• ८ कात्तिक २०८२, शनिबार

सीमावर्ती चित्रे बजारका बासिन्दालाई प्रशासनिक समस्या

blog

तेह्रथुम र धनकुटाको सिमानामा अवस्थित चित्रे बजार ।

कविराज घिमिरे

हिले, कात्तिक ८ गते । धनकुटाको महालक्ष्मी नगरपालिका-८, चित्रे बजारमा बसोवास गर्दै आउनुभएको विमला लिम्बुको घर बाहेक सबै जग्गा जमिनदेखि कागजात तेह्रथुम जिल्लाको छ । एकै स्थानको जग्गा दुई जिल्ला तथा दुई पालिकामा भएका कारण उहाँले बर्सेनि प्रशासनिक समस्या भोग्दै आउनु भएको छ । 

दुई वटा पालिकामा रहेको बजारका कारण प्रशासनिक कामको लागि दुई पालिका धाउनु पर्ने र सेवा सुविधा लिनै दुविधामा पर्दै आएको उहाँ बताउनुहुन्छ । “एकै स्थानको जग्गाका लागि पनि तिरो तिर्न तथा विभिन्न प्रशासनिक कामका लागि दुई जिल्लाका दुई पालिका धाउनुपर्छ,” लिम्बू भन्नुहुन्छ । 

चित्रे बजार तेह्रथुम र धनकुटाको सिमानामा अवस्थित छ । दुई जिल्लाको सिमानामा रहेका यहाँका बासिन्दा सामाजिक र व्यवहारिक रूपमा एउटै स्थानमा घुलमिल भए पनि प्रशासनिक रूपमा भने दुई जिल्लामा पर्नु परेको कारण लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । चित्रे बजारलाई कोसी राजमार्गले दुई भागमा विभाजन गरेको छ । सडकको दायाँतर्फ धनकुटाको महालक्ष्मी नगरपालिका र बायाँतर्फ तेह्रथुमको लालीगुराँस नगरपालिका पर्छ । एउटै आँगनमा रहेका परिवार पनि फरक–फरक स्थानीय तहमा पर्ने भएकाले समस्या झन् जटिल बनेको छ । 

बजारका १ सयभन्दा बढी घरपरिवार वर्षौँदेखि यस्तै प्रशासनिक समस्यामा पर्दै छन् । स्थानीय तहले वितरण गर्ने विभिन्न सेवा लिनेदेखि उपभोक्ता समिति मार्फत हुने विकास निर्माणका काममा समेत समस्या भोग्दै आएका छन् । यो बजार पूर्वकै पर्यटकीय स्थल टिएमजे क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको छ । विकास निमार्णको काम देखी लिएर पाउने सेवा सुविधामा समेत समस्या हुँदै आएकोले एउटै जिल्ला वा पालिका भई दिए राम्रो हुने स्थानीय पोस्टराज रायमाझीको भनाइ छ । सीमावर्ती क्षेत्रमा रहेकाले प्रशासनिक झमेला सँगै विकास तथा पालिकाले दिने सेवासुविधामा समेत पछि पर्ने गरेको उहाँको भनाइ छ । 

एउटै छानामुनि रहेका घर परिवार फरकफरक वडामा पर्ने भएकाले वडाबाट लिनुपर्ने सेवा सुविधा पाउन अप्ठ्यारोमा पर्दै आएका छन् । सङ्घीयता कार्यान्वयनका क्रममा राज्य पुनः संरचना गर्दा चित्रे वासीले आफूहरूलाई एउटै स्थानीय तहमा राखिदिन माग गरे पनि जिल्लाको सीमा नचलाउने निर्णय भएकाले माग कार्यान्वयन हुन सकेन । त्यसैको मार आजसम्म पनि चित्रे बजारवासीले खेपिरहनु परेको स्थानीयको गुनासो छ ।