गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १ गते । ‘डिसहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरिएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो । बाह्रखरी मिडियाले यो वर्षदेखि विगतका वर्षभन्दा पुरस्कार राशि बढाएको जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपियाँका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । सो पुरस्कार राशि विगतका वर्षमा भन्दा बढी हो ।
यसै गरी २२ कथाकारलाई जनही सात हजार रुपियाँ सम्मानस्वरूप प्रदान गरिने छ । कथा प्रतियोगिताको नतिजा २०८२ पुस दोस्रो सातासम्ममा एक विशेष समारोहबिच सार्वजनिक गरिने छ । सोही दिन कथासङ्ग्रहको पुस्तक ‘उत्कृष्ट कथा, २०८२ को लोकार्पण पनि गरिने छ ।
समारोहमा प्रतियोगिताका निर्णायक मण्डलका संयोजक अशेष मल्लले प्रतियोगिता पछिल्लो दशकको नेपाली समाजको ऐनाभएको उल्लेख गर्नुभयो । उहाँले विश्वभर रहेका नेपालीलाई प्रतियोगितामा कथा लेखेर पठाउन आह्वान गर्नुभयो ।
समारोहमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले साहित्य क्षेत्रमा लाग्ने व्यक्तिलाई प्रेरणा र उत्साह प्रदान गरोस् भनेर पुरस्कार राशि बढाइएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार ‘पुरस्कार राशि अगाडि नै बढाउने उद्देश्य थियो तर कोरोना, आर्थिक मन्दीलगायत विभिन्न कारणले सकिएन । यस पटक बाह्रखरीले आफ्नो गाँस कटाएर भए पनि पुरस्कार राशि बढाएका छौँ ।”