• १५ कात्तिक २०८१, बिहिबार

घरेलु फुटबल एनएसएल

blog

क्रिकेटको अनुसरण गर्दै नेपाली फुटबलमा दुई वर्षअघि फ्रेन्चाई फुटबल लिग सुरु भयो, नेपाल सुपर लिग (एनएसएल) । सन् २०२१ मा पहिलो पटक भएको एनएसएल नितान्त नयाँ प्रयोग थियो । अझ त्यसबेला कोरोनाका कारण खाली रङ्गशालामा एनएसएल खेलाइएको थियो ।  यद्यपि दर्शकबिना पनि एनएसएलको चर्चा व्यापक बन्यो । फ्रेन्चाई (टिम मालिक) को मोडेल, सहरको नाममा टिम र मार्की प्लेयर, खेलाडी लिलामीद्वारा टिम तयार पार्नु, टेलिभिजन प्रसारण अधिकारको बिक्री अनि सहभागी टोलीहरूले पनि थुप्रै प्रायोजकलाई संलग्न गराएर आफ्नो टिमको ब्रान्डिङ गर्नु आदि विशेषताले एनएसएलले नेपाली फुटबलमा भिन्नै स्वाद दिएको थियो ।

एनएसएलमा खेल्ने खेलाडीले तुलनात्मक रूपमा राम्रो मूल्य पाए । खेलाडी फाइभ स्टार होटलको सुविधामा रहे । नेपाली फुटबलमा कर्पोरेट कल्चर भित्रियो । राम्रो व्यवस्थापनमा खेलाडीले शतप्रतिशत दिएर खेलेको देखियो । त्यसले प्रायः सबै खेल स्तरीय र रोमाञ्चक बने । यसबाहेक स्तरीय विदेशीय खेलाडीको आगमनले नेपालमै स्तरीय फुटबलको मजा पनि लिन पाए ।  हुन त एनएसएलले आफ्नो पहिलो संस्करणमै नेपाली फुटबलमा छुट्टै पहिचान बनाएको थियो । त्यसैले पहिलो संस्करण सकिएपछि नै दोस्रो संस्करणको भव्यता र नेपाली फुटबलको स्तरीयतालाई लिएर उहिले नै हल्लीखल्ली भइसकेको थियो तर समयमै दोस्रो संस्करण हुन सकेन । पटक पटक मिति तय गरियो तर प्रतियोगिता हुन सकेन । साढे दुई वर्षपछि मात्र दोस्रो एनएसएल सम्भव भएको हो ।

एनएसएललाई अर्को चुनौती घरेलु फुटबलरको थियो । पहिलो र दोस्रो संस्करणको बिचमा करिब ५० भन्दा बढी शीर्ष नेपाली फुटबलर बिदेसिए । घरेलु फुटबलको सर्वोच्च संस्था एन्फाकै आन्तरिक कलहले पनि नेपाली फुटबल एक किसिमले अधोगतितर्फ अग्रसर थियो । एनएसएलले यी सबै चुनौतीलाई पार गरी दोस्रो संस्करणलाई सफल बनायो भन्दा फरक पर्दैन । डेढ महिना चलेको एनएसएलले गर्दा नेपाली फुटबल चलायमान भयो । एनएसएलले विदेश भासिएका विमल घर्ती मगर, दिनेश राजवंशीलगायत केही खेलाडीलाई आइकनिक प्लेयरका रूपमा फिर्ता बोलाउन सफल भयो । त्यसले एनएसएललाई नेपाली फुटबलको सञ्जीवनी बुटीका रूपमा पनि हेरिन थालिएको छ ।

एनएसएलले दोस्रो संस्करणमा केही थप प्रयोग ग¥यो । प्रतियोगितालाई आकर्षक बनाउन नेपाली फुटबलमा पहिलो पटक चियरलिडर्स सामेल भए । चेयर लिडर्सले दर्शकलाई बेग्लै मनोरञ्जन मात्र दिएन, खेलको माहोल पनि रमाइलो बनाएको थियो । दशरथ रङ्गशालामा यस पटक डिजिटल रनिङ बोर्ड पनि देखियो । विदेशी रङ्गशालामा डिजिटल बोर्ड सामान्य हो तर नेपालमा दशरथ रङ्गशालामा रहेका डिजिटल बोर्डमा विज्ञापन कुदिरहेको दृश्य नेपाली दर्शकका लागि नौलो भयो । विगतमा नभएको फुड कोर्टको व्यवस्था पनि यस पटक गरिएको थियो । दर्शकले खानाको मजा लिँदै खेल हेर्न पाए ।

मैदानभित्रका कुरा 

यसपालि पहिलो संस्करणमा सहभागी विराटनगर एफसीले आफ्नो नाम फिर्ता लियो । पहिलो संस्करण खेलेका अन्य छ टिम काठमाडौँ रेजर्स, धनगढी एएफसी, एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनीसहित नयाँ तीन टिम झापा फुटबल क्लब, स्पोर्टिङ इलाम मेची र वीरगन्ज युनाइटेड एफसी गरी नौ टिमले दोस्रो एनएसएलमा सहभागिता जनाए । सबैले एक से एक टिम तयार पारे । त्यसैले हरेक खेल रोमाञ्चक थिए । प्लेअफमा पुग्ने चारमध्ये तीन टोेलीको निर्णय राउन्डरोविन लिगको अन्तिम दिन हुँदा पनि प्रतियोगिता कतिको रोमाञ्चक थियो भन्ने अनुमान लगाउन सकिन्छ । डेढ महिनाको उतारचढावपछि अन्ततः ललितपुर सिटी एफसी च्याम्पियन बन्यो । ललितपुर सिटी एफसीको राउन्डरोविनमा प्रदर्शन तलमाथि नै थियो । राउन्डरोविनका अन्तिम दुई खेल हारेको ललितपुरको प्लेअफमा पुग्नुमै भाग्यको साथ थियो तर ललितपुर प्लेअफमा फरक टिमका रूपमा प्रस्तुत भयो । अन्तिम खेलमा धनगढी एफसीलाई ३–२ ले हराएर ललितपुरले च्याम्पियन हुने गौरव हासिल ग¥यो ।  यसअघि प्लेअफ अन्तर्गत इलिमिनेट्समा ललितपुरले गत विजेता काठमाडौँलाई ३–० र दोस्रो क्वालिफायरमा १० खेलाडीमा सीमित भएर पनि धनगढीलाई हिस्स बनायो । जसले प्रतियोगिताको अन्त्यतिर ललितपुरको टिम मानसिक रूपमा कति सबल थियो भन्ने प्रमाणित हुन्छ । प्लेअफमा ललितपुर चम्कनुमा नाइजेरियाली स्ट्राइकर इमोह इजिकिएल पनि एक कारण हुनुहुन्थ्यो । इजिकिएलले बेल्जियम, स्पेन, टर्की र कतारमा व्यावसायिक फुटबल खेलिसक्नुभएको छ । यद्यपि प्लेअफअघि उहाँबाट नाम अनुसारको प्रदर्शन भएको थिएन तर इमिमिनेटरमा काठमाडौँविरुद्ध दुई, दोस्रो क्वालिफायरमा पोखराविरुद्ध एक र फाइनलमा पनि दुई गोल गरेर इजिकिएल निर्णायककर्ता बन्नुभयो । इजिकिएलले छ गोलसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट पनि प्राप्त गर्नुभयो ।

एनएसएल जस्तो प्रतियोगिताको च्याम्पियन बन्न ठुलो गृहकार्य गर्नु पर्छ । टिम संरचनामा पर्याप्त ध्यान पु¥याउनु पर्छ । सन्तुलित टिम बनाउनु पर्छ । बेञ्च पनि उत्तिकै बलियो बनाउनु पर्छ । यसबाहेक मैदानभित्रको प्रदर्शन त चाहियो नै । ललितपुरको टिम म्यानेजमेन्टले यी सबै कुराको तारताम्य मिलाएको देखियो । हरेक खेलपछि ललितपुरका खेलाडी, प्रशिक्षकले टिम म्यानेजमेन्टलाई दिएको जसबाट पनि यो प्रमाणित हुन्छ ।

एनएसएल सफल हुनुमा विदेशी खेलाडीको प्रभाव पनि एक हो । प्रतियोगतापूर्व नै प्रशिक्षकहरूले उपाधि जित्न टिमलाई विदेशी खेलाडीको प्रदर्शन निर्णायक हुने धारणा राखेका थिए । जुन सही साबित पनि भयो । यस पटक सहभागी टोलीले छ विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । पाँच जना विदेशी खेलाडी एकै पटक मैदानमा खेल्न पाउने नियम बनाइयो । धेरै नेपाली खेलाडी विदेश पलायन भएकाले पनि यस्तो निर्णय लिइएको थियो । सबै टिमले पाँचै खेलाडीलाई एकै पटक मैदानमा छिराएर सो नियमको भरपुर फाइदा पनि उठाए । एक टिममा आधा जसो विदेशी खेलाडी हुँदा खेलको स्वाद बेग्लै बन्यो र उत्तिकै प्रतिस्पर्धात्मक पनि । दुई टिमको गरी २२ खेलाडी मैदानमा उत्रँदा लगभग आधा जति (१०) खेलाडी विदेशी हुन्थे ।

विदेशी खेलाडीमा सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकप खेलेका घानाका खेलाडी अफ्रिए एक्वाह पनि हुनुहुन्थ्यो । पोर्चुगलविरुद्ध २–१ ले पराजित भएको खेलमा उहाँ वैकल्पिक खेलाडीका रूपमा विश्वकपमा पदार्पण गर्नुभएको थियो । इजिकिएलको व्यावसायिक फुटबल जीवनको माथि नै चर्चा भइसकेको छ । काठमाडौँका लागि क्यामरुनका जुनियर एन किनगुए, भारतीय निखिल कदम ललितपुरका लागि फ्रान्सेली लिग खेलिसकेका गोलरक्षक जेफ्री बोल्टन, फ्रान्सकै पापा इबोउ केबे, नाइजेरियाली ओमालोजा करिम, वीरगन्जका विलियम ओपोकुले पनि आआफ्नो छाप छोड्नुभयो । उपविजेता धनगढीका लेवनानी गोलरक्षक मोहम्मद ताहा र स्ट्राकर अहमद हिजाजी पनि चम्किनुभयो । घानाका रफिक अमिनु र टोरिक जेब्रिनले पनि निराश पार्नुभएन । झापाका सर्वियाली गोलरक्षक स्टेफन क्युपिक सर्वश्रेष्ठ गोलरक्षककै होडमा हुनुहुन्थ्यो ।

यस पटकदेखि सबै टिम विदेशी खेलाडीका भरमा मैदानमा उत्रिएपछि कुनै टिम कमजोर देखिएन भन्दा हुन्छ । विदेशी खेलाडीहरूले दर्शकलाई व्यावसायिक फुटबलको मजा दियो । खेलकौशलको मामिलामा विदेशी खेलाडी हामीभन्दा धेरै अगाडि छन, यसमा कसैको दुई मत हुन सक्दैन । प्राविधिक रूपमा राम्रा विदेशी खेलाडीसँग यसपालि खेलेपछि नेपाली फुटबलरहरूले पनि राम्रो अनुभव प्राप्त गरे । 

विगतमा औसतखाले आयातित फुटबल नेपाल आउने गरे पनि यस पटक सबै टिमले एक से एक स्तरीय विदेशी खेलाडी अनुबन्ध गरेका थिए । विदेशी खेलाडीको दबदबा हुँदाहुँदै पनि नेपालका अनन्त तामाङ, देवेन्द्र तामाङ, एरिक विष्ट, सुरज ज्यु ठकुरी, रोहन कार्की, आयुष घलान, दीप कार्की, शेशेहाङ आङदेम्बे, सुमित श्रेष्ठलगायत केही घरेलु खेलाडी पनि चम्किनुभयो । ललितपुरका कप्तान अनन्त त प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । रोहनले पनि इमर्जिङ प्लेयरको सम्मान पाउनुभयो ।

रेफ्रीका विवादास्पद निर्णय

प्रतियोगितामा विवादित एक मात्र पक्ष रेफ्री थिए । सबैजसो टिमका प्रशिक्षक प्रायः खेलपछि रेफ्रीप्रति आव्रmोशित बनेको देखियो । अधिकांश खेलपछि रेफ्रीका निर्णयप्रति प्रश्न तेर्सिएका थिए । यस पटक एनएसएलमा रेफ्रीका केही विवादास्पद निर्णयले जितहारकै फरक पारेको पनि थियो । पहिलो संस्करणमा रेफ्री विवादमा तानिएपछि यस पटक केही भारतीय रेफ्री पनि भिœयाइएको थियो तर पनि रेफ्री विवाद यस एनएसएलमा पनि टुङ्गिएन ।