• १५ वैशाख २०८१, शनिबार

अत्यधिक मोटोपना, उच्च रक्तचाप, मधुमेह: मिर्गौला बिग्रनुका मुख्य कारक

blog

मिर्गौलाका बिरामीले ९० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने हुँदा सुरुवाती चरणमा नै डायलिसिस र प्रत्यारोपण गर्न बाध्य छन् बिरामी 

काठमाडौँ, चैत १ गते । पछिल्लो समय नेपालमा मिर्गौला  रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययनले  देखाएको छ । 

यीमध्ये तीन लाख मानिसमा मिर्गौलाकाे दीर्घरोग छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा हरेक वर्ष तीन हजार नयाँ मिर्गौलाका बिरामी थपिने जानकारी दिनुभयो । नेपालमा वर्षमा तीन सय बिरामीको प्रत्यारोपण हुने गरेको छ । जसमध्ये केन्द्रमा वार्षिक करिब दुई सय बिरामीको प्रत्यारोपण हुने गरेको डा. श्रेष्ठको भनाई छ । केन्द्रमा चार सय जनाको डायलिसिस हुने गरेको छ । 

मिर्गौलाका बिरामीले ९० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने हुँदा सुरुवाती चरणमा नै डायलासिस र प्रत्यारोपण गर्न बाध्य छन् बिरामी ।  डा‍.श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपण नै यसको उपयुक्त उपचार हो । मिर्गौला  प्रत्यारोपणको लागि सरकारले ५१ प्रकारका नातेदारले मिर्गौला दान गर्न सक्ने कानुनी व्यवस्था गरेको छ । त्यसका अलावा  ब्रेन डेथ भएका मानिसको अङ्ग पनि प्रत्यारोपण गर्न मिल्ने श्रेष्ठ बताउनुहुन्छ । तर दाताको अभावले गर्दा धेरै बिरामी डायलासिसमा बस्न बाध्य छन् । सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरेको छ । उहाँ भन्नुहुन्छ,“नयाँ बिरामीमध्ये देशभरमा तीन सयको मात्र प्रत्यारोपण हुन्छ । दुई वर्ष डाइलासिस गर्न पैसाले प्रत्यारोपण गर्न मिल्छ तर जनचेतनाको अभावले अङ्ग दान गर्नेको सङ्ख्या नहुँदा डायलासिसमा बस्न बाध्य छन् बिरामी ।” 

मिर्गौला फेल भनेको के हो ?

डा. श्रेष्ठका अनुसार हाम्रो शरीरमा सिमी आकारको मेरुदण्डको दायाँ बायाँ हुने अङ्ग हो जसलाई मिर्गौला भनिन्छ । यो अङ्गले महत्त्वपूर्ण काम गर्छ । मिर्गौलाले शरीरमा भएका विषाक्त पदार्थ र अनावश्यक पानीलाई शरीरबाट फाल्ने काम गर्छ । 

 मिर्गौलाले रगत उत्पादन गर्न काम गर्नुका साथै भिटामिन डी र क्याल्सियमलाई  सन्तुलन मिलाएर राख्ने काम मिर्गौलाले गर्छ । साधारण भाषामा मिर्गौलाले शरीरबाट नचाहिने तत्त्व फिल्टर गरेर फालेर शरीरलाई स्वस्थ राख्ने डा.श्रेष्ठ बताउनुहुन्छ ।  

मिर्गौलाले गर्नुपर्ने काम गर्न सकेन भने त्यसलाई मिर्गौला फेल भन्ने गरिन्छ । मिर्गौला फेल हुनुका कारण अत्यधिक मोटोपन, उच्च रक्तचाप र मधुमेह, खराब जीवनशैली रहेको डा. श्रेष्ठको भनाइ छ ।उहाँ भन्नुहुन्छ, “मिर्गौलामा जन्मजात, उमेर बढ्दै गएपछि पिसाबको सङ्क्रमण,पथरी भएर, शरीरको प्रतिरक्षा शक्तिले आक्रमणले वंशाणुगत रोगले, जीवनशैली, खानपान, मधुमेह र उच्च रक्तचापले पनि मिर्गौला बिगार्छ । त्यसका अलावा जथाभावी दुःखाइ कम गर्ने औषधि, धूमपानले मिर्गौला बिगार्ने डा.श्रेष्ठ बताउनहुन्छ । 

डा. श्रेष्ठका अनुसार मिर्गौला बिग्रिसकेपछि पिसाबको रङमा परिवर्तन आउनु। धमिलो हुनु वा पिसाब पोल्नु,आँखाको डिल सुन्निनु, खानामा रुचि घट्दै जानु तौल घट्दै जाने , शरीर दुब्लाउँदै जानु, दुवैतर्फका कोखाहरू दुख्नु,खुट्टा सुन्निनु,थकाइ लाग्नु ,सास फेर्न गाह्रो हुनु  मिर्गौला बिग्रिएका मुख्य लक्षण हुन् । 

मिर्गौला फेल हुनबाट बच्न  पिसाब र रगतको बर्सेनि परीक्षण गर्न र मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्न उहाँको सुझाव छ । मिर्गौलासम्बन्धी समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन डा. श्रेष्ठको आग्रह छ  । 

विश्व मिर्गौला दिवसको अवसरमा मिर्गौला फेल हुनुका कारण यसको उपचारलगायतका विषयमा केन्द्रित भई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसँग गरिएको भिडियो संवाद:


भिडियो: मनोजरत्न शाही

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।