• १ वैशाख २०८१, शनिबार

सन्दर्भ सहिद दिवस

पर्चाबाट सुरु भएको क्रान्ति

blog

काठमाडौँ, माघ १६ गते । आज सहिद दिवस । राणाशासनविरुद्धमा उत्रिएका क्रान्तियोद्धा चार सहिदको बलिदानको स्मरण गर्दै हरेक माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने चलन २०१० सालदेखि सुरु भयो । हरेक माघ १० गतेदेखि सहिद सप्ताह मनाउने प्रचलन छ । 

क्रान्तियोद्धाहरूलाई सहादतमा पुर्‍याउँदै स्वतन्त्रताको झिल्को पर्चा छर्ने कामबाट सुरु भएको थियो । त्यसमा देशका लागि ज्यानको आहुती दिन पछि नपर्ने क्रान्तिकारी थपिँदै गए । क्रान्तिलाई उत्सर्गमा पुर्‍याउन उपाय ठहर्‍याइयो– राणाविरोधी पर्चा छर्नु पर्छ । त्यति सहज कहाँ थियो र ? लिथो मेसिन निकै सकससाथ उपत्यकामा भित्र्याइसकिएको थियो । कुरा ८३ वर्षअघि अर्थात् १९९७ सालको हो । त्यो बेला राति ९ देखि बिहान ४ बजेसम्म कफ्र्यु लगाउने चलन थियो । दिउँसो पर्चा छर्न सम्भव नभएकाले रातिबाहेक उपाय थिएन ।

संयोगले उपाय त निस्किहाल्यो । ललितपुरको जावलाखेलमा रातोमच्छिन्द्रनाथको भोटोजात्रा देखाउने दिन जुवा फुकाइने भएकाले कफ्र्यु लगाइँदैन थियो । १९९७ साल असार ९ गते भोटोजात्राको साइत थियो । तयारी व्यापक भयो । काठमाडौँको सिफलस्थित टङ्कप्रसाद आचार्यका घरमा पाँच किसिमका पर्चा तयार गरिए । 

पर्चा छर्न जिम्मेवारी बाँडफाँट गरियो । पाटनका लागि पुष्करनाथ उप्रेती र केशवराज कार्की, चाबहिलदेखि बानेश्वर हुँदै भक्तपुरसम्मका लागि मुकुन्दनाथ रिमाल, काठमाडौँ सहरभित्रका लागि धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठ, डिल्लीबजारदेखि महाराजगन्जसम्मका लागि रामहरि शर्मा, बलबहादुर पाण्डे र गोविन्दप्रसादले जिम्मा पाउनुभयो । इतिहासकार भुवनलाल प्रधानले लेख्नुभएको नेपालको जनक्रान्ति नामक पुस्तकमा उल्लेख भए अनुसार केही विद्यार्थीले सहरभित्रको जिम्मा लिए । त्यस दिन कफ्र्यु नलगाइएकाले रातभर पर्चा छरिए ।

भोलिपल्ट उपत्यकाको स्थिति असामान्य बन्यो । राणाशासकले गुप्तचर परिचालन गरे । जनजीवन निकै कडा भयो । गोरखापत्रमा नयाँ इस्तिहार छपाइयो र त्यसमा पर्चा छर्नेलाई पक्राउ गराउनेलाई पाँच हजार रुपियाँ पुरस्कारको प्रलोभन दिइयो ।

करिब चार महिनासम्म अत्तोपत्तो चलेन । कात्तिक २ गते सबैभन्दा पहिले धर्मभक्त पक्राउ पर्नुभयो । उहाँका साथबाट डायरी पनि फेला परियो । त्यसकै आधारमा बाँकीलाई पनि धमाधम पक्राउ गर्न थालियो । कात्तिक ९ गते गोरखापत्रले ‘राजद्रोही दल पकडिए’ शीर्षकमा सामाचार छाप्यो, “हालसालै हाम्रा यहाँ राजद्रोहात्मक पर्चा फैलाउने राजद्रोही दल र सबुत प्रमाणसमेत फेला पारी पक्राउ भएकाले त्यसबारेमा उचित कारबाही हुन लागेको छ । अब इदमित्थ हुन आएको बेहोरा पछि प्रकाशित हुने छ ।”

नेपालको प्रजातान्त्रिक इतिहास–सन्दर्भ पुस्तकमा उल्लेख भए अनुसार काशीमा पुग्नुभएका टङ्कप्रसादलाई समेत पक्राउ गरी काठमाडौँ ल्याइयो । थुनामा रहेका वा तारेखमा रहेकामध्ये करिब दुई सय जना रिहा भए । अधिकांशले सफाइ पाए । केहीले जरिबाना तिर्नु प¥यो । सजाय तोकिन बाँकी रहेका राजबन्दीलाई माघ ७ गते सिंहदरबारको दक्षिण पश्चिमतर्फको मैदानमा उपस्थित गराइयो ।  सबैका अपराधको बेहोरा पालैपालो पढेर सुनाइयो । 

तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ‘यी राजद्रोहीलाई के कस्तो सजाय दिनु पर्ला ?’ भनेर सोध्दा तत्कालीन राजा त्रिभुवनले ‘पनिस्मेन्ट भनेको मडरेट र मडर्नाइज्ड हुनु पर्छ’ भन्ने जवाफ दिनुभयो ।

साँझ ४ बजे सबै राजबन्दीलाई फैसला सुनाइयो । ज्यान सजाय तोकिएका सबैलाई झुन्ड्याउने भनिएको थियो । दशरथ चन्द र गङ्गालालले झुन्डिँदा कायरको मृत्यु हुने हुँदा गोली हान्ने आग्रह गर्नुभयो । आग्रह सदर भयो । कसैको जागिर खोसुवामा प¥यो भने कसैलाई १२ देखि १८ वर्षसम्मको कैद सजाय तोकियो ।

माघ १० गते शुक्रराजलाई मचलीमा फाँसी दिइयो । धर्मभक्तलाई माघ १३ गते सिफलमा झुन्ड्याइयो । माघ १६ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानेर मारियो । माघ १७ गते टङ्कप्रसाद र रामहरि शर्मालाई सिंहदरबारबाहिर जनै चुँडालियो र चारपाटा मुडियो ।  

सहिदको सङ्ख्या १४ हजार ६८० 

मुलुकमा सहिदको सङ्ख्या १४ हजारभन्दा बढी छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४१९ जनाको नाम राजपत्रमा छापिइसकेको छ भने तीन हजार २६१ जनाको नाम प्रकाशित हुन बाँकी छ ।