• १५ असार २०८१, शनिबार

हिउँ नपर्दा किसान चिन्तित

blog

सेताम्मे हुनु पर्ने तर धुलाम्मे देखिएको लिमीको हल्जी गाउँ र पृष्ठभुमीका हिमाल तर धुलाम्मे । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, माघ १ गते । 
यस वर्ष हिमाली जिल्ला हुम्लामा हिमपात नभएपछि किसान चिन्तित भएका छन् । हिमपात नहुँदा रोग व्याधि फैलने र खेतमा लगाएको जेठासी बाली (जौ, उवा र गहुँ) नउम्रे पछि किसान चिन्तित भएका हुन् ।

सिमकोट गाउँपालिका–५ की किसान चैती रावतले पहिलो पटक पुस महिनामा हिउँ पर्न नसकेको बताउनुहुँदै यो राम्रो सङ्केत नभएको जिकिर गर्नुभयो । उहाँले हिमपात भएर जताततै सेताम्मे देखिने बेला सुख्खा खडेरी लागेर धुलै धुलो उड्नु कुनै अनिष्टको सङ्केत हुन सक्ने बताउनुभयो ।

कुनै दिन पुस महिनामा घरको छतमा चार पाँच फिट हिउँ जम्ने गरेको स्मरण गर्नुहुँदै रावतले अहिले त्यो सपना जस्तो लाग्न थालेको भनाइ राख्नुभयो । किसानका लागि पुसमा परेको हिउँ राम्रो मानिन्छ ।

यसैगरी, सिमकोट गाउँपालिका–२ का गोरासिंह बोहराले हिमपात नभएका कारण फलफूलका बिरुवा लगाउन समस्या देखिएको बताउनुभयो । उहाँले स्याउ र ओखरका बिरुवा लगाउनका लागि किसानहरूले खाल्डा खनेको भए पनि हिउँ नपर्दा समस्या देखिएको बताउनुभयो । उहाँले हिउँले सेताम्मे हुनु पर्ने डाँडाकाँडा काला र धुलाम्मे देखिन थालेपछि हिउँद लागेको आभास समेत नभएको बताउनुहुँदै मौसममा आएको परिवर्तनको असर हुन सक्ने जिकिर गर्नुभयो । उहाँले पानीका मुहान समेत सुक्न थालेपछि जिल्लाभर खानेपानीको समस्या देखिन थालेको गुनासो गर्नुभयो ।

त्यस्तै, खार्पुनाथ गाउँपालिका–४ का बबरजंग हमालले हालसम्म हिमपात नभएका कारण खेत गह्रामा छरेको जेठासी बाली नउम्रेको बताउनुहुँदै यसले गर्दा किसान निक्कै चिन्तित भएको बताउनुभयो ।

उहाँले पुस महिनामा परेको हिउँ सिला र माघ महिनामा परेको हिउँ बिला भन्ने स्थानीय उखान सम्झँदै यसवर्ष गुच्ची च्याउ पनि राम्रो उत्पादन नहुने बताउनुभयो । यसअघि पुस महिनामा हिउँ नपरेको आफूलाई जानकारी नभएको बताउनुहुँदै हमालले हिउँदमा हिउँ नपर्नु राम्रो नभएको बताउनुभयो । १० वर्ष अगाडि पुस महिनामा चार फिट हिउँ परेर घरको गोठबाट पशु बस्तु निकाल्न नसकिएको सुनाउँदै उहाँले यस पटक भने पुस महिनामा हिउँ नै नपरेको बताउनुभयो ।

जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले हिमपात नभएका कारण रुघाखोकी, निमोनिया र ज्वरोका बिरामी बढेको बताउनुभयो । उहाँले हालसम्म हिउँ नपरेका कारण जताततै धुँवा र धुलो देखिने गरेकाले रोगब्याधी बढी रहेको बताउनुभयो । उहाँले यसले गर्दा मौसमी फ्युलका बिरामीहरू जिल्लाभर वृद्धि भइरहेको बताउनुभयो । उहाँले सुख्खायातमा चिसोका कारण फैलन सक्ने रोगब्याधीबाट सचेत रहन सबैलाई आग्रह गर्नुभयो । कृषि प्राविधिक नेत्रबहादुर शाहीले हिउँदमा हिउँ नपर्नु भनेको जलवायु परिवर्तनको असर भएको बताउनुहुँदै हिमालमा फागुनबाट हिमपात हुन सक्ने बताउनुभयो । हिमपात नभएपछि किसानको चिन्ता स्वाभाविक भएको बताउँदै उहाँले अब खेती प्रणालीमा पनि परिवर्तन ल्याउनु आवश्यक रहेको बताउनुभयो ।