• ९ मंसिर २०८१, आइतबार

महाशिवरात्रि पर्व

दर्शन गर्न भक्तजनलाई सहज

blog

काठमाडौँ, फागुन २५ गते । पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाटै छिटै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ । ज्योतिष विशाल भण्डारीले आकार निराकार दुवै तरिकाले शिवको आराधना गर्न सकिने पुज्य देवताका रूपमा शिवलाई लिइने जानकारी दिनुभयो । 

उहाँले बडादसैँअघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र यो महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महत्व दर्शाइएको बताउनुभयो । 

रुद्र स्वभाव हुँदा जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रिमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धूमधामका साथ मनाउन थालिएको हो । शिवलाई मनपर्ने पञ्चामृत, बेलपत्र, गाँजा, भाङ, धतुरो अर्पण गरेर खुसी पार्ने प्रयास भक्तजनबाट हुने गर्छ । धार्मिक आस्थामा यसो भए पनि आयुर्वेद क्षेत्रमा यी पदार्थलाई पाचन प्रणाली सन्तुलन, ज्वरो नाशक, पेटमा कृत्रिम रोग निवारणलगायतका औषधीय महत्वका साथ हेरिन्छ । 

लुयाँटा गाउँ बझाङको ऋषिकुण्ड, कैलाशमाडौँ बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, काठमाडौँ डिल्लीबजारको वसन्तेश्वर, जयवागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ । पशुपतिनाथमा चारै प्रहर अतिरुद्री, महादीप प्रज्वलन, अखण्ड दीपसहितको दीपोत्सव, लाख बेलपत्र र प्रशस्त पञ्चामृतद्वारा पशुपतिनाथको पूजा गर्ने तयारी गरिएको छ । शिवरात्रीमा नेपाली भरीबाट र भारतबाट हिन्दु धर्मावलम्बी भक्तजन, सन्त महन्तहरू दर्शन गर्न काठमाडौँ उपत्यका भित्रिसकेका छन् । दर्शालु भक्तजनलाई मन्दिर दर्शन गर्न सहज वातावरण मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनलाई दर्शनका लागि बिहान २ बजेदेखि नै चारै वटा ढोका खोल्ने प्रबन्ध मिलाई दर्शन गराइने भएको छ । विशेष पूजा बिहान सीमित सङ्ख्यामा गराइने र साँझ ६ बजेपछि मात्र थप विशेष पूजा गरिने कार्यक्रम रहेको छ । 

पशुपति क्षेत्रमा रङरोगन र बिजुलीबत्ती जोड्ने, मर्मतसम्भारका काम सम्पन्न भइसकेका छन् । महाशिवरात्रिको तयारीका क्रममा कोषले विशेष सफाइसहित शौचालय, खानेपानी, जुत्ताचप्पल राख्ने स्थानको व्यवस्था मिलाइसकेको जनाएको छ । यसै गरी महाशिवरात्रि पर्वमा नेवार समुदायमा सिलाचःह्रे मनाउने गरिन्छ । सो दिन बाटो छेक्ने र घर घरमा गएर गीत गाउँदै दाउरा माग्ने चलन पनि रहेको छ । जुन परम्परा अहिले लोप भइसकेको छ ।

संस्कृतिविद् चुन्दा वज्राचार्यले महाशिवरात्रि र सिलाचःह्रे भनेको एउटै भएको जानकारी दिँदै यो दिन नेवार समुदायमा शिवको नै पूजा आराधना गर्ने गरिन्छ । उहाँका अनुसार सिलाचःह्रे ‘सि’ को अर्थ ‘शिव’ र ‘ला’ को अर्थ महिना हो भने ‘चःह्रे’ को अर्थ चतुर्दशी हुन्छ ।

शिवरात्रिको दिन बिहान गुठीका मान्छेहरू विशेषतः केटाकेटी मिलेर बाटा बाटामा पैसा उठाएर त्यो रकमले साँझमा आगो बाल्ने, मकैलगायतका गेडागुडी भुटेर खाने चलन रहेको छ । नेवार समुदायको कपाली, दर्शनधारी वा जोगीहरूले पनि जामा पहिरिएर, हारमाला, रुद्राक्ष माला लगाएर, शरीरमा विभूति घसेर, देब्रे हातमा त्रिशूल लिएर, दाहिने हातले डमरु बजाउँदै महादेवको भेष लिएर घर घरमै भिक्षा माग्ने चलन भएको बताउँदै अहिले सो लोप भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।