• २४ वैशाख २०८१, सोमबार

खगेन्द्र नवजीवन केन्द्रको बेथिति : आश्रितले पाउँदैनन् आधारभूत सुविधा

blog

काठमाडौँ, फागुन ३ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा सरकारले दिने बजेट र संस्थाको आम्दानी २७ करोड ३९ लाख रुपियाँ छ । केन्द्र र चार शाखामा गरी १३३ जना अपाङ्गता भएका र अति अशक्त व्यक्ति आश्रित छन् । वार्षिक बजेट अनुसार प्रतिव्यक्ति २० लाख ५९ हजार ८८० रुपियाँ संस्थालाई प्राप्त हुन्छ । 

प्रतिअपाङ्गता भएका व्यक्तिका लागि त्यति रकम उपलब्ध भए पनि आश्रित अपाङ्गता भएका, अति अशक्त, दृष्टिविहीनसहित बौद्धिक अपाङ्गता भएका नागरिकले आधारभूत सेवा सुविधा पनि पाउन सकेका छैनन् । केन्द्रमा अहिले ९४ जना, सङ्घको झापा शाखामा १४ जना, कैलाली शाखामा १० जना, दाङ शाखामा आठ जना र जनकपुर शाखामा सात जना आश्रित छन् । चार्टर्ड एकाउन्टेन्ट सिए सुरज काफ्ले एन्ड एसोसिएट्स र सिए लवकुमार खत्रीले तयार गरेको लेखापरीक्षण प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा २७ करोड १८ लाख ८१ हजार ५६० रुपियाँ आम्दानी भएको उल्लेख छ । सोमध्ये एक करोड रुपियाँ सरकारले उपलब्ध गराएको हो भने बाँकी संस्थाले आर्जन गरेको हो ।

‘नाफा’ मा अपाङ्ग सङ्घ ! 

केन्द्रको लेखापरीक्षण प्रतिवेदनमा नाफा भएको देखाइएको छ। अपाङ्ग सङ्घको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा खर्चको विवरण २६ करोड ६० लाख १४ हजार ९७५ रुपियाँ प्रस्तुत गरिएको छ । 

आव २०७९/८० मा २७ करोड २३ लाख १० हजार ४६८ रुपियाँ खर्च भएको सोही प्रतिवेदनमा उल्लेख छ । आव २०७९/८० मा १६ लाख ५३ हजार ६६७ रुपियाँ र आव २०७८/७९ मा ५८ लाख ६६ हजार ५८४ रुपियाँ बचत भएको लेखापरीक्षण प्रतिवेदनले प्रस्ट पारेको छ । 

खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा आश्रित नागरिकले नै आधारभूत सेवा प्राप्त गरेका छैनन्। पर्याप्त रकम हुँदा पनि आश्रित नागरिकलाई अमानवीय व्यवहार गरिएको छ । अध्यक्ष साम्देन लामाका अनुसार केन्द्रका १९ वटा कोठामध्ये पाँच वटा कोठामा अति अशक्त अपाङ्गता भएका नागरिकलाई राखिएको छ । ९४ जनामध्ये केन्द्रमा ४५ जना अति अशक्त र अपाङ्गता भएका व्यक्ति आश्रित छन् । एउटै कोठामा चारदेखि नौ जनासम्म राखिएको छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीसहित अन्य नागरिक बस्ने कोठा पनि सफा छैनन् । 

सङ्घको कार्यविधिमै अनिवार्य रूपमै फिजियोथेरापी, नर्स, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने उल्लेख छ । त्यसै गरी तीन महिनामा घुमफिरका लागि लैजाने व्यवस्था पनि अनिवार्य छ । पाराओलम्पिक एसियाली खेलाडी जेनिशा कडायतका अनुसार खाना र बस्ने व्यवस्थाको राम्रो प्रबन्ध नभएको खगेन्द्र नवजीवन केन्द्रमा नियमित स्वास्थ्य परीक्षणको समेत व्यवस्था छैन । उहाँले तीन महिनामा घुमफिरमा लाने कुरा कागजी मात्रै भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पदाधिकारीले यो पनि गर्छौं, त्यो पनि गर्छौं भनेर लिखित रूपमा पाना भरिएको होला तर म नौ वर्षदेखि बसिरहेकी छु । अहिलेसम्म आधारभूत सुविधा त छैन अरू के अपेक्षा गर्ने र ?” उहाँ विद्यार्थी हुनुहुन्छ । उहाँजस्ता विद्यार्थीलाई प्रतिमहिना छ हजार रुपियाँ तिर्नुपर्ने बाध्यकारी व्यवस्था छ । उहाँले भन्नुभयो, “हामीले महिनामा छ हजार, वर्षको ७२ हजार रुपियाँ तिरिरहेका छौँ तर त्यो शुल्क तिरे अनुसार सेवा हामीले पाएका छैनौँ ।”