• १५ असार २०८१, शनिबार

किसानको रोजाइमा केराखेती

blog

किसानले लगाएको केराखेती । तस्बिर :जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, माघ २ गते ।
सुनसरीको विभिन्न स्थानीय तहमा किसानको रोजाइमा केराखेती देखिएको छ । जिल्ला सदरमुकाम इनरुवा लगायतका विभिन्न स्थानीय तहमा एक पटक केरा रोपेपछि तीन वर्षसम्म प्रतिफल पाउने र केरामा लगानी अनुसारको बढ्दो प्रतिफलका कारण किसानले केराखेती रोज्न थालेका हुन् । यहाँका किसानहरु पछिल्लाे समय व्यावसायिक खेतीमा लागेका छन् ।

इनरुवा नगरपालिका ९ बबियामा मात्रै ५० भन्दा बढी किसानले व्यावसायिक केराखेती गरेका छन् । जिल्लामा केही वर्षयता व्यावसायिक केराखेती फस्टाइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । इनरुवाका किसानले सुरु गरेको व्यावसायिक केराखेतीको दैनिक कारोबार नै तीन लाख रुपियाँभन्दा बढीको हुने गरेको बताइएको छ । अन्य खेतीबाट भन्दा केरा खेतीबाट तीन गुणा बढी फाइदा हुने भएकाले यहाँका किसान केराखेतीतर्फ आकर्षित भएको साविक बबिया केरा पकेट सञ्चालक समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो ।

अध्यक्ष मेहताका अनुसार विशेष गरी इनरुवा बजारको नजिक भएको र केराखेती गर्नेहरुले बजारमा छिटो पुर्‍याउन सकिने भएकाले केहीले केराखेती रोजेका छन् । यसैगरी, मानिसको दैनिक दिनचर्या परिवर्तन भएर केरा खानेहरु बढेकाले माग धान्न केरासहित फलफूल खेतीमा किसानको चासो बढेको कृषक सत्यनारायण यादवले बताउनुभयो ।

जिल्लामा केराखेती २० वर्ष अगाडिदेखि गर्न थालिए पनि हाल आएर व्यावसायिक केराखेती थालिएको किसानको भनाइ छ । यहाँ करिब ६ सय हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको र केरा पकेट तथा ब्लक कार्यक्रम सञ्चालन भएकाले थप केराको व्यवसायिक खेतीमा लाग्ने किसान बढेका छन् ।

यहाँ वार्षिक करौडोंको केराको कारोबार भइरहेको छ । यहाँका एक किसानले कममा पाँच कठ्ठादेखि बढीमा १० बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । केराखेती अन्य खेतीभन्दा सजिलो र विषादीको प्रयोग पनि त्यति धेरै गर्नु नपर्ने भएकाले किसानको रोजाइमा केरा परेको कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले बताउनुभयो ।

केरा फलफूलको रुपमा र होटल तथा रेष्टुरेण्टहरुमा पनि केराको विभिन्न परिकार बनाएर बिक्री गर्न थालेपछि केराको माग बढ्दै गएको किसानहरुको भनाइ छ । यहाँ एक हजार एक सय बढी किसानले छ सय हेक्टर क्षेत्रफल जमिनमा केरा खेती गर्दै आएको सिंहको भनाइ छ । नगदे बालीको रुपमा रहेको केरा खेतीको विस्तार र हावाहुरीको जोखीममा रहेको केरा खेतीका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने किसान श्यामसुन्दर यादवको भनाइ छ । यहाँका किसान ‘व्यावसायिक केराखेती’ तर्फ आकर्षित भएपछि खेतीको क्षेत्रफल बढेको छ । जिल्लाको इनरुवा, भोक्राहा नरसिंह, हरिनगर, गढी, देवानगञ्ज गाउँपालिकाका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका केरा किसान जसलाल यादवले बताउनुभयो ।

एकदशकदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका इनरुवा ९ का किसान बुधनारायण मेहताले आफ्नो पाँच बिघा क्षेत्रफलमा उन्नत जातको केरा लगाएको बताउनुभयो । प्रतिबिघा क्षेत्रफलमा केराखेती गर्दा एक लाखभन्दा बढी आम्दानी हुने गरेको मेहताले जानकारी दिनुभयो । एकपटक लगाएको केराले काँटछाँट र उपचार पाइरहेको खण्डमा न्यूनतम तीनदेखि पाँच वर्षसम्म उत्पादन दिने फलफूल विज्ञको भनाइ छ ।