• १० मंसिर २०८१, सोमबार

महाफोहोरी हाजी

blog

अधिकांश मानिसले आफ्नो जीवनमा यस्तो समय बिताएको हुनुपर्छ जुनबेला नुहाउनु भनेको सकभर प्राथमिकता थिएन । हुनसक्छ समयको अभावले, बिर्सेर वा नुहाउने सुविधा नपाएर त्यसो भएको होला ।

नुहाउनमा केही दिनको ढिलाइलाई कतै नराम्रो मान्नु भएन । जब तपाईंलाई नुहाउन हप्ता दिन वा त्यसभन्दा बढीको समयपछि जाँगर लाग्छ भने चिन्ता लिनुपर्ने हुन्छ र शरीर गनाउन थाल्छ ।तर वर्षौंसम्म ननुहाए वा ६७ वर्षसम्म नुहाइएन भने के होला ?

एक इरानी मानिस अमौ हाजीको जीवन जिउने तरिका यस्तै थियो । उनलाई विश्वको सबैभन्दा फोहोरी मानिस भनिन्छ ।

आधा शताब्दीभन्दा बढी समय हाजी एक यस्तो साधुको जीवन बाँचे जसले स्नान गर्दैनथे, सडकमा मरेका बस्तुभाउ खान्थे र पशुको गोबरको धूमपान गर्दथे । यो कुरा कुनै किंवदन्ती जस्तो लाग्न सक्छ तर हाजी वास्तवमै थिए ।

सन् १९२८ अगस्त २० मा जन्मिएका हाजीले आफ्नो जीवन इरानको देज गाह गाउँमा व्यतीत गरे । उनको वास्तविक नाम कसैलाई थाहा छैन तथा उनको बोलाइने नाम अमौ हाजीको भावानुवाद ‘पुरानो जमानाको मानिस’ हुन्छ । सन् २०२२ अक्टोबर २३ मा ९४ वर्षको उमेरमा हाजीको मृत्यु भयो ।

हाजीको आरम्भिक जीवनका बारेमा त्यति थाहा छैन तर मन कुँडिएपछि आफूले साधु जीवन अपनाएको उनले बताउँथे । गाउँको किनारमा माटोको घरमा उनी बस्दथे तर स्थानीयबीच सुपरिचित थिए र स्थानीयले उनको उपस्थितिलाई अन्यथा मान्दैनथे ।

हाजीले ननुहाउनुको मुख्य कारण के थियो भने साबुन र पानीले नुहाएमा रोग लाग्ने भयले उनी आक्रान्त थिए । यो डर उनीमा यत्तिको जरा गाडेर बसेको थियो कि उनले ६७ वर्षसम्म नुहाएनन् । जसले गर्दा हाजीको छाला धुलो, माटो र पिपसमेतले ढाकिएको थियो ।

एक पटक युवा समूहले हाजीलाई जबरजस्ती नुहाउने कोसिस गरेको थियो तर आफ्नो जिउमा एक थोपा पानी पनि पर्न नदिएर उनी भाग्न सफल भए ।

गाउँमा हाजीलाई नचिन्ने कोही थिएन । ननुहाएको दशकौँ भएपछि हाजीको छाला एकनासको कैलो रङको देखिन थाल्यो तथा उनको कपालसमेत त्यस्तै भए । आफ्नो साजसज्जा बनाइराख्न उनले आफ्नो कपाल र दाह्री आगोले जलाउने गर्दथे ।

नुहाउने डरले मात्र हाजीलाई समाजमा बेग्लै पहिचान दिएको थिएन । उनको आहारा र बानीसमेत विचित्रका र घिनलाग्दा थिए ।

नुहाउने वा हातगोडा धुने कुरा आउँदा हाजीलाई पानीसँग डर लागेको हुनसक्छ तर पिउने कुरामा त्यस्तो थिएन । हाजीले फोहोर भाँडामा राखिएको पाँच लिटर जति पानी दिनहुँ पिउँथे ।

जहाँसम्म खानाको कुरा छ हाजीको खाना खाने बानी सकभर उनको नुहाउने बानीभन्दा घिनलाग्दो थियो । हाजीले आफूलाई कसैले दिएको ताजा खाना खान र पानी पिउन चाहँदैनथे । बरु आफूलाई आवश्यक खाना उनी आफैँ खोज्दथे ।

हाजीले प्रायः सडक किनारमा मरेका जीवजन्तु खाने गर्थे । मृत पशु सिनोमा परिणत भएको भए पनि उनले वास्ता गर्दैनथे । सडेगलेका मासु उनी खान्थे । हाजीले सधैँ काँचो मासु खान्थे तथा के पनि भनिन्छ भने उनलाई दुम्सीको मासु साह्रै मन पथ्र्यो ।

हाजी धूमपानका पनि सोखिन थिए । धूमपानका लागि उनीसँग एउटा पुरानो ‘पाइप’ थियो । त्यस ‘पाइप’ मा उनी सुर्ती हाल्दैनथे, बरु धूमपान गर्न ‘पाइप’ मा जनावरको मल जलाउँथे । उनलाई चुरोटसमेत मन पथ्र्यो तथा एकै पटकमा धेरै चुरोट पिउँदै गरेको उनलाई देख्न सकिन्थ्यो ।

अचम्म मान्नुपर्छ फोहोर पानी र सडेगलेका काँचो मासु खाएर पनि हाजी बिरामी पर्दैनथे । मृत्युको नजिक पुग्दासम्म उनी स्वस्थ नै थिए ।

त्यसो भए हाजीलाई केले बिरामी पारेको होला ? नुहाएर त होइन ? हो, धेरै वर्षपछि नुहाएको केही महिनामै उनको मृत्यु भएको थियो ।

हाजीलाई नुहाउन बाध्य पार्ने पहिलो कोसिसपछि गाउँलेले उनलाई जस्तो छ त्यस्तै अवस्थामा छाडिदिएका थिए । हाजीले ननुहाए पनि गाउँलेले वास्ता गरेनन् तर ९४ वर्षको उमेरमा केही गाउँलेले दयालु भाव देखाए तथा हाजीलाई व्यवस्थित स्नानगृहमा लिएर गए । जहाँ हाजीले ६७ वर्षपछि पहिलो पटक स्नान गरेका थिए ।

यो प्रयास सहृदयी मनले गरिएको थियो तथा यसमा कुनै जालझेल थिएन । वास्तवमा गाउँका मानिसले हाजीको जीवनस्तर सुधार्नका लागि वर्षैांदेखि ससाना प्रयास गर्दै नआएको पनि होइन । उनीहरूले हाजीलाई बस्न माटोको सानो घर बनाइदिएका थिए ।

धेरै वर्षको अन्तरालमा नुहाएपछि हाजीको जीवनमा हल्का परिवर्तन आयो । उनी झुप्रोमै बस्थे र झुत्रा लुगा लगाउँथे । हाजीको सडक किनारमा मरेका जीवजन्तु खाने र फोहोर पानी पिउने बानी हटेन तर चाँडै उनी बिरामी परे र उनको स्वास्थ्य खस्कन थाल्यो ।

स्नान गरेकै कारण हाजीको मृत्यु भएको वा त्यो उनका लागि एक खराब समय थियो, पुष्टि गर्ने कुनै तथ्य छैन । कसै गरी केही महिना बिते र आफ्नै घरमा हाजीले अन्तिम सास लिए । मृत्युका बेला हाजी ९४ वर्षका थिए । 

हाजीको मृत्युपूर्व ‘तेहरान युनिभर्सिटी अफ मेडिकल साइन्सेस स्कुल अफ पब्लिक हेल्थ’ मा ‘परासिटोलोजी’ का प्राध्यापक डा. घोलमरेजा मोलाभीले फोहोरी जीवनशैली भएर पनि उनको दीर्घायुका बारेमा जान्ने कोसिस गरेका थिए । चिकित्सकको निष्कर्ष अनुसार वर्षौंसम्म अत्यन्त खराब र फोहोरी जीवन जिउनाले हाजीको शरीरमा निकै बलियो प्रतिरक्षा प्रणाली विकास भएको थियो । त्यस बलियो प्रतिरक्षा प्रणालीले हाजीलाई निकै अकल्पनीय परिस्थितिमा समेत स्वस्थ बनाइराख्यो ।    

तथापि हाजीलाई एउटा बिमार थियो । आफ्नो जीवनको एक समय हाजीको शरीरमा ट्राइकिनोसिस विकास भएको देखियो । सामान्यतया नपकाइएको मासु खाँदा परजीवीले शरीरमा प्रवेश गरेर यो रोग लाग्ने गर्छ । 

तर यस रोगले हाजीको नियमित जीवनशैलीमा खासै प्रभावचाहिँ पारेन । हाजीले आफ्नो जीवन जतिसुकै दुष्कर बनाएका हुन् तर उनले कहिल्यै कसैलाई क्षति पुर्‍याएनन् । उनी शान्तिप्रिय मानिस थिए । 

–युवामञ्च