हरिकृष्ण शर्मा
मुस्ताङ, कात्तिक १ गते। स्याउ खेतीमा स्थानीयको आर्कषण तथा खेती विस्तारसँगै यस वर्ष मुस्ताङबाट एक अर्ब १० करोड बराबरको स्याउ बिक्री भएको छ। गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको हो।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार उत्पादन बढेसँगै यस वर्ष एक अर्ब १० करोड २३ लाख ७० हजार रूपियाँको स्याउको कारोबार भएको हो। गतवर्षको तुलनामा करिब १० करोडको स्याउ बढी बिक्री भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। केन्द्र प्रमुख राजेश गुरूङले यसवर्ष मुस्ताङको स्याउको माग बढेकाले बजारको कुनै समस्या नभएको बताउनुभयो।
प्रमुख गुरूङले भन्नुभयो,‘‘कृषि प्राविधिको टोलीले बगैँचाबाटै विवरण सङ्कलन गरिन्छ, कृषक र स्थानीय तहका कृषि शाखासँग समेत समन्वय गरिएको छ।’’
मुस्ताङमा आठ सय ९२ क्षेत्रफलमा स्याउ खेती गरिएकोमा स्थानीय प्रजातिको रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजीमा ८ सय ३२, हाइब्रिड ६० हेक्टरमा रहेको छ। यसवर्ष स्थानीय प्रजातिको कुल पाँच सय ८३ हेक्टर क्षेत्रफलबाट ७८ करोड ८९ लाख ७० हजार रुपियाँ र उच्च घनत्वमा ६० हेक्टरमा उत्पादन भएको ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रका सूचना अधिकारी शिव गणेश चौधरी कुर्मीले जानकारी दिनुभयो। स्थानीय प्रति हेक्टर १०.४१ र उच्च घनत्व २६.१२ मेट्रिकटन स्याउ उत्पादन हुन्छ।
पछिल्लो समय मुस्ताङका स्याउ कृषक गाला र किङरोड जातको स्याउ खेतीमा आर्कषित भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी एक सय ३० रूपियाँ र हाइब्रिड प्रतिकेजी दुई सय रूपियाँ औषत मूल्य तोकिएको छ। मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादनका लागि हब मानिन्छ।
पछिल्लो समय उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले समेत स्याउ खेतीलाई प्राथमिकता दिएकाले स्थानीय र उच्च घनत्वको स्याउ उत्पादन बढ्ने केन्द्र प्रमुख गुरूङले बताउनुभयो। मुस्ताङमा घुम्न जाने स्वदेशी पर्यटकले कोशेलीको रूपमा समेत स्याउ लैजाने गर्दछन्।
मलजल र नयाँ बिरुवाले समेत फल दिएपछि यसवर्ष स्याउ उत्पादन राम्रो भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) गुरूङले बताउनुभयो। स्याउ टिप्ने समयसीमा तोकिएकाले पनि राम्रो स्याउ बजारमा गएको कृषक गुरूङको भनाइ छ। कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ) र स्थानीय तहका कृषि शाखामार्फत औजार वितरण, आधुनिक प्रविधि, समयमै मलजलसहित प्राविधिक तालिमका कारण रसिला र गुलिया, आकार ठुलो र धेरै दिनसम्म पनि ताजा रहने भएकोले बजार माग उच्च छ।