• १२ साउन २०८१, शनिबार

अधिकांश दिन हल रित्तै

blog

काठमाडौँ, पुस २४ गते । विश्वमा देखिएको आर्थिक मन्दीको असरले अरू क्षेत्र झैँ चलचित्र क्षेत्रलाई नराम्ररी प्रभाव पारेको छ । कुनै बेला हलमा चलचित्र हेर्ने दर्शकको चाप हुन्थ्यो भने अहिले हल खाली देखिन्छन् । नेपाली चलचित्र होस् वा हलिउड, बलिउड हलमा केवल पाँचदेखि १० प्रतिशत दर्शक मात्र भेटिने गरेको अनुभव चलचित्र हल व्यवसायीको छ । 

चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनको भनाइमा केही वर्षपहिलेसम्म चलचित्र हलमा बिदाको दिन अलि दर्शक बढेको देखिन्थे तर पछिल्ला दिनमा बिदाको दिनमा समेत हलमा दर्शक आउन छाडेका छन् । अहिलेको व्यापार हेर्ने हो भने हप्ताको सात दिनमा हलमा दस प्रतिशत दर्शक मात्र भरिने गरेको उहाँले जानकारी दिनुभयो । आर्थिक मन्दी र रोजगारीका लागि युवा पलायन हुँदासमेत चलचित्र हलले दर्शक गुमाउनु परिरहेको छ । यद्यपि यो कुराले खासै फरक नपरेको बिग मुभिजका एसोसिएट सुपरभाइजर (सहयोगी पर्यवेक्षक) प्रकाश पराजुलीले बताउनुभयो । हलमा कुन बार कति दर्शक भन्ने कुरा नयाँ चलचित्र प्रदर्शनले निर्धारण गर्ने उहाँको भनाइ छ । प्रायः बुधबार र बिहीबार पैसामा छुट हुने भएकाले दर्शकको चाप बढ्ने गर्छ । नयाँ चलचित्र प्रदर्शन भयो भने प्रायः सबै बार शतप्रतिशत दर्शक हुन्छन् । 

उहाँले भन्नुभयो, “चलचित्रमा दर्शकको चाप हुने भनेको प्रायः शुक्रबार, शनिबार र आइतबार नै हो । अहिले कुनै पनि नयाँ चलचित्र प्रदर्शन भएका छैनन् । बलिउडका ‘सलार’ र ‘डन्की’ हलमा लागिरहेको छ । अहिले यी दुई चलचित्रमा हप्तामा तीसदेखि चालिस प्रतिशत दर्शक मात्र हुने गरेका छन् तर पहिले हप्तामा प्रदर्शन भएको बेला चलचित्र हाउसफुल थियो, पछि विस्तारै यसमा पनि दर्शक देखिन छाडेका छन् ।” 

माघेसङ्क्रान्तिको मेसो पारेर यही शुक्रबारबाट चलचित्र ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनको तयारीमा छन् । धेरैको आँखा यी दुई चलचित्रतिर छ । खास गरेर पुराना निर्देशक दीपक श्रेष्ठ निर्देशित चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ बाट फेरि नेपाली चलचित्र क्षेत्रमा आशाको दियो बाल्ने धेरैले अनुमान गरेका छन् । यी चलचित्रले नेपाली दर्शकलाई कति तान्न सक्ने हुन् ? त्यो त हेर्न बाँकी नै छ । 

क्युज सिनेमाज्का प्रबन्ध निर्देशक राकेश श्रेष्ठ आफ्नो हलमा प्रायः बलिउड चलचित्र हेर्न आउने दर्शकको भिड हुने गरेको बताउनुहुन्छ । हलमा कति दर्शक आए, गए भन्ने कुरा कस्तो चलचित्र चलेको छ भन्ने कुराले निर्धारण गर्ने उहाँको भनाइ छ । 

टिकटमा छुट दिएको समयमा नै दर्शक चलचित्र हेर्न रुचाउँछन् । अन्य बारमा बलिउड चलचित्रमा दर्शक केही मात्र धेरै हुन्छन् भने हलिउड र कलिउडमा तिस प्रतिशत मात्र हुने गरेको श्रेष्ठले बताउनुभयो । 

अहिले ओटिटिले गर्दा पनि हलमा दर्शकको छाप घटेको छ । एक त जाडोको मौसम, त्यसमाथि कुनै नयाँ चलचित्र प्रदर्शन नभएको समय पनि यही हो । कुन चलचित्र कुन बारभन्दा पनि पछिल्लो समय बलिउड चलचित्र एनिमल पहिलो र दोस्रो हप्तामा हाउसफुलमै भएको आइएनआई सिनमाज् एनबी सेन्टरका प्रबन्ध निर्देशक दीपकराज गिरी बताउनुहुन्छ । चलचित्र एनिमलले हामी हलवालालाई धेरै राहत दिएको छ । चलचित्र दर्शक आउने भनेकै कस्तो चलचित्र प्रदर्शन हुँदै छ भन्ने हो । अहिले खासै चलचित्र प्रदर्शन भएका छैनन्, त्यसैले पनि हलमा दर्शकको चाप एकदमै कम भएको उहाँको भनाइ छ ।