सेती नदी चैनपुरको बजार
सम्झी दिने होलान नि हजार
फूलबारीमा चलेको बतास
मेरो माया खोजीदेऊ कता छ ?
लोकगायक नन्दकृष्ण जोशीका यी गीत धेरै वर्षअघि सुनेको हो । त्यो गीतमा उल्लिखित चैनपुर बजार बझाङ जिल्लाको सदरमुकाम हो । क्याम्पस पढ्दाका साथीसँग चैनपुर र सेती नदीका कुरा गथ्र्यौं । यो गीतले झनै लालायित पारेको थियो चैनपुर पुग्न, सेती नदी हेर्न ।
चैनपुर बजार सेती नदीको किनारमा अवस्थित बाइसे/चौबिसे राजामध्ये सिंह ठकुरीको राजधानी रहेको अति नै सुन्दर ठाउँ हो । चैनपुर जाने इच्छा धेरै अघिदेखिको थियो । मेसो मिलेको थिएन । बझाङका बारेमा सुनेको, जानेको, बुझेको थिएँ तर पुग्न पाएको थिइनँ । डोटेली देउडा गीत सङ्कलन गर्दा मेरो सङ्कलनको लोकगीतमध्ये सेतीसम्बन्धी गीतिगेडा यस्तो थियो–
हाइ पदमका फूल
बझाङी राजाका भैसा
सेतीका छालभरि...
तर सेतीको छाल भेटेको थिइनँ । सेतीको छाल छुने र चैनपुर बजार हेर्ने धोको थियो । एकाएक योजना बन्यो चैनपुर पुग्ने इच्छा पूरा हुने भयो ।
एकाएक जाने योजना बन्यो । जाने भनेपछि त जाने म पनि जान तयार भएँ । पशुसेवा कार्यालय डडेलधुराका प्रमुख हुनुहुन्थ्यो– चन्द्र ढकाल । त्यही कार्यालयमा मेरा प्रिय साथी श्यामराज ओझा पनि कार्यरत हुनुहुन्थ्यो । उहाँहरू बझाङ जाने कार्यक्रम रहेछ । डडेलधुराको तुफानडाँडामा भेट हुँदा दुवै जनाले एकै पटक जाने प्रस्ताव सुनेपछि मलाई के खोज्छस् भने जस्तो भयो । तीन जनाको आपसी संवादसँगै हाम्रो बझाङ यात्रा पक्का भयो ।
बझाङ पुख्र्यौली घर भएका धेरै साथी, इष्टमित्र छन् । डडेलधुरा परशुराम नगरपालिकामा बसाइँसराइ गरी आएका अधिकतम बझाङका मानिस छन् । यता हामी छिमेकी छौँ तर बझाङका बारेमा सुनेको छु, जान्न पाएको छैन । उहाँहरूबाट बझाङको संस्कृति, सभ्यता, भाषा, रहनसहनका बारे सुने पनि प्रत्यक्ष त्यहीँको भूगोल टेकेर लडमडे, मार्सी टाकमारो चामलको भात खाने, एक अञ्जुली सेतीको पानी उभाएर पिउने अनि बझाङका बारेमा जान्ने, पुग्ने धोको थियो, पूरा हुने भयो । एकाएक बनेको योजनाले बझाङको यात्रा निश्चित भयो ।
बिहानै घनघस्याको लेकको बाटो हुँदै बझाङका लागि हाम्रो यात्रा सुरु भयो । अनारीखोली, खोडपे, दुदिलाखान, बजपानी, मुस्याचोर, ढोल्यामोड, श्रीभावर हुँदै डडेलधुरा, बैतडी छिचोल्दै बझाङको सिमाना टेक्यौँ । बझाङ पुग्दा बित्थड, दुधढोल्ला, देउलेख, सुनकुडा, धरान बजार, बागथला, धारीछडा, देउरा पुगियो । देउरामा कालागाड, कालङ्गा सेतीसँग मिलेको छ । त्यहीँबाट सेतीको किनारैकिनार भएर चैनपुर पुग्दछ । प्रकृतिको अति नै सुन्दर बझाङ अपिसैपालको आँगनमा छ । कैयौँ नदनदीले सिञ्चिएको अनुपम खप्तडको धेरै जसो भूभाग बझाङमा पर्दछ । विकट पहाड देखिए पनि सुन्दर, मनोरम छ । हरेक बस्तीले संस्कृति, सभ्यता बताइरहेको हुन्छ । हरेक गरा, कान्ला, जिउलाले समृद्धि झल्काउने गर्दछ । रहनसहन बोली भाषाले परिचय दिइरहेको हुन्छ । गाडीमा विभिन्न गफ गर्दै बझाङसँग साक्षात्कार गरिरहेका थियौँ । हाम्रा कुरा गति गाडीको गतिभन्दा बढी भएकाले बाटो त्यति लामो मानिएन ।
मैले फेरि सम्झिएँ, नन्दकृष्णका लोकभाका–
पश्चिममा दार्चुला बैतडी, पूर्वमा बाजुरा
खप्तडको जात्रामा साथी, हाम्रो भेट होला
उत्तरमा साइपाल हिमाल, दक्षिण प¥यो डोटी
बिचमा मेरो बझाङ जिल्ला, पुगौँ एकचोटि
सुदूरपश्चिम प्रदेशको सेती अञ्चलमा पर्ने मनोरम जिल्ला बझाङको पूर्वमा बाजुरा र हुम्ला जिल्ला, पश्चिममा बैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत, दक्षिणमा बैतडी र डोटी जिल्ला अवस्थित छन् । अधिकांश भाग पहाडी रहेको छ । नदी किनारमा मैदानी फाँट भए पनि पहाडी जिल्ला हो– बझाङ । जिल्लाको सदरमुकाम बाहुलीगाड र सेती नदीको दोभानमा अवस्थित छ जुन अति रमणीय तथा हिमाली हावापानीले भरिपूर्ण रहेको छ । झन्डै छ घण्टाको यात्रापछि हामी पनि सदरमुकाम टेक्न पुग्यौँ । देउराबाट अगाडि बढ्दा सेती नदी देखियो । नदीको छेउ रहेको बस्तीको मध्यभागबाट सडक गएको थियो जसले ठुला फाँट छर्लङ्ग देखिन्थ्यो । सेती नदी बिचमा बगेको वारिपारि ठुला फाँट रहेका जसलाई जिउला भनिन्थ्यो । खेतको सिरानीमा कुलो रहने खेतलाई निकै महìवको मानिन्छ । डोटी डडेलधुरातिर सेरो भन्ने गरिन्छ । राइल्डभडारको सेरो, दोभैयाको सेरो, तलकोटको सेरो, सकायलको सेरो निकै चर्चित छन् । त्यस्तै बझाङमा गोलाई, सुवेडा, लालीबगर, मालुमेलाको जिउला निकै चर्चित रहेका छन् । गडकुलोको खेत भनिने जिउलामा बासमतीलगायत सुगन्धित मगमग बास्ना आउने हंसराज, लडमडे, टाकमारो जस्ता धान फल्छन् । त्यस्तै औषधीय गुण भएका खस्रे धान, जुँगेधान, थापाचिनी, गुररा, मार्सी दाडिमसालो, चुउडीधान, धान फल्छन् ।
एकआपसमा गफ गर्दै थियौँ । गफका विभिन्न प्रसङ्ग थिए । त्यसमा बझाङको संस्कृति, भाषा, रहनसहन तथा समृद्धिका कुरा पनि हुन्थे । विभिन्न ठाउँमा रोक्दै त्यहाँका बारेमा केही कुरा सोध्दै टिपोट गर्दै गरेका थियौँ । ससना बजार, सबै बजारको आआफ्नै महत्व पनि थियो । ओखलढुङ्गा भन्ने ठाउँमा महिला हाँस्दै रमाउँदै चुक कलोएर मज्जाको बनाएको हेर्दै जिब्रो रसाउने थियो । केही कुरा ग¥यौँ, हामीले पनि मागिहाल्याैँ । हरियो तिमुलाको पातमा चुक दिए । अति नै पिरो, गुड राखेर बनाएको चुक खायाैँ । मज्जाको चलन रहेछ चुक खाँदै गर्दा एकअर्कालाई ढाँट्नुपर्ने । ढाँटेर मजाक गर्ने । साथी ठगिए त्यसपछि हाँस्ने रहेछन् ।
देउलेख, सुनकुडा, अड्डाधार, खलपटा, धरान बजार, बागथला, धारीछडा, नयाँओडार भन्ने ठाउँमा पुगिन्थ्यो । नयाँओढार निकै ठुलो थियो । सयौँ मानिस एकैसाथ बस्न सक्ने ओढार थियो । घामपानी, हावाहुरीबाट समेत ओत लाग्न मिल्ने निकै ठुलो ओढार थियो । सङ्क्षेपमा बाटोमा देखिएका सुनिएका ठाउँका बारेमा कुरा गर्दै अगाडि बढिरह्यौँ । बाटोमै दुलढुल्ला भन्ने ठाउँमा भगवती देवीको मन्दिर छ । त्यहाँ द्याज पर्व विशेष रूपमा मानिन्छ । गौराष्टमीमा भित्र्याइएको गौरालाई अन्यत्र गौरा विसर्जन गरे पनि त्यहाँ राखिराख्ने पछि उत्सवसाथ गौरा पूजन, देउडा र अन्य सांस्कृतिक क्रियाकलापसहित द्याज पर्व मनाइने एक जना पाका मानिसले जानकारी दिनुभयो । गौरापर्वलाई विशेष र थप आकर्षक बनाइ मनाइने पर्व रहेछ द्याज । देउडा, चैत, धमारी, फाग, भैनी, चभाई जस्ता खेल खेलिन्छन् । देउडा दिनभर रातभर गरी चौबीसै घण्टा खेल्ने र जितहारको प्रतिस्पर्धा हुने गर्छ । वर्षभरि निकै पर्व, उत्सव मनाइन्छन्, त्यसमा द्याज निकै महत्वको छ ।
यातायात र सामग्री ओसारपसार पहाडी भूभाग भएकाले घोडा, खच्चरको प्रयोग गरिन्छ । डोकोमा भारी बोक्ने पनि धेरै देखिन्छन् । डोको, कोथलो, गोड्यामा भारी बोकिन्छ । घोडा सोखका लागि पनि प्रयोग गरिन्छ । खप्तडको घोडेपाटनमा घोडा दौड हुने गर्छ । उक्त प्रतियोगितामा कैयौँ पटक बझाङले जितेको पनि छ । नयाँ घोडाको बछेडालाई चाल सिकाउन र दाउनका लागि घोडेदाउनमा लगिन्छ ।
निकै पुरानो बस्ती हो– बझाङ । पौराणिक महत्व पनि रहेको छ । सकन्द पुराणको मानसखण्डमा पनि यहाँका तीर्थ देवीदेवताको उल्लेख छ । पहाड पर्वत, सुर्मा सरोवर, सेती नदीको पवित्रता र महत्वको उल्लेख छ । सेतीलाई सीता, कालङ्गालाई कलावती, सुर्मालाई सुष्मा जस्ता पौराणिक नाम पाइन्छन् । कैयौँ देवीदेवताको बास भएको पवित्र भूमि मानिन्छ । खेचर पर्वतका रूपमा खप्तडको निकै महत्व रहेको छ । बझाङको मध्यभाग भएर सेती नदी बगेकाले पनि सौन्दर्य र पवित्रता झनै बढेको छ । त्यही सेती नदीको किनारमा जिल्लाको सदरमुकाम चैनपुर रहेको छ । बाउलीगाड तरेर बजार पुग्नेबित्तिकै राजाको दरबार देखिन्छ । जिल्ला प्रशासन कार्यालय रहेको हात्तीसार दरबार सिंह राजाको दरबार थियो । विशाल डोटी राज्यको बिखण्डनपछि १५ औँ शताब्दीको पूर्वार्धमा बझाङ राज्य स्थापना भएको थियो । त्यही सिंह वंशका शासकमा राजा जयपृथ्वीबहादुर सिंह मानवतावादी समाजसेवी तथा पत्रकारका रूपमा राष्ट्रिय रूपमा स्थापित भए । जयपृथ्वीबहादुर सिंहको नामबाट सदरमुकामको नगरपालिकाको नामाकरण गरिएको छ । देउल, चैनपुर निकै ठुला जिउला थिए । थलाराका सिंहहरूको नियन्त्रणमा रहेको जिउलामा बस्तीको विकास भयो । सिंह ठकुरीको राज्य स्थापित भयो, दरबार बन्यो । थलारा पछि चैनपुर केन्द्र भयो । अति नै रमणीय चैनपुर सिंह राजाको राजधानी भयो । भोपुर दरबार पुरानो दरबार थियो । दरबारसँगै सहरको परिकल्पना अनुरूप वस्ती विकास भएको थियो । कालान्तरमा देउलमा एयरपोर्ट बन्यो । चैनपुर व्यवस्थित बजार बन्यो । हाल आएर चैनपुर, रिठापाटा, सुवेडा, हेमन्तवाडा, लुयाटा, कैलास तत्कालीन गाउँ विकास समिति मिलाएर जयपृथ्वीबहादुर नगरपालिका भएको हो । चैनपुरलाई जयपृथ्वी राजमार्गले छोएको र धेरै भित्री सडक कालोपत्र हुँदै छन् । सेती नदीको किनारैकिनार सेती लोकमार्ग बनिरहेको छ । चैनपुर ताक्लाकोट सडक निर्माणाधीन छ । उक्त सडक निर्माण हुन सके व्यापारिक र पर्यटकीय महìवको हुन जाने थियो । जिल्लास्थित अधिकांश कार्यालय चैनपुरमा नै छन् । यहाँ निकै प्रशस्ति कमाएको सत्यवती माध्यमिक विद्यालय र जयपृथ्वीबहादुर बहुमुखी क्याम्पसले झनै ओज, गरिमा बढाएको छ ।
दुर्गम देखिए पनि सम्पन्न थियो– बझाङ । गडकुलोको खेत जिउलामा निकै उत्पादन हुन्छ । धान, गहुँ, मकैसँगै कोदो, फापर, बाजुर, कागुनो, भटमास, गहत, मास निकै फल्ने गर्छ । गाँजा (भाङो) को उत्पादन निकै हुन्छ । रेसा निकालेर लुगा बनाइन्छ । भाङाको रेसाबाट बनेको लुगालाई गादो भनिन्छ । बजारको उत्पादन धेरै कम मात्रामा पाइन्थ्यो । त्योबेलाको मुख्य पहिरन नै गादो हुन्थ्यो । लुगा लगाउनुलाई पनि गादनी गादनु भन्ने गरिन्छ । भाङो सँगै अल्लोको रेसा पनि प्रयोग गरिएको हुन्थ्यो । अहिले पनि प्रचलन रहेको छ । भाङोको दानालाई चटनीमा प्रयोग गर्न बिक्री गर्ने र प्रयोग गर्ने गरिन्छ । त्यस्तै पातलाई गाँजा र पातलाई माडेर कालो अत्तर बनाएर व्यापार गर्ने गरिन्छ । गाँजासँगै अल्लोको पनि निकै उत्पादन हुन्छ । अल्लोबाट पनि डोरी, दाम्लो, बोरीसँगै लगाउने लुगा पनि बनाइँदो रहेछ । ताल्काकोट नाकाबाट तिब्बतसँग पनि व्यापारिक सम्बन्ध रहेको छ । तिब्बतसँग नुन, गाँजा, अल्लोको पनि व्यापार हुन्थ्यो । भेडा, च्याङ्ग्रा, घोडामा ऊन, नुन र सुनको व्यापार हुन्छ । लुगाफाटो फुस्रो, मैलो देखिए पनि सुन सिरानी राखेका हुन्छन् । लैनो भैँसी, हलगोरु, तामाको ठुल्ठुला भाँडा र सुन सम्पत्तिका रूपमा हरेकले सञ्चित गरि राखेका हुन्छन् ।
बझाङ बस्दा पारिपट्टिबाट धित मर्ने गरी चैनपुर बजार हे¥यौँ । त्यस्तै सेती नदी चैनपुरको बजार छेउ छेउ बगेको मनोरमको दृश्यावलोकन ग¥यौँ । सेतीका छालभरि बझाङी राजाका भैँसी नदेखिए पनि भैँसी भने बथानका बथान थिए । चैनपुर बस्दा चिनजान र साथीसँग भेटघाट ग¥यौँ । बजार क्षेत्रमा पैदल घुम्न निस्कियौँ । हात्तीसार दरबारभित्र पसेर विभिन्न कक्षको अवलोकन ग¥यौँ । सिंह राजा रहँदासम्मको दरबार थियो । हात्तीसार दरबारमा हाल जिल्ला प्रशासन राखिएको थियो । जिल्लाको प्रमुख सरकारी कार्यालय राखिए पनि संरक्षणको पर्खाइमा थियो । ऐतिहासिक महत्वको दरबार जीर्ण बन्दै गएको थियो । केहीबेर बजारतिर घुमफिर गरेर भोपुर दरबार हेर्न भनी गयौँ । हात्तीसारभन्दा पनि पुरानो दरबार निकै जीर्ण अवस्थामा थियो । केही समय सेनाको नियन्त्रणमा रहे पनि पछिल्लो समय धेरै भाग भत्केको थियो । केहीबेर घुमफिर ग¥यौँ । अहिलेको फोटोको जमानामा फोटो खिच्यौँ । साथीले टिकटक बनाए, रिल बनाएर पोस्ट गरे, फेसबुक लाइभ पनि गरे । फेरि बजारतिरै पस्यौँ, सानो भए पनि निकै मिलेको थियो बजार । सरकारी कार्यालय त्यही बजारको सेरोफेरोमा थिए । बजारमै रहेको सुर्मादेवीको मन्दिरमा फूलपाती चढायौँ, धूप बालेर केहीछिन टहलियौँ ।
