्वाचन क्षेत्रमा पनि रास्वपाले राम्रो प्रदर्शन गरेको देखिएको छ। बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् भने क्षेत्र नम्बर–१ र २ मा पनि रास्वपाका उम्मेदवारले अग्रता लिनुभएको छ।
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको तथा समग्र मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले बताउनुभएको छ। यस परिणामसँगै बारामा रास्वपाको राजनीतिक प्रभाव थप मजबुत भएको विश्लेषण गरिएको छ।