• १४ असार २०८२, शनिबार

मदन भण्डारी प्रदेशको गौरव : मुख्यमन्त्री लामा

blog

मदन भण्डारीको तस्बिरमा माल्यार्पण गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) । तस्बिर : गोरखापत्र

अनिल पराजुली

हेटौँडा, असार १४ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको योजना भएको बताउनुभएको छ ।

प्रतिष्ठानको पाँचौँ वार्षिकोत्सवलाई शनिबार हेटौँडामा सम्बोधन गर्नुहुँदै स्वास्थ्यकर्मी उत्पादन गर्ने थलो गौरवको विषय भएको उहाँले बताउनुभयो । 

लोकतन्त्र पश्चात् स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आएको स्मरण गर्दै १३ जिल्लाको प्रादेशिक अस्पताल सुधारोन्मुख रहेको बताउनुभयो । पछिल्लो समय प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको उहाँको भनाई छ । हेटौँडा अस्पताल तीन सय शय्यामा सञ्चालन भएको जिकिर गर्दै जनतालाई सेवा दिन सकेकोमा प्रशंसा गर्नुभयो । 

हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसङ्ग जोड्दै उहाँले मदन भण्डारी नामले केही नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘‘ नाम जो–जो नेताको राखेपनि काम सबै जनताका लागि हुनुपर्छ, नाम राख्दैमा केही फरक पर्दैन ।’’ प्रतिष्ठानमा उत्पादन भएका नर्स देशको सेवामा लाग्न पर्नेमा जोड दिर्दै यहाँ उत्पादन भएका स्वास्थ्यकर्मीलाई उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुर बाहेकको दुर्गम जिल्लामा गएर नागरिकको सेवा गर्न आग्रह गर्नुभयो । 

आगामी आवका लागि प्रदेश सरकारले प्रतिष्ठानका लागि ३५ करोड बजेट विनियोजन गरेको जानकारी दिर्दै उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक परे थप बजेट विनियोजन गरेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले औसत भन्दा माथि हुने गरी जनशक्ति उत्पादन गर्न आग्रह गर्नुभयो । उहाँले प्रतिष्ठानले उत्पादन गरेका जनशक्ति अब्बल हुनुपर्नेमा जोड दिर्दै हेटौँडा शिक्षा क्षेत्रमा अगाडि रहेको सन्देश दिन पनि आग्रह गर्नुभयो । 

कार्यक्रममा कार्यवाहक स्वास्थ्य मन्त्री प्रेमभक्त महर्जन, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रकाश पौडेलले हेटौँडालाई मेडिकल सहरको रूपमा चिनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । पूर्वाधारको विकास सँगै स्वास्थ्य क्षेत्रको विकासमा सबै एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

कार्यक्रममा पूर्व उपकुलपति विश्वराज जोशी, रेक्टर भीम सागर गुरागाईँ, प्रतिष्ठान डिन दुर्गा खड्का मिश्र लगायतकाले बोल्नुभएको थियो । सोही अवसरमा प्रतिष्ठानले कर्मचारीलाई सम्मान पनि गरेको थियो ।

प्रतिष्ठानले यसबर्षदेखि ८ सिट प्राप्त गरी स्नातकोत्तर तहका विभिन्न ७ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानका कुलपति प्रा.डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।