• १९ कात्तिक २०८२, बुधबार

अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनी सुरु

blog

 गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १९ गते । नेपाल, भारत, बङ्गलादेश र मौरिससका एक सयभन्दा बढी कलाकारको अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनी सुरु भएको छ । आकार डेकोरले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी आयोजना गरेको सो अन्तर्राष्ट्रिय सामूहिक चित्रकला  र मूर्तिकला प्रदर्शनीको मङ्गलबार राजधानीमा उद्घाटन गरिएको हो । 

नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोषचन्द्र कुँवरले सो प्रदर्शनीको उद्घाटन गर्दै कलाको माध्यमबाट विभिन्न देशसँग नेपालको सम्बन्ध प्रगाढ बनाउन प्रदर्शनीले सहयोग पु¥याउने विचार व्यक्त गर्नुभएको छ । उहाँले कला, सङ्गीतको भाषा अन्तर्राष्ट्रिय हुने र नेपाल, भारत, बङ्गलादेश र मौरिससका कला एकै स्थानमा प्रदर्शनी गर्ने अवसरले कलाकारबिचको सम्बन्ध गहिरो हुनुका साथै देशकै सम्बन्ध अझ सुदृढ बनाउने मौका मिलेको पनि बताउनुभयो । 

भारतका कलाकार भरत भूषणले यस कला प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई औधी खुसी लागेको बताउँदै मानिसलाई कला क्षेत्रमा संलग्न हुने अवसरले साँच्चै मानव बनाउने अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “कला, सिर्जना क्षेत्रमा लाग्दा एकसुरले सिर्जनामा ध्यान जान्छ, दायाँबायाँको छलकपटमा लाग्ने फुर्सद हुन्न, ध्यानपूर्वक कला सिर्जनामा लाग्दा देश, विदेशसम्म जाने अवसर पनि पाइन्छ, कलाकृति लिएर अन्य देशसम्म पुग्न पाउने अवसरले कलाकार एक्लैको भलो हुन्न, कलाकारले आफ्नो देशको समेत प्रतिनिधित्व गर्न पाउँछन्, यसबाट विभिन्न देशसँग सम्बन्ध मजबुत बनाउन कलाकारको पनि महत्वपूर्ण भूमिका हुन्छ ।”

त्यसै गरी बङ्गलादेशका कलाकार रुविना नरर्गिसले विभिन्न देशका एक सय जना कलाकारबिच आफू पनि कलाकृतिसहित सहभागी हुन पाउँदा अत्यन्त हर्ष लागेको बताउनुभयो । यस प्रदर्शनीले कला मेलामै सहभागी हुन पाएको महसुस भएको बताउँदै कलाकार नरर्गिसले नेपालको राजधानीमा आयोजित कला प्रदर्शनीले कलाकारबिच एकअर्काको कलाशैलीबारे छलफल गर्ने, अनुभव आदानप्रदान हुने बताउनुभयो । ड्रिम स्केप नेपाल–२५ शीर्षकमा आयोजित कला प्रदर्शनीमा अध्यात्म, देशको परिवेश, प्रकृति, सङ्गीत, कला, नृत्यशैली, धार्मिक, सम्बन्धित देशका संस्कृति, जीवनशैलीलगायतका विविध विषयका चित्रकला र मूर्तिकला समावेश छन् । यो प्रदर्शनी बिहीबारसम्म चल्ने छ ।