नेतृत्व वर्गले के भन्ला भनी चिन्ता नगरी निर्धक्कसँग आफ्नो विचार राख्ने र मुलुकका लागि प्रगतिशील मार्ग देखाउने राजनीतिक व्यक्तित्व कमै हुन्छन् । ठुला ठुला राजनीतिक परिवर्तनपछि नेपाली समाजले किन तीव्र विकासको गति लिन सकेन, बहुसङ्ख्यक नेपाली जनताको जीवनस्तर किन सुधार हुन सकेन भन्ने प्रश्न यतिखेर जल्दोबल्दो छ । मुलुकको नेतृत्व समालिरहेका प्रमुख राजनीतिक दलहरू मुलुक बनाउन कहाँ कहाँ चुके भन्ने सवालमा स्पष्ट धारणा लिपिबद्ध गर्दै सम्भावनाको दियो बालेका पुराना वरिष्ठ वामपन्थी नेता, लेखक तथा पत्रकार लोककृष्ण भट्टराईले ‘निर्वासन’ (एक्जाइल) पुस्तक सार्वजनिक गर्नुभएको छ । कम्युनिस्ट नेताहरू माक्र्स, लेनिन र पुष्पलालको प्रवासका विषयलाई केन्द्रमा राखेर लेखिएको यो पुस्तकमा मूलतः माक्र्सवादी दर्शन र पुष्पलालका विचारलाई केन्द्रमा राखिएको छ । पुस्तकमा नेपाली कम्युनिस्ट आन्दोलन र मुलुकको राजनीतिले सोचे जस्तो र चाहे जस्तो नतिजा दिन नसकेको निष्कर्ष प्रस्तुत गरिएको छ ।
माक्र्स, लेनिन र पुष्पलालले निर्वासनमा बसेर कम्युनिस्ट दर्शन, साहित्य, सङ्गठन गरेका थिए, यसको यथार्थ वर्णन ‘निर्वासन’ मा गरिएको छ । सात दशकको जीवन व्यतीत गरिरहेका भट्टराईको यो पुस्तक दोस्रो कृति हो । यसअघि नेपाली संस्कृति र सभ्यतासँग सम्बन्धित ‘नेपाली सभ्यता : विगत र वर्तमान’ नामक कृति प्रकाशित भएको थियो ।
पुस्तकको मन्तव्य शीर्षकमा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ लेख्नुहुन्छ, “पुष्पलालको जन्म शताब्दी पारेर प्रकाशित गरिएको यस पुस्तकले पुष्पलाल नेपालको मात्र जनवादी नेता होइन, दक्षिण एसिया र विश्वकै एक होनहार कम्युनिस्ट नेता हो भन्ने प्रमाणित गर्छ र यसमा विदेशीहरूका भनाइसमेत समावेश गरिएकाले यो पुस्तक सङ्ग्रहणीय रहेको छ ।”
प्राडा हेमनाथ पौडेल ‘वैचारिक दृष्टि र अनुभवको सुन्दर प्रस्तुति’ शीर्षकमा आफ्नो मन्तव्य लेख्नुहुन्छ, “यस कृति अध्ययनबाट नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको सन्दर्भ र पुष्पलालको योगदानका सम्बन्धमा नयाँ जानकारीहरू प्राप्त भएका छन् । प्रवासमा पुष्पलालको खोजका क्रममा पुष्पलाल रहेबसेका कार्य गरेका नेपाल–भारतका विभिन्न स्थलको भ्रमण गरी जुन तथ्यहरू बटुलिएको छ, त्यसबाट उत्खननको कार्य नै भएको देखिन्छ ।”
वरिष्ठ पत्रकार युवराज घिमिरेले ‘आफ्नै शैलीको उपयोगी पुस्तक’ भनी मन्तव्य लेख्नुभएको छ । पुस्तक लेख्ने क्रममा लेखकले दक्षिण एसिया र युरोपको यात्रा गरी तिनै जना व्यक्तित्वको जन्मस्थल र कार्यस्थलको अवलोकन गर्नुभयो । उहाँले त्यसको जानकारी यस पुस्तकमार्फत पाठकलाई गराउनुभएको छ । यो पुस्तकका धेरै पन्ना चित्रमय भएकाले यो पुस्तक बालकदेखि ज्येष्ठ नागरिकसम्मलाई स्वतः आकर्षिक गर्ने खालको छ । यस पुस्तकमा भट्टराईले कम्युनिस्ट एकताको खाँचो औँल्याउनुभएको छ । यसका साथै संविधान संशोधन गरी नेपाललाई समृद्ध बनाउन अग्रसरता लिन पनि घचघच्याउनुभएको छ ।
उहाँले पछिल्लो अवधिमा खास गरी गणतन्त्र प्राप्तिपछिका वर्षमा देखा परेको नेपाली राजनीतिको अवस्था र त्यसका परिदृश्यलाई तथ्यगत रूपमा प्रस्तुत गर्नुका साथै तिनमा आफूले खेलेको भूमिका, प्रवासमा पुष्पलालको खोज सन्दर्भ तथा युरोप यात्राका क्रममा माक्र्सको जन्मस्थल र समाधिमा पुग्दाको अनुभवलाई समावेश गर्नुभएको छ ।
तीन खण्डमा विभाजन गरेर पुस्तक लेखिएको छ । पहिलो खण्ड नेपाली राजनीति, नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलाल शीर्षकमा छ । दोस्रो खण्ड युरोप भ्रमण : लेनिन र कार्लमाक्र्स शीर्षकमा तथा तेस्रो खण्ड चाहिँ समापन शीर्षकमा रहेको छ । पहिलो खण्डमा गणतन्त्रपछिको नेपाली राजनीतिक अवस्थालाई चिरफार गरिएको छ । यस क्रममा हाम्रो नेतृत्व कहाँ चुक्यो भन्ने कुराको गहन विश्लेषण गरिएको छ ।
भट्टराईले तत्कालीन नेतृत्वले २०७२ को संविधान निर्माणका क्रममा आमसहमति जुटाउन नसक्दा र दोस्रो संविधान सभाको गठनपश्चात्का अवधिमा मधेशी दलका साथै आन्दोलनमा प्रत्यक्ष सहभागी भएका कतिपय वाम समूहसमेतलाई मूल प्रवाहबाट बाहिर रहने परिस्थिति सिर्जना गर्दा वर्तमान संविधानमा सबैको अपनत्वबोध हुन नसकेको तर्क पेस गर्नुभएको छ । यस क्रममा विभिन्न उपशीर्षकमा नेपालको राजनीतिमा भएका विभिन्न घटना र सन्दर्भलाई प्रस्तुत गर्नुका साथै आफूले गरेका प्रयत्न र प्रयासलाई पनि उहाँले यहाँ उल्लेख गर्नुभएको छ ।
उहाँले पुस्तकमा वाम एकतामा जोड दिँदै भन्नुभएको छ, “वाम एकताको म वकालत गर्दै छु । त्यसैले म कम्युनिस्ट पार्टीका नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, मोहन वैद्य, मोहनविक्रम सिंह, माधव नेपाल, झलनाथ खनाल, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत २२ वटै कम्युनिस्ट पार्टीहरूलाई देश निर्माण गर्ने हेतुले सके एउटै पार्टी बनाउने, नसके वाममोर्चा बनाएर नेपालको सामन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवाद विरोधी क्रान्ति सफल पार्न र समाजवाद निर्माण गर्नतर्फ लाग्नुहोस् भन्छु । यसका लागि यो तीन महामानवको निर्वासनको इतिहास भएको किताबले प्रेरणा देओस् ।”
पहिलो खण्डमै नेपालको राजनीतिक इतिहास र पुष्पलालको योगदानका बारेमा आफ्ना विचार उल्लेख छ । यही क्रममा पुष्पलाल स्मृति–प्रतिष्ठान गठनको प्रसङ्ग र पुष्पलालको प्रवासमा खोजको क्रममा गरिएको नेपाल–भारतका विभिन्न स्थानको भ्रमण र छायाङ्कनका सन्दर्भ तथा भारतीय नेता र पुष्पलालसँग सङ्गत गरेकाले पुष्पलालका बारेमा गरेको मूल्याङ्कनलाई प्रस्तुत गरिएको छ ।
यस कार्यमा स्वयम् लोककृष्ण भट्टराईको नेतृत्वमा देवशङ्कर पौडेल, श्रीहरि श्रेष्ठ, किरण मोक्तान, सचितानन्द राई र सावित्री भट्टराई आदिको मुख्य योगदान रहेको छ । त्यसै गरी रामेछापका कैलाश ढुङ्गेल, ज्ञानकुमार श्रेष्ठ, रमेशबाबु श्रेष्ठलगायतका नेता, कार्यकर्ता र भारत प्रवासमा रहेका विभिन्न व्यक्तित्वको समेत सहयोगमा प्रवासमा पुष्पलालको खोज भएको उल्लेख छ । पुष्पलालको खोजका क्रममा रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक, काठमाडौँ, कोलकाता, बनारस, दिल्ली, पटना, दरभङ्गा, दार्जिलिङ, सिलिगुडी, रक्सौल, गोरखपुर, गौरीफन्टा, वनवासा, देहरादुन, आसाम, मेघालय आदि नेपाल–भारतका स्थानमा पुगेको र ऐतिहासिक तथ्य बुझ्दै, बटुल्दै छायाङ्कन गरिएको उल्लेख छ । दोस्रो खण्ड युरोप भ्रमणको अनुभव तथा लेनिन र कार्लमाक्र्ससँग सम्बन्धित छ । यस क्रममा कार्लमाक्र्सको जन्म र समाधिस्थल पुग्ने ६२ वर्षदेखिको आफ्नो प्रबल इच्छालाई पूरा गर्न पाएकोमा खुसी भएको प्रसङ्गका साथ छोरी शैलुको निम्तामा भट्टराई दम्पती फिनल्यान्ड गएको, त्यस क्रममै युरोप भ्रमण गरी लेनिनका साथै कार्लमाक्र्सको जन्मस्थल र समाधिमा समेत पुगेको बयानका साथ त्यहाँका विशेषताको वर्णन गरिएको छ ।
पुस्तकमा विभिन्न मुलुक भ्रमण गर्दाका अनुभव, अनुभूति र विकास संरचनालाई वर्णन गरिएको छ । यस यात्रा वृत्तान्तले सम्बन्धित मुलुकको अवस्थिति, जनजीवन, संस्कृति, राजनीति र ऐतिहासिक पक्षलाई उजागर गरेको छ र यस क्रममा नेपालका पनि कतिपय सन्दर्भलाई प्रसङ्गवश जोडिएको छ । भारतको दरभङ्गास्थित पुष्पलालको पार्टी कार्यालय र नेपाल कम्युनिस्ट पार्टीको दरभङ्गा प्लेनम भएको स्थानको चर्चा गरिएको छ ।
दोस्रो खण्डमै लेनिनका राजनीतिक गतिविधि र कार्लमाक्र्सको जन्म र समाधिस्थलको अवलोकन गर्ने क्रममा माक्र्सको जीवनी, उनले प्रतिपादन गरेको दर्शन र उनका योगदानलाई समेत प्रस्तुत गरिएको छ । यस क्रममा जोडिएका लेनिन र अन्य दार्शनिक चिन्तक, राजनीतिक नेता र व्यक्तिको समेत चर्चा यसमा भएको छ । यस हिसाबले दोस्रो खण्ड पनि निकै पठनीय र जानकारीमूलक बनेको छ । तेस्रो खण्डमा लेखकले दुवै खण्डका निष्कर्षलाई प्रस्तुत गर्नुभएको छ । उहाँका विचारमा आर्थिक क्रान्ति र समतामूलक समाज सिर्जना गर्न जनताको जनवादी वा समाजवादी गणतन्त्र आवश्यक छ ।
यसै सन्दर्भमा उहाँले भन्नुभएको छ, “आफूलाई समाजवादी भन्ने नेपाली कांग्रेसको दलाल पुँजीवाद र प्रभुत्ववाद परस्त चरित्रमा सुधार आओस् । बिपी र पुष्पलालले निर्वासनमा रहँदा खाएको कसममा पुष्पलालले बहुदलीय राजनीतिक पद्धति मान्ने र बिपीले माक्र्सवादमा आधारित समाजवादी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र मान्ने जुन प्रण हो, त्यही प्रणतर्फ सबै दल आउँछन् भन्ने मैले आशा लिएको छु ।” यो पुस्तक राजनीतिक दस्ताबेज र नियात्राको कृति हो । यसमा लेखकका वैयक्तिक, पारिवारिक सन्दर्भ पनि आएका छन् । लेखनका क्रममा निजी घटनासँग सम्बन्धित संस्मरणले पनि स्थान पाएका छन् । यस कृतिमा नेपालको राजनीतिक विश्लेषणमा होस् वा खोज अध्ययन अथवा युरोप भ्रमणको सन्दर्भको लेखनमा होस् लेखकले आफ्नो निश्छलता र इमानदारितालाई पालना गरेको देखिन्छ । वर्णनात्मकता भए पनि भाषिक सरलता, प्रस्तुतिमा सरसता एवं वैचारिक सुस्पष्टताले गर्दा पुस्तक पठनीय बनेको छ ।
समग्रमा नेपाली कम्युनिस्ट आन्दोलनमा पुराना र इमानदार नेताका रूपमा परिचित भट्टराईले लेख्नुभएको यो कृति विशेषतः सत्तरीको दशकपछिको नेपालको राजनीतिक अवस्था र उहाँका विचार बुझ्न महत्वपूर्ण सामग्री बनेको छ । वस्तुतः यो पुस्तक वैचारिक दृष्टि र अनुभवको एउटा सुन्दर प्रस्तुति हो ।