• १४ जेठ २०८१, सोमबार

गलीगली (नियात्रा)

blog

यो सहर जहाँ म वर्षौँदेखि बसिरहेको छु, निकै नै उदेकलाग्दो बनिदिन्छ कहिलेकाहीँ । यो मुखुण्डो पहिरेका सम्राट्हरूको सहरमा न चन्द्रमाको चादनी देख्छु न जीवनको गरिमा । यहाँ छ त केवल नवधनाढ्यहरूको फुर्ति, तस्कर र बिचौलियाहरूको जालझेल, घुस्याहाहरूको रवाफ अनि छद्मभेषी कृतघ्नहरूको दम्भ । बेलाबखत मनमा सोच पलाइरहन्छ केही दिनलाई भए पनि कतै टाढाको यात्रा गर्न । बतासिन्छन् दिनहरू । सु-य सुस्केरा हाल्छन् मनका तरङ्गले । मन उत्साहित भइदिन्छ यात्रा गर्नका लागि । आखिर एकै ठाउँमा लामो समय बसिरहँदा, दिक्दारी बढ्दा खोज्दोरहेछ मनले बाहिर निस्कने बाटो । आनन्दको सास फेर्ने उपाए । त्यही उपाय खोजेर यात्रारत हँुदा केही समय अघि भेटिएकी थिइन जुम्लाकी निरमाया बुढा । केटाकेटीहरूसँग जिस्किने मेरो बानी पुरानै हो । परिचित अपरिचित जोसुकै हुन्, बालबालिका देख्दा जिस्क्याइहाल्छु । निकै प्रिय लाग्छ तिनीहरूको बोली र व्रिmयाकलाप । त्यहाँ न जालझेल हुन्छ न त हुन्छ कुनै प्रकारको दम्भ, फुर्ती अनि आत्मश्लाघा । एक निर्दोष हेराइ मायालु लवज, निश्चल निष्कपट मुस्कानले छोइदिन्छ मनको कुनाकुनामा । 

यो धुलो, धुँवा र कोलाहलबाट केही दिनलाई मात्र भए पनि छुट्करा पाइने सोचका साथ सुदूरपश्चिमतिर पाइला चाल्न तम्तयार भएको मन एकाएक मोडिन्छ कर्णालीतिर । यसरी यो मनलाई मोड्नेमा थिए बिएल मिडियाका संस्थापक ज्योती देवकोटा । उनकै सल्लाह र सुझावले पु¥याएको थियो मलाई कर्णाली । यात्रा सुरु गरेको केही घण्टामै चितवनका लागि हिँडेकी लक्ष्मीले भनिदिइन्, “म पनि जान्छु ।” दुर्गमको यात्रा गाह्रो हुने ठानेर छोरीलाई छोड्यौँ चितवनस्थित उनको मामाघरमा । 

रात्रि बसमा नारायणघाटबाट आठ घण्टा यात्रा गरेपछि एकाबिहानै पुगिन्छ नेपालगन्ज । राम्ररी उज्यालो हुन सकेको थिएन । बसपार्कमा चहलपहल बढिसकेको थियो । बिहान चारैतिरका किनारहरू उज्यालिँदै आउन थाले । नजिकका रुखमा चराहरू कराउन थाले । आउन थाले जुम्ला कालिकोट मुगुका गाडीहरू पनि । जुम्लाका लागि एउटा भ्यानमा चढ्यौँ हामी । कोहलपुर बसपार्कबाट ८२ किमि बाटो पार गरेपछि आइपुग्छ सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्ज भेरीको किनार हुँदै पुग्छौँ सुर्खेत बजार । सुन्दर अनि मनमोहक भ्याली सुर्खेतले ओढिरहेकै थियो हुस्सुको पछ्यौरी । सडक छेउमा जतातै देखिन्थे बिक्रिका लागि राखिएका जुम्ला, मुगु र कालिकोटबाट ल्याइएका स्याउका भरिभराउ डोकाहरू । 

 गाडीमा जुम्लाको यात्रा गर्दा मनमा एकातिर छुट्टै उत्सुकता पैदा भइरहेको थियो भने अर्कोतिर  बाटो अप्ठ्यारो छ भन्ने सुन्दा कताकता डर पनि लागिरहेको थियो । उताबाट छोरीले घण्टाघण्टामा फोन गरिरहेकी थिइन् कहाँ पुग्नुभयो भनेर । उनलाई पहिलो पटक आमाबुवाबाट छुट्टिएर एक्लै बस्दाको न्यास्रोले सताइरहेछ भन्ने आभाष सजिलैसँग पाउन सकिन्थ्यो । सुर्खेत पुगेको आधी घण्टा पछि सुरु भयो हाम्रो यात्रा । 

सत्र अठार वर्षका नौ जवान प्रेमबहादुर थिए गाडी चालक । डेउडा गीत घन्काउँदै निकै नै फुर्तिलो पाराले चलाइरहेका थिए गाडी । समय समयमा उनको मोबाइलको घण्टी बजिरहन्थ्यो । मोबाइलमा गफ गर्दै एक हातले स्टेरिङ घुमाउँदै रप्तारमा गाडि चलाइरहेका थिए उनी । त्यो दृश्य देख्दा मनमा चिसो परिरह्यो । दैलेख कालिकोट हुँदै जानुपर्ने हुन्छ जुम्ला । घुमाउरा मोडबाट देखिने कर्णाली नदीका घुम्ती देख्दा याद आउँथ्यो गाउँघरतिर वर्षौं अघिदेखि सुनिँदै आएका गीतका पङ्क्ति : 

कर्नाली घुमाउरो प-यो लौरी बगाउँदैन 

बैरागीको बाँझो मन डुली अघाउँदैन् 

 साँच्चै गज्जबका घुम्तीहरू देखिन्थे कर्णालीका । मन हर्ने सुन्दर छालहरू उस्तै । त्यो प्राकृतिक दृश्य हेरेर अघाउँदैन मन । किनारमा उभिएर हेरिरहुँ झैँ लाग्छ । जति डुल्दै गयो त्यति नयाँ कुरा भेटिने त्यो भूमि लोकसाहित्य र संस्कृतिका क्षेत्रमा निकै धनी छ । तर दुर्भाग्य बाँकी नै छन् लेख्नुपर्ने धेरै कुरा । गाडीमा रहेका यात्रुले हामीलाई देखाइरहेका हुन्थे कर्णालीपारिको अछामको भूभाग । मनमनै सोच्थेँ त्यहाँबाट सदरमुकाम मङ्गलसेन पुग्न कति समय लाग्ला । कतिको समस्या झेलिरहेका होलान् त्यहाँका मान्छेहरू । आफ्नै गतिमा बगिरहेकी कर्णालीका छाल हेर्दा सम्झनामा आइरहे कालीकोटका बिर्ख शाहीका गीतका पङ्क्ति । बिर्ख शाही दृष्टिविहीन थिए । सामान्य भनाभन हुँदा आवेगमा आएर उनकी श्रीमती कालीले कर्णालीमा सात वर्षकी छोरीसहित हाम फालेर जीवनको इतिश्री गरेपछि दोषी ठानिएका उनले प्रशासनसामु यसरी व्यक्त गरेका थिए आफ्नो विरह । 

आपूm बाइगै छोरी लैगइ आइ गङ्गा कालीगै

एक नेल दैवले दियो दोस्रो नेल हालीगै

(उर्लिंदो भेलसँगै नदीमा छोरीलाई समेत लगेर काली गइहालिन् । दृष्टिविहीन बनाएर एक नेल त दैवले दिएकै थियो आज उनले दोस्रो नेल हालेर गइन् ।) कम मार्मिक छैनन् यी पङ्क्ति । यी पङ्क्तिहरू सम्झिँदा याद आउँछ पिबी सेलीको भनाइ छ, “हाम्रा मधुरतम गीत ती हुन्, जसले गहनतम नैराश्यको कथ्य बोकेका हुन्छन् ।”  असली डेउडा गीतले पनि हृदय हल्लाउने सामथ्र्य राख्छन् । तरलित तुल्याउँछन् । 

एक सय तेह्र किमि दूरी पार गरिसकेपछि आइपुग्छ दैलेखस्थित कर्णाली किनारको चर्चित ठाउँ राकम । जहाँको फाँट निकै नै सुन्दर देखिन्छ । दस वटा सहरी योजना अन्तर्गतको एक हो राकमको विशाल फाँट । जहाँबाट कालीकोटको मान्मा पुग्न जम्मा उनन्तिस किमि मात्र छ । तर नागबेली परेको डरलाग्दो बाटोका कारण घण्टौँ लाग्छ कालीकोट पुग्न । डाँडाको शिरानीमा देखिने मान्मा बजार तलबाट जति सुन्दर देखिन्छ सदरमुकाम पुगेपछि त्यति सुन्दर देखिँदैन । उराठ लाग्दो डाँडाको टुप्पोमा अवस्थित मान्मा बजारमा पुगेर खाजा खान थाल्यौँ । चारैतिर देखन्थे विशाल डाँडाहरू । समतल फाँट भन्नु त सपनाकै कुरा छ कालीकोटमा । जुम्लीहरू कालीकोटलाई जुम्लाको विकासको बाधकका रूपमा लिन्छन् रत एउटा भानाइ नै छ, कालीकोटले विकट बनाएको जुम्ला ।  जुम्लामा समयमा गाडी पुग्न नसक्नुको कारण कालीकोटका डरलाग्दा भिरहरू नै थिए । बसमा आउँदा नेपालगन्जबाट एक दिनमा पुगिँदैन जुम्ला । बास बस्नुपर्ने हुन्छ कालीकोटमा । ससाना भ्यानले मात्र पु-याउँछन् । कालीकोटबाट ८२ किमि पार गरेपछि पुगिन्छ जुम्ला सदरमुकाम । कठिन बाटोकै कारण उक्त दूरी पार गर्न ती भ्यानहरूलाई समेत तीन चार घण्टा समय लाग्छ । कालिकोटको पिली पुग्दासम्म घाम अस्ताइसकेको थियो । पिली द्वन्द्वकालको निकै चर्चित ठाउँ हो । जहाँ ४२ जना सैनिकले एकै पल्ट ज्यान गुमाएका थिए । त्यो भीर हेर्दैमा डरलाग्दो थियो । सडक निर्माणका व्रmममा काम गरिरहेका सेनाका जवान भएको उक्त ठाउँमा माथिबाट माओवादीले गोला बारुद वर्षाउँदा ढुङ्गा लडे झैँ भीरबाट लडेर ज्यान गुमाएको कुरा सुनाउँदै थिए गाडीभित्रका यात्रुहरूले । पारिपट्टि खोचमा डाँडाको फेदमा देखिन्थे केही गाउँ । तिला नदीको किनारै किनार दौडिरहेको थियो गाडी । कानका जरासम्मै स्पर्स गरिरहेको थियो झ्यालबाट छिर्दै गरेको हावाले । जुम्लाको तातो पानी बजारमा पुग्दासम्म रातको ८ बजिसकेको थियो । तातो पानी बग्ने ठाउँ भएकै कारण उक्त ठाउँको नाम तातो पानी रहेको रहेछ । टाढा टाढाबाट त्यहाँ नुहाउन आउँदा रहेछन् मान्छेहरू । तातो पानीमा नुहाउनाले छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । तातो पानीबाट तिला नदीको किनारै किनार जुम्ला सदरमुकाम पुग्दा देखिने सुन्दर फाँट आफ्नै गतिमा बगिरहेको नदी वरपर देखिने पहाडको दृश्यले लोभ्याउँछ जोकोहीलाई । जुम्लाको मानसरोवर होटेलमा खाएको रातो मार्सीको भात र सिमीको दालको स्वाद सम्झिँदा अहिले पनि रसाउँछ मुख । लक्ष्मीलाई केही नभनी भोलिपल्ट एकाबिहानै निस्किन्छु होटलबाट । सदरमुकामको सिरानीको डाँडामा पुगेर नजरले भ्याएसम्म एकोहोरो हेरिरहन्छु टाढासम्म । निकै सुन्दर देखिन्थ्यो जुम्ला उपत्यका । नजिकै देखिने जुम्ल्याहा डाँडाले अझ बढी शोभा बढाइरहेका थिए सदरमुकामको । 

दिउँसो खाना खाएर निस्कियौँ बजारतिर । खसभाषाको शब्दकोश लेखिरहेका रमानन्द, जुम्लाका लेखक खडानन्द चौलागाईदेखि म्याराथनमा चिनिएका चर्चित धावक हरिबहदुर रोकायासँगको भेट अविष्मरणीय थियो । हामी बसेको होटलबाट पाँच मिनेटको दुरीमा थियो जुम्लाको प्रसिद्ध चन्दननाथको मन्दिर । हरेक वर्ष दसैँको बेला फूलपातीका दिन नयाँ लिङ्गा हाल्ने चलन निकै अगाडिदेखि चल्दै आएको छ त्यहाँ । टाढैबाट फरफराइरहेका हुन्छन् लिङ्गाको टुप्पोमा बाँधिएका धजाहरू । केही वर्षअघि मात्रै चन्दननाथ मन्दिरमा चोरी भएको समाचार प्रकाशित भएको कुरा पत्रपत्रिकामा पढेको याद आइरह्यो । मन्दिरभित्र नछिरी बाहिरैबाट फोटो खिचेर सोध्न थाले त्यहाँका स्थानीयसँग मन्दिरको इतिहास । मान्छेको मात्र कहाँ हो र हरेक चिजवस्तुको आआफ्नै इतिहास हुन्छ । तर त्यो कुरा कतै बाहिर आएको हुन्छ, कतै गर्भमै रहेको हुन्छ । कथा भन्छ, सदियौँ पहिले दुई जना बाबाहरू कस्मिरबाट जुम्ला आएका थिए । एउटाको नाम बाबा चन्दननाथ थियो भने अर्कोको नाम बाबा भैरवनाथ । बाबा चन्दननाथले एक ठाउँमा बसेर तपस्या गरी भगवान शिवलाई स्थापना गरे भने बाबा भैरवनाथले पनि नजिकै बसेर तपस्या गरी बटुक भैरवको स्थापना गरे । त्यसैले एउटै परिशरभित्र चन्दननाथ र भैरवनाथका छुट्टाछुट्टै दुई वटा मन्दिर छन् । तिनै बाबाहरूले कस्मिरबाट काली मार्सी धानको बिउ ल्याई तातो पानीको लाछु जिउलामा बेर्ना बनाई धान उत्पादन गरेका रहेछन् र पछि जुम्लावासीलाई बिउ दिएर धानखेती गर्न सिकाएछन् । त्यही कुरालाई मनन् गरेर जुम्लीहरूले विगतदेखि नै धान काटेपछि पहिलो बाला चन्दननाथ मन्दिरमा चढाउने गरेको कुरा सुनाउँछन् त्यहाँका स्थानीयवासी । चन्दननाथ मन्दिरभित्र भगवान बुद्धका मूर्तिहरू पनि राखिएका छन् । स्थानीयहरूका अनुसार भगवान् गौतम बुद्ध विष्णुका दसौँ अवतार हुन् । त्यसैले गर्दा बुद्धका मूर्तिहरू राखेर तिनको पनि पूजा गर्ने गरिएको हो । धार्मिक पक्षबाट जेसुकै अर्थ लगाए पनि समाजमा मिलेर बसिरहेका हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आपसी माया प्रेम भाइचारा र सद्भावलाई अझ गाढा र प्रेमिल बनाइरहेकै छ यसरी बुद्धका मूर्ति मन्दिरभित्र राखिनुले । 

जुम्ला सदरमुकाम बसाइका दुई दिन कतिखेर बिते पत्तै भएन । जुम्लाका गुठी चौर ठाकुरजी ताल, पात्रासी हिमाल जस्ता सुन्दर र मनमोहक पर्यटकीय क्षेत्रहरू घुम्न थाँती नै राखेर हामी निस्कियौँ सिंजा हुँदै मुगुसम्मको यात्रामा । बिच बाटोमा बसभित्र प्रवेश गरिन् एउटी महिलाले । उनको साथमा थिए तीन वटी छोरी । हामीभन्दा पछाडिको सिटमा ठाउँ भेटाएर थचक्क बसिन् उनी । ठुली छोरी झ्याल छेउमा गएर बसिन् । कान्छी छोरी डेढ दुई वर्षकी जस्ती देखिन्थिन्, काखमै बोकिन् । माइली निरमाया ग्यालरीमा झोलामाथि बसिन् । झोलामाथि बस्ने ती बालिका अन्दाजी छ सात वर्षकी हुँदिहुन् । जुम्ला गोरा गाउँकी बलिका तिनै निरमाया बुढा र गोठीजिउलामा भेटिएका सांस्कृतिक अध्येता तुङ्गनाथ उपाध्यायसँग गफिएको पल जिन्दगीको अहिलेसम्मकै सबैभन्दा सुन्दर  र अविष्मरणीय बन्न पुग्यो मेरा लागि ।

 दुई कक्षामा पढ्ने ती नानी मामा घरबाट आएकी थिइन् । बज्यैलाई दुध लगिदिएको सिल्भरको ससानो रित्तो भाँडो थियो उनको हातमा । त्यो भाडो समातेर म लग्छु भन्दै जिस्क्याइरहेँ मैले उनलाई । दुई हात जोडेर मायालु लवज निकालेर भनिरहिन् उनीले ‘गलीगली ।’ सोचिरहे कर्णालीले कर्णालीवासीले सिंहदरबारलाई निकै अघिदेखि भनिरह्यो गलीगली । सुनेन सिंहदरबारले । बेवास्ता गरि नै रह्यो कर्णालीप्रति । देखाइरह्यो सौतेनो व्यवहार । मनमा भावनाका छाल उर्लिरहे । निरमायासँग वार्तालाप गरिरहेँ ।  मायालु थिइन् उनी परिपक्व मान्छेका झैँ कुरा गरिदिन्थिन् बेलाबखत । के दिइन् त बज्यैले भनी सोध्दा सरल ढङ्गले ढुक्कसाथ भनिदिइन् ‘माया ।’

मैले बाटोभरि प्रश्न तेस्र्याइरहेँ । उनले निकै नै आत्मीयतापूर्वक उत्तर दिइरहिन् । ‘तिम्रा कति जना दिदीबैनी,’ जिज्ञासापूर्वक सोधेँ । पछाडिपट्टि बसेकी दिदी र बहिनीसमेतलाई देखाउँदै एकै सासमा भनिदिइन्, “तीन वटी । भाइ आमाका पेटौदो छ । एक दिदी मरी ।” उनको उत्तर दिने शैली गजबको थियो ।

 हामीभन्दा एक पङ्क्ति पछाडि थियो उनीहरूको सिट । अबोध बालबालिका भेट्दा म निकै रमाउँछु । लाग्छ यस्तै बालबालिकाहरूसँग रमाउन पाए हुन्थ्यो । लास्टका सिट, धुलाम्मे खाल्डाखुल्डी भएको कच्ची सडकमा  उफारिरहेको थियो बसले । निरमाया चिन्तित भएर आमातिर हेर्थिन् । एक पङ्क्ति अगाडि आपूm बसेको सिटमा बस्न अनुरोध गर्थिन् । आमाको पेट मुसार्न खोज्थिन् । मायालु अनि आशाले भरिएको अनुहार देखाएर हामीसँग भनिदिन्थिन्, “आमाका पेटौदो मेरो भाइ छ ।” उनकी आमा लाजले शिर निहँुराउँदै उनलाई त्यस्तो नभन्न इसारा गर्थिन् । उनकी आमाको अप्ठ्यारो परिस्थितिलाई मनन् गरेर त्यो परिवेशलाई अर्कैतिर मोड्न पुनः म उनको दुधको रित्तो भाँडो समातेर भनिदिन्थेँ, “यो म लग्छु है ।” हातका औँलाले चिउँडोमुनि सारङ्गी बजाए झैँ गर्दै हात जोडेर भन्थिन् उनी, “गलीगली नलगिदेऊ ।” खसभाषामा गलीगली भनेको प्लिज अथवा बिन्ति भन्ने हुन्छ । एकातिर केटाकेटी देख्दा जिस्क्याउन मन लाग्छ अर्कोतिर निरमाया जस्ता अबोध बालबालिकाले यसरी मायालु पाराले गलीगली भनिदिँदा कुन्नि के भएर हो आँखाका डिलसम्म पुगिसक्छन् आँसु । पहिलो पटक उनकै उमेरकी छोरी छोडेर यात्रारत लक्ष्मीको अनुहार भावपूर्ण देखिन्थ्यो । निरमायाको मुहारमा पाइरहेका थियौँ हामी आफ्नै छोरीको झल्को । झोलामा खोतल्दा अलिकति छोकडा भेटिए । मैले उनलाई खान दिएँ । उनले आमातिर हेरिन । आमाको अनुहार पढिन् र मतिर फर्केर प्रश्न गरिन्, “यो के हो ?” मैले खाने कुरा हो, खाऊ भनेपछि आमा दिदी बहिनी सबैलाई एक एक वटा बाँडिन् अनि मात्र आफू खाइन् । कुनै लोभ लालच र म मात्रै खाउँ भन्ने भावना थिएन उनमा । दुई तीन घण्टाको यात्रामा उनीभित्रको अन्तर्निहित क्षमता पूर्णरूपेण थाहा पाउन कहाँ सकिन्थ्यो र ? मात्र उनका केही क्रियाकलाप नियालिरहेँ ।  सोच्न थालेँ, यो विकटमा बसेर त यति टाठी छन्, सहरमा अरू जस्तो सुविधा र अवसर पाएको भए कस्ती हँुदिहुन् ? छुट्टिनुअघि उनले भनेकी थिइन्, ‘हाम्मा घर स्याउ छ । स्याउ दिउला हिण हाम्मा घर जाऔँ ।”

मैले मनमा अनेक कुरा खेलाउँदै गर्दा निरमायाले बसको ढोकामा पुगेर पछाडि फर्किंदै हात हल्लाइन्, म एकोहोरो टोलाइरहेँ । उनी तल पुगुन्जेल एकोहोरो हेरिरहेँ बसको झ्यालबाट । आखिर जिन्दगीले जिन्दगीका दिनहरूले नेटो काटिरहे झैँ बिस्तारै नेटो काट्यो बस र समय दुवैले । 

मेरा आँखाबाट ओझेल परिन् निरमाया । तर उनको निर्दोषपन, मायालु बोली र तेजिलो दिमागबाट प्रभावित भएको मेरो मनबाट सकेकी छैनन् उनी ओझेल पर्न । बाटोमा ससाना केटाकेटी देख्दा हिजोआज पनि बेलाबखत सम्झनामा टुप्लुक्क आइपुग्छिन् उनी । कानमा गुञ्जिरहन्छन् उनले भनेका तिनै चार अक्षर ‘गलीगली’ ।