• २० कात्तिक २०८२, बिहिबार

गहनापोखरीको पुनर्निर्माण सुरु

blog

काठमाडौँ, कात्तिक २० गते । हाँडीगाउँमा गहनापोखरीको पुनर्निर्माण सुरु गरिएको छ । सो पोखरीको किनारमा मङ्गलबार क्षमा पूजा गरेर पुनर्निर्माण सुरु गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले पाँच करोड २० लाख रुपियाँ लागतमा पोखरीको पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाको लगानीबाट सहरले प्राचीन स्वरूप प्राप्त गर्दै छ । यसबाट सबैले गर्व गर्न सक्ने संरचना तयार हुने छ ।” पोखरीको पुनर्निर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

वडाध्यक्ष वीरेन्द्र प्रजापतिले हाँडीगाउँलाई प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर्गत मौलिकता र सांस्कृतिक पहिचानलाई मुख्य आधार बनाएर पुनर्निर्माण सुरु गरिएको जानकारी दिनुभयो ।

पुनर्निर्माण योजनाका इन्जिनियर रवीन्द्र रिजालले सो पोखरीको वरिपरि पैदलमार्ग, हरियाली प्रवर्धन र सडक आडमा रहेका खाली ठाउँमा फल्चा तथा खेल्ने ठाउँ निर्माण हुने जानकारी दिनुभयो । १३ हजार वर्गफिटमा पोखरी निर्माण हुने छ । 

गहना पोखरीसँग सम्बन्धित लोककथन गहना खोज्ने जात्रा सञ्चालन हुने सो पोखरी कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । त्यो पेटिकालाई कसैले लिने प्रयास ग¥यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्योे पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागले सुरक्षा दिएर राखेको जनविश्वास छ ।