रामकृष्ण बोहरा
बागलुङ, कात्तिक २१ गते । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनका लागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्वबारे तालिम आवश्यक पर्छ ।
फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनसहित प्रादेशिक स्वास्थ्य तालिम केन्द गण्डकी र प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजना माधौलागिरि अस्पतालमा सुरक्षित मातृत्व सम्बन्धी एसबिए÷एएचपी ३६ दिने तालिम सुरु भएको छ ।
धौलागिरी प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रभातसिंह राजपुतले तालिमको उद्घाटन गर्दै दिगो विकास लक्ष्य हासिल गर्न नेपालले स्वास्थ्य क्षेत्रमा फड्को मार्नुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यसका लागि सबै स्वास्थ्य संस्थामा दक्ष प्रसुतीकर्मी अनमी र नर्स रहनुपर्ने बताउनुभयो ।
‘‘दक्ष स्त्रीरोग विशेषज्ञ मात्र भएर पुग्दैन, दक्ष प्रसुतीकर्मी गाउँ गाउँमा आवस्यक छ’’ राजपुतले भन्नुभयो, ‘‘ग्रामीण जनताको स्वास्थ्य सेवा प्रभावकारी नभए दिगो विकासको लक्ष्य नै पूरा गर्न सकिँदैन ।’’ उहाँले गुणस्तरीय सेवा दिन सकेमा स्वास्थ्यकर्मीको पहिचान बढ्ने समेत बताउनुभयो । दक्ष स्वास्थ्यकर्मीहरुकै कारण बर्थिङ सेन्टरको प्रभावकारिता र विश्वास बढ्ने समेत डा. राजपुतको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रादेशिक तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमन्त बास्तोलाले गाउँमा बस्ने नागरिकको स्वास्थ्य सुधारले ग्रामीण जीवनस्तर पनि सुधार हुने धारणा व्यक्त गर्नुभयो । गाउँमा शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी भएमा बसाईसराई रोकिने, आम नागरिकमा स्वास्थ्य संस्थाप्रतिको विश्वास बढ्ने बास्तोलाको भनाइ थियो ।
तालिममा बागलुङ, रुकुम र सप्तरी जिल्लाका १२ जना स्टाफ नर्सहरु सहभागि हुनुहुन्छ । ३६ दिन लामो तालिममा उहाँहरुले बर्थिङ सेन्टरमा सकुशल शिशु जन्माउने, आमा र शिशुको स्वास्थ्यबारे थाहा पाउने र जीवनरक्षाका लागि गर्नुपर्ने काम सिक्नुहुनेछ ।
हरेक बर्थिङ सेन्टरमा कम्तिमा एकजना अनमी दक्ष प्रसुतीकर्मी रहने गरेकोमा अब भने नर्स समेत रहने गरी राज्यका धेरै स्थानमा व्यवस्थापन भइरहेको अवस्थामा उहाँहरुलाई पनि यो काममा दक्ष बनाउने लक्ष्यका साथ तालिम आयोजना गरिएको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सम्बोधन परियोजनाकी कार्यक्रम व्यवस्थापक मनिता पुनले बताउनुभयो ।
तालिममा स्त्रीरोग विशेषज्ञ डा. विजय ओझा, वरिष्ठ नर्सहरु अजिता सिलवाल, निमा हिताङ र मिलन बरुवालले प्रशिक्षण दिनुहुनेछ ।