• २ असार २०८१, आइतबार

कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : सभामुख घिमिरे

blog

राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्नुहुँदै सभामुख घिमिरे । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस २७ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढङ्गले अघि बढ्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्नुहुँदै सभामुख घिमिरेले कृषि सहकारीको माध्यामबाट कृषि क्षेत्रमा लगानी बढाउन र युवाहरुलाई सो पेशामा आकर्षित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रा रैथाने प्रजातिहरु खासगरी कृषि क्षेत्रमा के–के हुन ? तिनीहरुलाई हाम्रो सन्दर्भमा उत्पादकत्व वृद्धिका लागि चाहिने तत्वहरु के हो ? त्यो तत्वहरु उत्पादन गर्ने अथवा त्यसको बजारीकरण गर्ने र त्यसलाई उपलब्ध गराएर सबै किसानहरुलाई त्यो चिजको उत्पादन गर्न प्रेरित गर्ने कामहरु कसरी गर्न सकिन्छ ? यो निश्चय पनि राज्यले, त्यसमा पनि कृषि मन्त्रालयले, त्यसको पनि खास विभागले लामो समयसम्म अध्ययन, अनुसन्धान र यसलाई बजारीकरणको लागि कोशिस गर्दाखेरी पनि हामीलाई चाहिएको मात्राबाट प्रगति गर्न सकिरहेको छैन जस्तो मलाई लाग्छ ।’’


सभामुख घिमिरेले कुनै बेला कृषिमा आत्मनिर्भर भएको नेपाल आज विदेशिको भर पर्नुपर्ने अवस्था आउनु दुःखद् भएको उल्लेख गर्दै त्यस्तो हुन नदिनका लागि कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रको बजारीकरणका लागि नेपालले रैथाने प्रजातिका कृषि उत्पादनमा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘निजी क्षेत्रबाट एउटा सामूहिक प्रयत्न गरेर विज्ञहरुको विचारलाई लिएर यसको प्रवर्द्धन गर्नका लागि, कृषि क्षेत्रको प्रवद्र्धन कसरी गर्न सकिन्छ ? यसमा लगानी गर्नका लागि वित्तीय स्रोत कसरी सङ्कलन गर्न सकिन्छ ? बैंकहरुलाई कसरी प्रयोग गर्न सकिन्छ ? र, यसलाई उत्पादन नहुने ठाउँहरुको माटो परीक्षण गरेर त्यहाँ के उत्पादन गर्न सकिन्छ ? र, अहिले देशमा कृषि क्षेत्र विभिन्न कारणले पछाडि परिरहेको छ । अहिलेका युवाहरु कृषि कार्यमा विकर्षण पैदा भईरहेको छ । उनीहरु कुनै न कुनै ढंगबाट शहरीकरणबाट प्रभावित भएका छन् ।’’

सभामुख घिमिरेले युवाहरुलाई वैज्ञानिक ढङ्गबाट कृषि पेशामा आउनका लागि प्रेरित हुने खालका गतिविधिलाई बढावा दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘हामी कृषि प्रदान देशका जनता । तर हाम्रो कृषि विदेशमाथि निर्भर हुन पुगिरहेको छ । यस्तो बेलामा यो खाद्य बैंकले यसका समस्याहरुलाई पहिचान गर्ने र युवाहरुलाई वैज्ञानिक ढङ्गबाट खेती प्रणालीमा प्रेरित गर्ने, हाम्रा महत्त्वपूर्ण कृषि उपजहरुमा पाईने तत्त्वहरुको संरक्षण गर्ने, अझ त्यसलाई मानिसहरुको जीवनका लागि चाहिने तत्त्वहरुको विकास गर्ने र त्यसको उत्पादनमा बजारीकरण गर्ने, त्यो बजारीकरण गर्नका लागि कृषि सहकारीहरुको माध्यमबाट, साना किसानहरुको माध्यामबाट लगानी गर्ने र साझा कृषिबाली र साझा खेतीमा प्रेरित गर्ने र ठुलाठसलो चक्लाबन्दीका कार्यक्रमहरु ल्याएर कृषिलाई अगाडि लैजाने समेत यसले लक्ष्य राखेको छ ।’’