गोरखापत्र अनलाइन
काठमाडौं, असार १४ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ज्येष्ठ नागरिकलाई राज्यबाट बृद्धभत्ता प्रदान गर्ने कामको थालनी नै नेपालमा सामाजिक सुरक्षाको जग भएको बताउनुभएको छ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीद्वारा जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको सन्दर्भमा शुक्रबार यहाँ आयोजित ‘जबजको आलोकमा सामाजिक सुरक्षा’ विषयक अन्तर सम्वाद कार्यक्रममा महासचिव पोखरेलले उक्त धारणा राख्नुभएको हो ।
देशको नागरिकको सामाजिक सुरक्षा बलियो बनाउन राज्य बलियो हुनुपर्ने बताउँदै राज्यलाई बलियो बनाउन औपचारिक अर्थतन्त्रको विकास र नागरिकलाई करसँग जोड्नु त्यत्तिकै जरूरी रहेकोमा जोड दिनुभयो । महासचिव पोखरेलले त्यसका लागि सम्पूर्ण आर्थिक कारोबार डिजिटलाइज्ड गरिनुपर्ने बताउनुभयो ।
‘सामाजिक सुरक्षा कार्यक्रम प्रत्यक्ष करसँग जोडिने विषय भएकाले यसलाई प्रभावकारी बनाउन करतिर्ने सामथ्र्यको विकास गरिनुपर्छ’ महासचिव पोखरेलले भन्नुभयो– ‘हामीले आफ्नो आम्दानीमा कर तिर्न आवश्यक छ ।’
नेपालमा सामाजिक सुरक्षा कार्यक्रम लोक कल्याणकारी राज्यको अवधारणा अन्तर्गत २०५१ सालमा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले) को सरकारले ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिन थालेबाट सुरु भएको स्मरण गर्दै महासचिव पोखरेलले यो नै नेपालमा सामाजिक सुरक्षाको जग भएको र अहिले सामाजिक सुरक्षाको दायरा फराकिलो भएको बताउनुभयो ।
सामाजिक सुरक्षा व्यक्तिको सुरक्षासँग जोडिएको विषय भएको र यो हुनेखानेका लागि नभई जीवन चलाउन कठिन निम्न आर्थिक स्थितिका व्यक्तिहरूका लागि भविष्य सुरक्षित बनाउनका लागि आवश्यक भएको उहाँले स्पष्ट गर्नुभयो । लोककल्याणकारी राज्यमा व्यक्ति स्वयम् काम गर्नसक्ने अवस्थासम्म राज्यका लागि हुनुपर्ने बताउनुभयो ।
कतिपय पुँजीवादी र विकसित देशहरूमा सामाजिक सुरक्षा व्यवस्था राम्रो रहेको टिप्पणीहरू सुनिने गरेको सन्दर्भमा महासचिव पोखरेलले आर्थिक सामथ्र्याका आधारमा सामाजिक सुरक्षा प्रदान गर्ने कुरामा ती देशभन्दा नेपाल धेरै माथि रहेको स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेलले पुँजीवाद सङ्कटमा परेपछि प्रजातान्त्रिक समाजवादको अवधारणाले जन्म लिएको र पुँजीवादी देशले पुँजीवादको रक्षाका लागि समाजवादका विशेषता ग्रहण गर्ने क्रममा सामाजिक सुरक्षाको अवधारणाले स्थान पाएको स्पष्ट गर्नुभयो ।
नेपालमा सामाजिक सुरक्षाको आयाम धेरै फराकिलो रहे पनि राज्यको सामथ्र्य नरहन पनि सक्ने अवस्थालाई मध्यनजर गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याइएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले त्यस अर्थमा कोषलाई सुरक्षित र प्रभावकारी बनाउने कुरामा ध्यान दिनुपर्ने बताउँदै योगदानकर्तालाई अधिकतम प्रतिफल दिन सक्नेगरी कोषलाई प्रतिफलमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले २०६२–६३ को आन्दोलनपछि पुनःस्थापित संसदले जे कुराहरूलाई अनुमोदन गर्यो ती सबै जबजका मान्यता रहेको र २०४७ सालको संविधानमा नेकपा (एमाले) ले राखेका २७ बुँदे फरक मत पुनःस्थापित संसदले अनुमोदन गरेको थियो भन्नुभयो ।
नेकपा (एमाले) आठौं महाधिवेशनबाट बहुपदीय सङ्गठनात्मक ढाँचामा गएपछि नेपालका सबैजसो राजनीतिक दल परम्परागत सङ्गठनात्मक प्रणाली छाडेर बहुपदीय प्रणालीमा गएको स्मरण गर्दै महासचिव पोखरेलले विचारसँगै जबजले सङ्गठनात्मक ढाँचाका सन्दर्भमा पनि श्रेष्ठता हासिल गरेको बताउनुभयो ।
कतिपय नेताहरूले गणतन्त्र स्थापनापछि जबजको सान्दर्भिकता सकिएको धारणा राख्ने गरे पनि २०६२–६३ सालको जनआन्दोलनले सामन्तवादी उत्पादन सम्बन्धलाई विस्थापित गर्ने काम गरेको पनि जनवादी व्यवस्थाको सुदृढीकरण गर्दै समाजवादमा पुग्नका लागि जबज नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको उहाँले स्पष्ट गर्नुभयो ।
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले जबजले दिशानिर्देश गरेको बाटोबाट समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्पका साथ एमाले अघि बढिरहेको बताउनुभयो । नेपालमा सामाजिक सुरक्षा कार्यक्रम नेकपा (एमाले) पहिलो पटक सरकारमा पुगेको समयमा लागु गरेको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा यसको दायरा बढाउँदै प्रभावकारी र दीगो बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना गरिएको बताउनुभयो ।
एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको अन्तरसम्वादमा सामाजिक सुरक्षा कोषका निर्देशक कविराज अधिकारी र उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षाको अवधारणा र नेपालको अवस्था, सामाजिक सुरक्षाको औपचारिक प्रादुर्भाव र प्रभाव लगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
एमाले पोलिटव्यूरो सदस्य तथा केन्द्रीय सामाजिक सेवा विभागका प्रमुख सुशीला नेपाल, केन्द्रीय सदस्य रमेश पौडेल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने विभिन्न पेशा, व्यवसाय, श्रम र उद्योग क्षेत्रको प्रतिनिधित्व हुनेगरी सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपत्यका विशेष प्रदेश कमिटीका सचिव मिलन धरेलले गर्नुभएको थियो ।