चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १ गते । ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालयले देउसी भैलो मर्यादित रूपमा खेल्न जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तिहारमा खेलिने देउसी भैलो सामाजिक सद्भाव समेतलाई कायम राख्दै मर्यादित र अनुशासित रूपमा खेल्न आग्रह गरेको हो ।
चाडपर्वका समयमा हुनसक्ने सम्भावित झैँ–झगडा, उछृङ्खलता र अवाञ्छित गतिविधिलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले देउसी भैलो मर्यादित र सभ्य ढङ्गले खेल्न जिल्लावासीलाई आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जारी गर्नुभएको सूचनाअनुसार देउसी भैलोसँगै तिहारको अवसरमा सञ्चालन गरिने सांस्कृतिक कार्यक्रमहरू पनि मर्यादित बनाउन आग्रह गरिएको छ।
आपसी सद्भाव र सहिष्णुताको वातावरणमा तिहारलाई रमाइलोसँग मनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यस्तै तिहारलाई शान्तिपूर्ण र मर्यादित बनाउन आतिसबाजी, पटका, भुइँचम्पाजस्ता विष्फोटक पदार्थहरू बिक्री वितरण र प्रयोग नगर्न पनि जिल्लावासीलाई आग्रह गरिएको छ । गैर कानुनीरूपमा चिट्ठा र जुवातासजन्य खेलहरू नखेल्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यस्तै चाडपर्वको मौकामा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि र कालोबजारी गर्ने, म्याद गुज्रेका अखाद्य वस्तु मिसावट गर्नेजस्ता कार्य हुनसक्ने भन्दै उपभोक्ता र व्यापारीलाई सचेत गराएको छ । सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र ट्राफिक नियमको पूर्णरूपमा पालना गर्न सम्बन्धित पक्षलाई प्रशासन कार्यालयले आग्रह गरेको छ । यता जिल्ला प्रशासन कार्यालयको आग्रहलाई बेवास्ता गरे कानुनी कारबाही हुनेतर्फ पनि सचेत गराइएको छ ।
यसैगरी, मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपमा पनि तिहारलाई रमाइलो बनाउन देउसी भैलो लगायतका गतिविधि मर्यादित र सभ्यरूपमा सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ । वडाध्यक्ष वेदप्रसाद हाङ्गामले एक सूचना जारी गर्नुहुँदै तिहारलाई मर्यादित बनाउन आग्रह गर्नुभएको हो । वडाध्यक्ष हाङ्गामद्वारा जारी सूचनामा देउसी भैलो लगायतका गतिविधि राति ११ बजेसम्म मात्र सञ्चालन गर्न उल्लेख गरिएको छ ।