कबिराज घिमिरे
हिले, पुस २८ गते । कृषि अनुसन्धान केन्द्रले यो वर्षलाई लक्षित गरी करिब ४.५ टन गुणस्तरीय गुहको बिउँ उत्पादन गरेको छ। तर उत्पादन भएकामध्ये आधा मात्र गहुँको बिउँ खपत भयो । आधा केन्द्रमै थन्किएका छन् । यो वर्षलाई गहुँ रोप्ने मौसम सकिएकाले बाँकी रहेको बिउँ खपत हुने अवस्था छैन ।
अहिले केन्द्रले उत्पादन गर्ने मकै बाहेक साग, मुला, मुसुरो, तोरी लगायत विभिन्न बालिको मूल बिउँको अवस्था उस्तै छ । जति उत्पादन गर्छ त्यति बिक्री हुने अवस्था छैन । गत वर्षसम्म यसैगरी थुप्रिने मकैको बिउँ यो वर्ष भन्ने उत्पादन भएजति बिक्री भएको छ ।
कृषि अनुसन्धान केन्द्र पाख्रिवासले विभिन्न अनुसन्धानसँगै गुणस्तरीय बिउँ समेत उत्पादन गर्ने जिम्मेवारी पाएको छ । कर्मचारी अभाव, आर्थिक समस्या लगायत विभिन्न समस्याका बाबजुद पनि केन्द्रले बर्सेनि यो कार्यलाई निरन्तरता दिइरहेको छ । तर केन्द्रलाई उत्पादन गरेको बिउँ बिक्री गर्न निक्कै समस्या पर्ने गरेको छ ।
यो वर्षलाई लक्षित गरी उत्पादन गरिएको गहुँ, साग, मुला, मुसुरो लगायतका विभिन्न बालिको बिउँ आधाभन्दा बढी बिक्री नभएर पालिकामै थन्किएको अनुसन्धान केन्द्रका कृषि प्राविधिक सबिन विश्वकर्मा बताउनुहुन्छ । केही वर्ष यता बिउँ बिक्री नहुने अवस्था छ । पहिलेपहिले त बिउँको लागि हारालुछ हुन्थ्यो तर अहिले खपतै नहुन अवस्था आएको प्राविधिक विश्वकर्मा बताउनुहुन्छ ।
तर करिब पाँच वर्ष अघिसम्म अवस्था निक्कै फरक थियो । अहिले उत्पादन भएकोभन्दा दोब्बर बिउँ उत्पादन गर्दा पनि केन्द्रलाई बिउँको माग धान्न मुस्कील हुन्थ्यो । बिउँको लागि आएको विभिन्न जिल्लाका कृषि विकास कार्यालय तथा समूहहरू बिउँ अभावमा रितै फर्कनुपर्ने अवस्था थियो । अहिले भने समन्वय अभावका कारण बिउँ बिक्री हुन छाडेको कृषि अनुसन्धान केन्द्र पाख्रिवासले जनाएको छ ।
आफूहरूले प्रत्येक पालिकालाई बिउँको बारेमा पत्राचार गरेपनि पालिकाहरूले कुनै चासो नै नदिएको कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक तीर्थराज रिजाल बताउनुहुन्छ । “गुणस्तरीय बिउँ उत्पादन गर्छौँ बिउँ, हामी आफैँले कृषकसम्म पुर्याउने कार्यक्रम हुन्न त्यो काम अहिले पालिकाहरूले गर्दछन् हामी पालिकाहरूलाई सूचना पनि गर्छौँ केही पालिका बाहेक अधिकांश पालिका सम्पर्कमै आउँदैनन्” प्रमुख रिजालले भन्नुभयो ।
केन्द्रले उत्पादन गरेको बिउँ विभिन्न प्रयोगपछि सिफारिस गरिने भएकाले गुणस्तरीय र शुद्ध हुन्छ । मूल्य पनि निर्धारण समितिको सिफारिसमा निर्धारण गरी एकरूपता कायम गरिएको हुन्छ । तर बाहिर उत्पादन भएका बिउँ गुणस्तरीय नहुने, मिसावट युक्त हुने लगायतका समस्या छन् । त्यसो त पहिले केन्द्रले उत्पादन गरेको गुणस्तरीय बिउँको प्रचारप्रसार गरी कृषक सम्म पुर्याइदिने जिल्ला कृषि विकास कार्यालय अहिले कृषि ज्ञान केन्द्र भएको छ । यो अधिकार ज्ञान केन्द्रबाट कटौती भएर पालिकामा आएपछि यो समस्या भएको हो । अहिले आफूहरूसँग प्रचार प्रसारको कुनै कार्यक्रम नै नभएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगर बताउनुहुन्छ । “प्रदेश सरकार अन्तर्गतको यो कार्यालयमा अहिले अनुदान बढ्नेदेखि बाहेकका अन्य कुनै पनि कार्यक्रम नै छैनन् पहिलेको सम्पूर्ण अधिकार पालिका अन्तर्गतका कृषि शाखामा छ,” प्रमुख राना भन्नुहुन्छ ।
अनुसन्धान केन्द्रले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कोशीका पहाडी तथा हिमाली १० जिल्लालाई लक्षित गरी बिउँ उत्पादन गर्दै आएको छ । पालिका अन्तर्गतका कृषि शाखाले बिउँ वितरणको गर्ने गरेका छन् । तर केही बाहेक अधिकांश पालिकाले अनुसन्धान केन्द्रको बिउँ प्रयोग नगरी बाहिरैबाट ल्याएर वितरण गर्ने गर्छन् । जसको बिउँ गुणस्तरीय नहुने, मिसावट युक्त हुने लगायतका समस्या कृषकले भोग्न बाध्य छन् । गुणस्तरीय र राम्रो बिउँले उत्पादनमा २० प्रतिशतसम्म वृद्धि हुने गरेको केन्द्रका कृषि प्राविधिकहरू बताउँछन् ।