• २ कात्तिक २०८२, आइतबार

साहित्यिक गोष्ठीमा रचना वाचनसँगै कविता र गीत विमोचन

blog

कपुरकोट-५ मा आयोजित साहित्यिक गोष्ठी । तस्बिरः शङ्कर केसी

शङ्कर केसी,
शारदा (सल्यान), कात्तिक २ गते ।
सल्यानमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ । दिपावली, छठ पर्व एवम् महाकवी लक्ष्मीप्रसाद देवकोटको जन्मजयन्तीको सन्दर्भमा जिल्लास्तरीय गोष्ठी सम्पन्न भएको हो । शनिबार कपुरकोट गाउँपालिका-५, रिममा आयोजित कार्यक्रममा स्रष्टाहरूको कविता सङ्ग्रह तथा गीति एल्वम विमोचन र चर्चित साहित्यकार, समालोचक एवम् नवप्रतिभाहरूको साहित्यिक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन, रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्ष तथा गीतकार कर्णबहादुर बाँठा, सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी (प्रयास), कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी, साहित्यकार तथा समालोचक डा. पूर्ण भण्डारी पङ्कज, साहित्यकार तथा गीतकार भद्रसिंह बुढा (भास्वर) लगायतले साहित्यको महत्त्वबारे चर्चा गर्दै आफ्नो सृजना प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा साहित्यकार तथा वनस्पति विज्ञ डा. मित्र पाठक (काँचुली) को कविता संग्रह ‘हाँस्न बिर्सिएको मान्छे’ विमोचन गरिएको थियो । वनस्पती अनुसन्धान केन्द्र सल्यानको प्रमुखको रूपमा कार्यरत र साहित्यिक यात्रालाई निरन्तरता दिइरहनुभएका नवलपुर देवचुलीका स्रष्टा पाठकको यो चौथो कृति हो । यस्तै, शिक्षा र कला क्षेत्रमा निरन्तर क्रियासिल भिमसेन बिएमको दुई वटा गीत जेनजी तथा झ्याउरे पनि विमोचन गरिएको थियो ।

साहित्यकारहरू तारादेव शर्मा, जीवन जलन, प्रेम पुन, टोप बहादुर घर्ती, माधव घर्ती, ओमप्रकाश देवकोटा, विष्णु शर्मा, इन्द्र भण्डारी अङ्कित, चन्द्रकमल खड्का, धिरेन्द्र भण्डारी, विरेन्द्रराज गुरुङलगायत करिब तीन दर्जन स्रष्टाहरूले आफ्नो रचना वाचन गर्नुभएको कार्यक्रमको व्यवस्थापक विद्यालय जीवनज्योति नमुना माध्यमिक विद्यालय रिमका प्रधानाध्यापक भुपाल साहुले जानकारी दिनुभयो ।

कपुरकोट गाउँपालिकाको आयोजना तथा वित्तीय सहयोगमा भएको साहित्यिक गोष्ठीमा महाकवि देवकोटाले नेपाली साहित्यमा गरेको योगदानलाई सम्मानसाथ स्मरण गरिएको थियो ।