• ११ पुस २०८१, बिहिबार

बालनाटक महोत्सव

blog

दिपोल अधिकारी

कक्षाः ९, स्वस्तीश्री गुरूकुल आईी स्कुल 

सानोभर्‍याङ, काठमाडौँ

लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भनेको हरेक वर्ष आयोजना गरिने महोत्सव हो । यसमा विभिन्न देशका कलाकार आएर आफूले तयार पारेका नाटक प्रस्तुत गर्ने हुने रहेछ  । तीन दिनसम्म लगातार नाटक प्रस्तुत भयो । स्वस्तीश्री गुरुकुल आई. वल्र्ड स्कुलको आयोजनामा भएको महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, फ्रान्स, स्लोभाकिया, पोल्यान्ड, श्रीलङ्का, इजरायल र थाइल्यान्डका  रङ्गकर्मीको सहभागिता रहेको नाटकको निर्देशक तथा परिकल्पना भने रङ्गकर्मी टङ्क चौलागाईंले गर्नुभएको थियो ।  

कात्तिक २२ गते नाटक महोत्सवको पहिलो दिन सम्पूर्ण कलाकार, विद्यार्थीको भव्य र्‍याली गर्दै विभिन्न देशको राष्ट्रियगानसहित कलाकारको परिचय गराइयो । लाखे, धिमे बाजाको धुनसहित कलाकार स्टेजमा आउँदा दर्शकदीर्घाबाट गडगडाहट ताली एकनासले बजिरहेको थियो । तालीले पूरै स्वस्तीश्री विद्यालय नै गुन्जिरहेको थियो । उद्घाटन समहरोहामा रङ्गमञ्चका हस्ती कलाकार हरिहर शर्मा, अशेष मल्ल, विजय विस्फोट, भोला सापकोटा, कमलमणि नेपाल आदि रङ्गकर्मी आउनुभएको थियो । 

मलाई भने हाम्रो स्केटिङ हलमा बनेको नाटक प्रस्तुत गरिने थियटर हेर्न हतार भइसकेको थियो ।  हल पूरै काला पर्दाले ढाकेर पूरै अँध्यारो बनाइएको थियो । ठुला ठुला लाइटको बिचमा  पहिलो नाटक प्रस्तुत भयो पाकिस्तानको, अभिनय देख्दा पर्दामा चलचित्र हेरे जस्तो भयो । त्यो दिन केबल एउटा नाटक मात्र प्रस्तुत गरियो । विदेशबाट आउनुभएका कलाकारको टोली टोली बनाई हाम्रा विद्यालयका शिक्षकशिक्षिकाले उहाँहरूलाई घुमाउन लैजानुभयो । 

दोस्रो दिनको पहिलो नाटक थियो नेपालको, दर्शन स्कुलको नाटक ‘बिसे नगर्ची’ । यस नाटकमा नुवाकोटमा पृथ्वीनारायण शाहको पहिलो हारपछिको कथा प्रस्तुत गरिएको थियो । यो नाटकले सामाजिक अध्ययनमा रहेको नेपालको एकीकरण पाठलाई बुझ्न सजिलो बनायो । त्यही दिन दोस्रो नाटक भारतको प्रस्तुतिमा नाटक प्रस्तुत गरियो ।  यो नाटकमा भारतीय शिक्षा प्रणालीका बारेमा देखाइएको थियो । उक्त नाटक हेरिसकेपछि साँझ खाना खाएर म र मेरा साथीहरू घर गयौँ ।  

तेस्रो दिन म उही उत्साहका साथ स्कुल पुगेँ । त्यो दिन पनि महोत्सव सफल बनाउनमा लागिपरेँ ।  पहिलो नाटक नेपालको थियो वुइङ्कस एकडेमीबाट  नाटकको नाम थियो ‘सोफिया र काले’ । यो नाटक मलाई एकदमै मन पर्‍यो । जसमा व्यस्त आमाबुवा र एक बालिकाको कथा प्रस्तुत गरिएको थियो । अर्को नाटक बङ्गलादेशको  बिनासंवादको हाउभाउमा प्रस्तुत गरिएको नाटक एकदमै चाखलाग्दो थियो ।  यस्तो नाटक प्रस्तुतिलाई माइम विधाको नाटक भनिँदो रहेछ ।

पहिलो दिनबाट नै सबैले श्रीलङ्काको नाटक साह्रै राम्रो भनिराख्नु भएको थियो । त्यो दिनको तेस्रो नाटकका रूपमा श्रीलङ्काको नाटक हेर्न म एकदमै उत्सुक थिएँ । नाटकको प्रस्तुतीकरण, कलाकारको अभिनय देखेर म छक्क परेँ ।

अन्तिम दिनमा जम्मा तीन वटा नाटकको प्रस्तुति थियो । पहिलो नाटक नेपालको डियरवाक स्कुलको थियो । नाटक यस्तो मर्मस्पर्शी थियो कि म त हेर्दा भावुक भएछु । नाटकमा गाउँबाट विदेश र सहर बसाइँसराइले कस्तो अवस्था सिर्जना गरेको छ, गाउँ रित्तिँदै छन् भन्ने देखाइएको थियो । लगभग ७/८ मा पढ्ने म जस्तै कलाकारको अभिनय देखेर अचम्मित भएँ । त्यसपछिका दुई वटा नाटक पोल्यान्ड र स्लोभाकियाका थिए । महोत्सवको अन्त्यमा कलाकारलाई प्रमाणपत्र, मायाको चिनो दिएर समापन गरियो । चार दिनको यो महोत्सव एकदमै रमाइलो भयो । धरै कुरा सिकियो । विदेशबाट आउनुभएको बालकलाकार साथी बनाएँ । पढेरभन्दा धरै कुरा गरेर, भोगेर सिकिने रहेछ ।