• १२ साउन २०८१, शनिबार

मसानघाटमा मायाप्रेमको चर्चा

blog

काठमाडौँ, माघ ७ गते । मञ्चमा आत्महत्या गरेकी युवती (मलिका महत) को अन्त्येष्टिमा चार पुरुष भेला भएको देखिएका छन् । केटीको शरीर चितामा जलिरहेको छ, यता चार पुरुष कार्ड र पेय पदार्थमा लिप्त छन्, ती पुरुषले केटीको मृत्यु कसरी भयो भन्ने रहस्य पत्ता लगाउने प्रयास गर्छन् । यसरी नै अघि बढ्छ नाटक ‘पगला घोडा’ को कथा । मैदानको उदास वातावरणको बिचमा चार जना पुरुषले बिस्तारै आफ्नै प्रेमकथाको जटिलता प्रकट गर्ने विचार गर्न लाग्छन् । कसरी उनीहरूले सधैँका लागि आफ्नो प्रेम गुमाए भनेर पीडादायी कथा सम्झन्छन् ।

शेखर एक मध्यमवर्गीय युवक सपनासँग गहिरो प्रेममा छन् । यद्यपि उनको मिल्ने साथी प्रदीपले भावनाको बदला लिन खोज्छन् भन्ने गलत विश्वासमा उनले सपनालाई प्रदीपसँग विवाह गर्न बाध्य बनाउँछन् । जुन जबरजस्ती विवाहको अन्त्य दुःखद हुन्छ र सपना आफ्नो ज्यान लिन बाध्य हुन्छिन् । नाटकमा अर्का जोडी अशोक र मायाले आधुनिकता र परम्पराबिचको द्वन्द्वलाई प्रतिनिधित्व गर्छन् । धनी पृष्ठभूमिबाट आएकी माया एक सामान्य शिक्षक अशोकसँग प्रेममा छिन् । अशोकले उनलाई परम्परागत पितृसत्तात्मक मान्यता पालना गर्न दबाब दिन्छन्, जसले मायालाई आत्महत्या गर्न बाध्य बनाउँछ । रवि र लक्ष्मी एकअर्काप्रति गहिरो प्रेममा छन् । आफ्नो जागिर गुमाउने डरले रवि समाजसँग उनीहरूको सम्बन्धलाई स्वीकार गर्न अस्वीकार गर्छन् । अन्ततः लक्ष्मीको मृत्यु हुन्छ । 

कथामा एक महिलाको विवाहको दिन एक्लै छोडेर आफ्नो पक्षघातका रोगी बुवाको हेरचाहमा आफूलाई समर्पण गरेको कथा पनि समेटिएको छ । उनको भक्तिको बाबजुद उनीभित्र बढ्दो निराश छाउँदै जान्छ । त्यसपछि उनको भेट कपिलसँग हुन्छ । कपिल गहिरो प्रेममा छन् । उनको मन परिवर्तन गर्न सात दिनका लागि समय पनि माग्छन् तर दुर्भाग्यवश उनले त्यो समय बित्नुअघि नै आफ्नो ज्यान लिइसकेका हुन्छन् । मृतकको भूमिकामा देखिएकी अभिनेतृ मलिका महतको अभिनयले यो पहिलो नाटक हो भन्ने महसुस हुन दिँदैन । उहाँले चारै पात्रलाई मूर्त रूप दिन सक्दो प्रयास गर्नुभएको छ । अन्य चार पात्र आशान्त शर्मा, प्रमोद अग्रहरी, विजय ताम्राकार र विम्ब अधिकारीको अभिनय प्रशंसायोग्य छ । 

नाटकमा समानान्तर कथाले दर्शकलाई उत्सुक बनाउनुका साथै मसानघाटभित्र प्रेमकथाका कुराले झन् दर्शकको मनमा कौतूहलता ल्याउने काम गर्छ । हाम्रो समाजले महिला र पुरुषबिचको सम्बन्धलाई कसरी लिन्छ ? यसले विपरीत लिङ्गीहरूको सम्बन्धलाई कस्तो असर पार्छ र यहीभित्र परिवार र समाजले हेर्ने दृष्टिकोणले कस्तो उतारचढाव ल्याउँछ ? यी सबै कुराको मिश्रित सम्मिश्रण हो, नाटक । भारतीय नाटककार बादल सरकारले सन् १९६० को दशकमा लेख्नुभएको नाटकलाई नेपालीमा शिव खाड ठकुरीले अनुवाद गर्नुभएको छ । घनश्याम श्रेष्ठ निर्देशित नाटकको आलेख सुपरिवेक्षक आशान्त शर्माको रहेको छ ।