एउटा सानो पहाडी भेगको र त्यसमा पनि एक निर्धन राज्यका रूपमा थियो गोरखा । निर्धन राज्यको राजा भएकैले धनी राज्यका राजाहरूले गोरखाली राजालाई आफ्नी कन्या दिनसमेत आनाकानी गर्थे । यस्तो समस्या भोग्नेमध्ये गोरखा राज्यका संस्थापक द्रव्य शाहका नाति चर्चित राजा राम शाह पनि पर्छन् । आफ्ना लागि कन्या माग्न जाँदा पर्वतका राजा राज मल्लले अपमान गरी उनलाई खाली हात फर्काइदिएका थिए । उनको यस्तो अवस्था देखेर राजपाठ छाडी धर्मकर्ममा लागेका राज मल्लका बुवा नारायण मल्लले आफूद्वारा पालेर राखिएकी भान्जी (मुसीकोटे राजाकी छोरी) सँग राम शाहको विवाह गराइदिएको इतिहासकार दिनेशराज पन्तको ‘गोरखाको इतिहास’ पहिलो भाग (२०४१ः८३–८४) पढ्दा थाहा पाइन्छ । त्यसबेला धनी राज्यमध्येको एक थियो, मकवानपुर । त्यहाँकी सेन राजकन्या इन्द्रकुमारीसँगको विवाहका क्रममा उत्पन्न विवादकै कारण पृथ्वीनारायण शाहको ससुराली राज्यसँगको सम्बन्ध कहिल्यै मित्रवत् हुन सकेन । विसं १८१९ मा पृथ्वीनारायण शाहले मकवानपुर राज्य नै कब्जा गरिदिए । उनी कतिसम्म क्रुद्ध बनेका थिए भने मकवानपुर राज्य हात लिइसकेपछि आफ्ना जेठान अर्थात् विस्थापित मकवानपुरी राजा दिग्वन्धन सेन, उनकी रानी र उनका सात भाइ छोरालाई कुनै दयामाया नगरी पक्राउ गरेर पृथ्वीनारायण शाहले कडा कैदमा राखेको इतिहासकार ज्ञानमणि नेपालले ‘नेपालको महाभारत’ (२०५२:२१) मा उल्लेख गरेका छन् ।
एक निर्धन पहाडी राज्यको राजा भए पनि सुरा र महत्वाकाङ्क्षी राजाका रूपमा पृथ्वीनारायण शाहको उदय हुन पुग्यो । विसं १७९९ मा आफू राजा हुनासाथ उनी राज्य विस्तार अभियानतिर अग्रसर भइहाले । उनको पहिलो नजर नुवाकोटमाथि प¥यो । त्यसबेला नुवाकोट कान्तिपुर अधिनस्थ थियो तर पहिलो युद्धमा गोरखालीको हार भयो । दोस्राे पटक आव्रmमण गर्दा विसं १८०१ असोजमा गोरखालीले नुवाकोट कब्जा गरे । नुवाकोट कब्जा गरिए उपत्यकालाई ठुलो आर्थिक सङ्कट उत्पन्न गर्न सकिन्थ्यो । नुवाकोटलाई उपत्यकाको पश्चिमी ढोका भन्न पनि सकिन्थ्यो । नुवाकोट कब्जा गरेको खण्डमा कान्तिपुरको भोटसँग हुने व्यापारमा नाकाबन्दी लगाउन पनि सकिन्थ्यो (त्रिरत्न मानन्धर, ‘नेपाल परिचय’–२०३२ः१७९–८०) ।
यताबाट हेर्दा पृथ्वीनारायण शाहले आफ्नो राजनीतिक यात्रामा आर्थिक पक्षलाई निकै ठुलो महत्व दिएको देखिन्छ । यसै महत्वलाई बुझेर उनले सबैभन्दा पहिले नुवाकोटमाथि आँखा लगाएका थिए ।
विसं १८०१ मा नुवाकोट जितेपछि उनले यसै ठाउँलाई लामो समय राजधानी बनाएका थिए । विसं १८२५ मा कान्तिपुर जितेपछि त्यतैतिर राजधानी सारे । यसरी उनले २५ वर्षसम्म नुवाकोटलाई कर्मथलो बनाए । त्यहीँबाट उनले आर्थिक महत्वका कामहरू सुरु गरे ।
उनले नुवाकोटमा दुई वटा दरबार बनाएका थिए । माथिल्लो नुवाकोटको डाँडामा उनको गृष्मकालीन दरबार थियो भने माडी, शेराबेँसीमा शीतकालीन दरबार थियो । तीमध्ये माथिल्लो दरबार विसं १८१९ र शेराबेँसीको दरबार १८२२ मा निर्माण गराएका हुन् । यी दरबार निर्माण नहुन्जेल उनी मल्लकालमा बनेको एक रङ्गमहलमा बसेर काम चलाउँथे (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’–२०३२ः७४) ।
नुवाकोटमा बसेर उनले राजनीतिसँगै आर्थिक तथा व्यापारिक काम पनि अगाडि बढाएका थिए । यस क्रममा उनले नुवाकोटमै बसेर पहिलो पल्ट गोरखा राज्यको मुद्रा चलाएका थिए । मुद्रा चलाउनका लागि उनले तिब्बतबाट सुन आयात गर्ने अनि भारतीयलाई बिक्री गरी त्यताबाट चाँदीको मुद्रा आर्जन गरी त्यसलाई पगाली आफ्नो राज्यको नाममा मुद्रा निष्कासन गर्ने गरेका थिए । गोरखाली शाहवंशी राजामध्ये उनी नै आफ्नो राज्यको मुद्रा चलाउने पहिलो राजा हुन् ।
सुन खरिदबिक्री
आफ्नो राज्यको व्यापार र आय बढाउन पृथ्वीनारायण शाहले सुन कारोबार गरेका थिए । उनले तिब्बतबाट सुन आयात गर्ने र भारततिर बिक्री गर्ने प्रबन्ध मिलाएका थिए । यसका लागि उनले भक्तपुर राज्यसँग सहकार्य गरेका थिए ।
भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेका थिए, पृथ्वीनारायण शाहले । त्यसै बेला भादगाउँमा आएर व्यापार चलाउने सन्न्यासी व्यापारी कमल वनसँग राजा रणजित मल्लमार्फत पृथ्वीनारायण शाहले ऋण पनि लिएका थिए । यसबापत उनले केही राज्य कब्जा गरेर मितबुवालाई दिने वाचा गरेका थिए । पृथ्वीनारायण शाहले काठमाडौँ ठकुराईबाट खासासम्मको कुतीमा जाने मार्ग विसं १८०३ मा दखल गरी भक्तपुरका राजालाई दिएका थिए र भक्तपुरका व्यापारीसँग मिलेर कुतीपट्टिबाट उनले सुनको व्यापार आरम्भ गरेका थिए । त्यो बेला आफ्नो मुद्रा नभएकाले व्यापारमा उनले भक्तपुरका मुद्रा चलाएका थिए ।
एकातिर उनले आफ्नो वाचा अनुसार केही स्थान कब्जा गरेर मितबुवालाई समर्पण गरे भने त्यही भूमि अर्थात् व्यापारिक मार्ग उपयोग गरेर उनले आफ्नो व्यापार पनि सञ्चालन गरे (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’–२०६१:४७४)। यसबाट उनको राजनीतिक मात्रै होइन, रणनीतिगत रूपमा आर्थिक चातुर्य पनि स्पष्ट हुन्छ ।
विसं १८०१ मा सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र दोलखामा समेत एकलौटी अधिकार गरेपछि यसतर्फबाट हुने सुनको व्यापार आफ्ना हातमा लिएर पृथ्वीनारायण शाहले भक्तपुरका राजाका तिब्बतस्थित वाणिज्यदूत हरिदेव पण्डितलाई नै आफ्नो पनि वाणिज्यदूत बनाए (आचार्य, २०६१:४७४–७५)।
सुन र नुनका लागि भोट (तिब्बत) उसबेलैदेखि प्रख्यात थियो । पृथ्वीनारायण शाहले त्यसबेला तिब्बतबाट सुन ल्याउन हरिदेव पण्डितलाई आदेश दिएका थिए (नयराज पन्त र अरु (सम्पा.) ‘पृथ्वीनारायण शाहको उपदेश’–२०२५:९६७–६८)।
इतिहासकार देवीचन्द्र श्रेष्ठले राष्ट्रिय अभिलेखालयको मुखपत्र ‘अभिलेख’ को वर्ष ३१, पूर्णाङ्क ३१ (२०७०:६१) मा पृथ्वीनारायण शाहले सुन खरिदका लागि हरिदेव पण्डितलाई दिएको आदेशसम्बन्धी पत्रको छायाप्रति छपाएका छन् ।
उनको सुन कारोबारसम्बन्धी हरिदेव पण्डितलाई दिएको आदेशको सार यस्तो छ :
...चाडो गर्नुपर्ने काम हो ढिला नगर । भोटले तोलाको १८ रुपैयाँमा दिन्छ भनेर खबर पठायौ, १६ रुपैयाँमा मिलाऊ । कुटेको फुकेको नभई शुद्ध सून लेऊ । पित्तलको धुलो मिसिएको हुन्छ होशियार हुनू । तोलाको १६ रुपैयाँमा दिएन भने इक सुका पनि थप । त्यतिमा पनि दिएन भने तोलाको १७ रुपैयाँ पनि लगाऊ । तोलाको १७ रुपैयाँमा मिल्यो भने १२ देखि १५ हजार तोलासम्म सुन खरिद गर्ने आँट गर ।
माडी मुकामबाट लेखिएको यो पत्रमा फागुन सुदी ६ रोज ५ तिथि लेखिएको उल्लेख छ । पात्रो अनुसार यो आदेश विसं १८१३ फागुन १७ गते बिहीबार लेखिएको देखिन्छ ।
यो पत्र लेखेको एक महिना पनि नबित्दै उनले अर्को पत्र हरिदेव पण्डितलाई पठाए । पहिले तोलाको १७ रुपियाँमा मिले १२ देखि १५ हजार तोलासम्म सुन किन्ने आँट गर्न आदेश दिएका उनले चैत १२ गते लेखेको पत्रमा तिब्बती व्यापारीले तोकेको तोलाको अधिकतम मूल्य १८ रुपियाँ लगाएर भए पनि सुन खरिद गर्न आदेश दिएका छन् । यसबाट सुन खरिद गर्न उनले हतारो देखाएको देखिन्छ ।
पत्रमा पृथ्वीनारायण शाहले उत्तर (तिब्बत) बाट आएको सुन दक्षिण (मधेश) तिर बेच्ने गरेको र मधेशबाट सुनका लागि व्यापारी (महाजन) का मानिस आउने गरेको सङ्केत पनि गरेका छन् । पत्रमा “मधेशबाट महाजनका मानिसहरू रुपियाँ लिकन यहाँ आइरह्याछन् टक्सार चलाउनु प¥यो अठारैलाई पनि आँट गर” (पन्त र अरु, २०२५:९६९–७१) भन्ने परेबाट पृथ्वीनारायण शाह भोटबाट सुन किन्थे र मधेश अर्थात् भारततिर सुन बेच्थे भन्ने स्पष्ट हुन्छ । पत्रमा टक्सार चलाउनु प¥यो भन्ने उल्लेख भएकाले सुन बेचेर आफ्नै मुद्रा निकाल्न चाँदीका मुद्रा नै सङ्कलन गर्ने धारणा व्यक्त गरेको स्पष्ट देखिन्छ ।
तराई क्षेत्रलाई आफ्नो अधिकारमा लिएपछि त्यता आफ्नो मुद्रा चलाई मुगल बादशाहका मुद्रा खिचेर काठमाडौँको टक्सारमा ल्याई त्यसलाई मासी उनले नेपाली मोहरको मुद्रा ढाल्ने नियम बनाएका थिए; जसका कारण आफ्ना राज्यभर एउटै मुद्रा चलनचल्तीमा आओस् । उनले तिब्बततिरबाट आएको सुन राजकोषमा थन्क्याउनका लागि किन्ने गरेका थिएनन् । उनले आफूले खरिद गरेको सुन विदेशी व्यापारीलाई बेचेर नाफा कमाउने उद्देश्य राखेका थिए (आचार्य, २०६१:४७६) ।
पृथ्वीनारायण शाहले राज्यको आयआर्जनका लागि नाफा कमाउन सुन कारोबार गर्ने क्रममा तिब्बतीहरूसँग धर्मपत्र नै गरेका थिए । विसं १८१२ पुस सुदी १४ रोज ६ मा छोआंपाजोर ढेवा, नुर्वु ढेवा, फुंजो राप्तेन तथा छिटुंडोलगायतसँग गरेको धर्मपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या ६१–६४ (पुस २०३७–साउन २०३८:३१) मा छापिएको छ । पत्रमा “पोर रिंजींछिंवो लामाले ज्या भाव ग¥याको हो सोहि भाउको सहि. तेस भाउदेषि घटि वढि गर्नुछैन. अव उप्रान्त सुनाको भाउमहा घटि बढि नगर्नु तिमीले पठायाका रुपैयाको सुना पनिआयो पुग्या भोलि दिनु अथवा चार दिनभित्र पु¥याइदिन सुनाको भाउ घटा रुपैया अट्काया को हामिकन कुदृष्टि. सुनाको भाउमहा अघि लामाले ग¥याका सहिमहां रह्या. रुपैया नअट्काया सुदृष्टि. फेरि सुनाको भाउमा घटि बढि ग¥या... को मठ भत्कायाको... को मठ भत्कायाको पाप लागोस कुतिभित्रको सुनाको यो करार हो. कुति बाहिडाको सुनाको चांडो षोजि दिनु” भन्ने उल्लेख छ । यसबाट पृथ्वीनारायण शाहको व्यापारिक चातुर्य गजबले बुझ्न सकिन्छ ।
कान्तिपुरसँग व्यापार सन्धि
आफ्नो आर्थिक कूटनीतिलाई मजबुत बनाएर कान्तिपुरका राजा जयप्रकाश मल्लसँग पृथ्वीनारायण शाहले व्यापारिक सन्धि गरेका थिए । यो सन्धिमा आफूहरूले प्रचलनमा ल्याएको मुद्राको विषयलाई मुख्य रूपमा महत्व दिइएको छ ।
त्यसबेला पृथ्वीनारायण शाहले शुद्ध चाँदीको मुद्रा प्रचलनमा ल्याएका थिए । पहिले मल्ल राजाहरूका शुद्ध चाँदीको मुद्रा प्रचलनमा आएसम्म ती मुद्राको भारतीय मुद्रासँगको विनिमय दरमा सन्तुलन थियो तर आर्थिक सङ्कटका कारण मल्ल राजाहरूले चाँदीमा तामा मिसाई मुद्रा प्रचलनमा ल्याउँदा भारतीय मुद्राका सामुन्ने नेपाली मुद्राको अवमूल्यन हुन सुरु भयो । परिणामस्वरूप बजारमा महँगी बढ्न सुरु भयो (वज्राचार्य र श्रेष्ठ, २०३२:७२) ।
त्यसैले उनले कान्तिपुर राज्यसँग विसं १८१४ मा एउटा व्यापारिक सन्धिका लागि धर्मपत्र गर्नु परेको थियो । कान्तिपुरका राजा जयप्रकाश मल्लसँग विसं १८१४ पुुस वदी ८ रोज ३ मा गरेको धर्मपत्रमा “काठमाडौँको गोर्खाको टकसार चलाउनु. रुपैयामहा कपट नधाल्नु. दुवै टकसारमा एकै चास्नी गर्नु. गोरर्खाका रुपैया काठमाडौंले चलाउनु. काठमाडौंका रुपैया गोर्खाले चलाउनु. भोट रुपैया जिनिस पठाउंदा दुवैको बरोबर पठाउनु... काठमाडौंका रुपैयां तहां गोर्खाले नचलाया सास्ति गर्नु. दण्ड गर्नु. गोर्खाको रुपैयां इहां काठमाडौंले नचलाया सास्ति गर्नु. दण्ड गर्नु... भोटबाट आयाका सुना वरोवरी लिनु मधेस बाटो आयाका सिक्का बरोबर लिनु” (आचार्य, २०६१:२४३) भन्ने उल्लेख छ । धर्मपत्रमा “करारमा रहे धर्मको वृद्धि होस, करार भङ्ग गरे पञ्चमहापातक लागोस्” भन्ने वाचावन्धन पनि गरिएको छ ।
यो व्यापारिक सन्धिपछि पृथ्वीनारायण शाहले कान्तिपुरमा आफ्ना दूतहरू राखेका थिए तर यो धर्मपत्र लेखी गरिएको सन्धि कालान्तरमा लामो समयसम्म टिक्न सकेन । गोरखाली दूतहरूमाथि जासुसी गरेको आशङ्कामा राजा जयप्रकाश मल्लबाट उनीहरूमध्ये कोही मारिए, कसैले चलाखीपूर्वक भागेर ज्यान बचाए ।
त्यसबेला कान्तिपुरमा काजी तुलाराम पाँडेको नेतृत्त्वमा जोग बुढा, बलि पन्त, जयकृष्ण थापा, देवराज कटुवाल र रणजित थापा गोरखा राज्यका तर्फबाट आवासीय दूतका रूपमा रहेका थिए । यी दूतहरूले आफ्नो राज्य गोरखाको हितका लागि काम गर्दै जाँदा तिब्बतसँग व्यापार गर्दै आएका कान्तिपुरे व्यापारीहरू यिनीहरूसँग आकर्षित हुँदै गइरहेका थिए । तिनैताक गोरखाली भारदारहरू राजा जयप्रकाश मल्लविरुद्ध भेद–नीति प्रयोग गर्न पनि सक्रिय थिए । यिनै दूतहरूलाई प्रयोग गर्दै पृथ्वीनारायण शाहले कान्तिपुरका भारदारहरूलाई हात लिने प्रयास पनि गरिरहेका थिए । यससम्बन्धी केही पत्र फेला परेपछि जयप्रकाश मल्ल आफ्ना भारदारसँग क्रुद्ध हुन पुगी उनीहरूलाई अनेकौँ दण्ड र सजाय दिन थाले । पृथ्वीनारायण शाहले कुनै बेला जयप्रकाश मल्लसँग पनि मितेरी लगाएकाले मितिनी आमा कुमुदिनीलाई पनि पत्र लेखेका थिए । यसबाट जयप्रकाश मल्ल आमासँग पनि सशङ्कित भए । त्यसपछि उनी काजी तुलाराम पाँडेलगायतका गोरखाली दूतहरूमाथि नै सशङ्कित भई खनिए । उनीहरूलाई नेल ठोकेर थुनामा राखे (श्रीकृष्ण आचार्य, ‘नेपालका पछिल्ला मल्ल राजाहरूको आपसी अन्तःकलह’ खण्ड १–२०६९:१७१–७३) ।
पक्राउ परेकामध्ये देवराज कटुवाल, रणजित थापा र जयकृष्ण थापालाई कालभैरवको अगाडि पर्साएर काट्न भनी लैजाँदा उनीहरूको कानमा बत्ती बालियो । बलि दिनुअघि चौपायालाई जस्तै कानमा छ्यापेर पर्साउन पानी पनि ठिक्क पारिएको थियो । तीमध्ये देवराज र रणजित डरले काँप्न थालिहालेकाले उनीहरू पर्सिइए र कालभैरव पनि खुसी भए भन्दै तत्काल उनीहरूलाई काटियो तर जयकृष्णको कानमा पानी छ्यापिँदा र बत्तीले जतिसुकै आफ्नो कान पोलिए पनि हलचल नभएकाले उनी पर्सिइएनन् भन्दै उनलाई थुनामा पठाउने निर्णय गरियो । आफूलाई थुन्न लैजाँदै गर्ने कर्मचारी धकेलेर उनी सहरभित्रको मूल ढलमा हामफाली ढलैढल विष्णुमतीको बगरमा निस्केर काहुले थानामा तैनाथ रहेका गोरखाली सैनिकहरूसँग मिल्न पुगे । बलि पन्त ब्राह्मण भएकाले उनको ज्यान नलिई कठोर यातनासाथ कैदमा राखियो । काजी तुलाराम पाँडे गोरखा राज्यको विशिष्ट कर्मचारी भएकाले उनलाई काटिहाल्न आँट गरिएन; बरु फकाएर कान्तिपुरकै काजी वा मन्त्री बनाएर उनलाई हात लिने प्रयास जयप्रकाश मल्लले गरे । यसका लागि कबुलियतनामा पनि तयार पारियो । पाँडेलाई पहिले गोरखामा रहेका जहान परिवारलाई कान्तिपुर राज्यमै झिकाएर आफू पनि यहीँ बस्ने वाचा गराइयो । जयप्रकाश मल्ल पाँडेलाई जहान परिवार चाँडै ल्याउन ताकिता गरिरहेका थिए । त्यहीबिच उनी एक दिन रातको समय सहरभित्रबाट जलाउनका लागि मसानघाट लैजाँदै गरिएको एक मुर्दाको मलामीको समूहमा मिसिएर बागमती नदी पार भई गोरखालीहरू तैनाथ दहचोकगढी हुँदै नुवाकोट पुगेर पृथ्वीनारायण शाहलाई भेटी आफ्नो दुःख र दर्दको सम्पूर्ण कथा एक एक गरेर सुनाए । कडा थुनामा रहेका बलि पन्त सिकिस्त बिरामी परेकाले उनलाई छाडियो । नुवाकोट जान भनी हिँडेका उनको बिच बाटोको बेलकोटमा देहान्त भयो (आचार्य, २०६९ः१७३–७६) ।
यसरी गोरखा र कान्तिपुर राज्यबिच भएको व्यापार सन्धि भङ्ग हुन पुग्यो । सन्धि भङ्ग भए पनि पृथ्वीनारायण शाह आफ्नो आर्थिक लक्ष्यतिर लम्किरहे ।
पृथ्वीनारायण शाहका मुद्राहरू
नेपालमा सबैभन्दा पहिले मुद्रा निष्कासन गरी सञ्चालनमा ल्याउने राजा हुन्– मानदेव । उनले चलाएको मुद्रालाई ‘मनाङ्क’ भनिन्छ । यो तामाको मुद्राको दुई पाटोमध्ये एकातिर ‘मनाङ्क’ र अर्कोतिर ‘श्रीभोगिनी’ लेखिएको छ । आफ्नी रानीको सम्झनामा मानदेवले यी तामाका मुद्रा प्रसारित गरेर उनले यिनै स्वतन्त्र मुद्राद्वारा आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रतालाई पनि प्रकट रूपमा अभिव्यक्त गराइदिए (बाबुराम आचार्य, ‘प्राचीनकालको नेपाल’–२०६०:९५) । तर यो मुद्रामा राजाको नाम मात्रै लेखिएको र मिति उल्लेख नगरिएकाले कहिले निष्कासन गरिएको हो, किटेर भन्न सकिएको छैन (सत्यमोहन जोशी, ‘नेपाली राष्ट्रिय मुद्रा’–२०४२:४५) । मानदेवको राज्यकाल विसं ५२१ देखि ५६२ मानिएको (डा. जगदीशचन्द्र रेग्मी, ‘लिच्छवि–इतिहास’–२०५३:३२) ले उनले प्रचलनमा ल्याएको मुद्रा सोही समयको मान्ने हो भने १५ सय वर्षभन्दा पहिलेदेखि नेपालमा मुद्राको प्रचलन सुरु भएको देखिन्छ ।
नेपालमा मुद्रा सञ्चालनको लामै इतिहास भए पनि गोरखाली राजाहरूले आफ्नो राज्यको छुट्टै मुद्रा चलाउन नसकिरहेका बेला अनेकौँ जुक्ति र बुद्धि लगाएर पृथ्वीनारायण शाहले व्यापार गरी, सुनचाँदी बटुली आफ्नो नाममा मुद्रा प्रचलनमा ल्याए ।
उनले तीन प्रकारका मुद्रा प्रचलनमा ल्याएका थिए । सबैभन्दा पहिले विसं १८०६ मा मोहर मुद्रा प्रचलनमा ल्याएका थिए । ‘श्रीश्री गोरषनाथ, श्रीश्री भवानी’ लेखिएको र अर्को पाटोमा ‘पृथ्वी नारायण शाहदेव’ लेखिएको यो मुद्रामा चतुष्कोणबाहिर तल छेउमा ‘१६७१’ लेखिएको छ (जोशी, २०४२:१०२–३) । यो यसमा प्रयोग भएको शाकेलाई विसंमा हिसाब गर्दा १८०६ हुन आउँछ ।
यस्तै उनले काठमाडौँमा हमला गर्नुअघि शाके १६७६ (विसं १८११) मा मोहर मुद्रा प्रचलनमा ल्याएका थिए । काठमाडौँलाई आफ्नो अधिनस्थ गरिसकेपछि मोहर मुद्राका अतिरिक्त सुकी मोहर, डबल मोहर, सुनको पातलो सुका मोहर, सुनकै आनी मोहर, दुईतोले असर्फी पनि निकाली प्रचलनमा ल्याएका थिए (जोशी, २०४२:१०२) ।
यसरी सुन र चाँदीको मुद्रा प्रचलनमा ल्याउन पनि उनले सुन कारोबारका लागि निकै जुक्ति र बुद्धि लगाएको ऐतिहासिक प्रसङ्ग माथि उल्लेख भइसकेको छ ।
मुद्रा प्रचलनका क्रममा पृथ्वीनारायण शाहले निकै ठुलो कूटनीतिक चातुर्य पनि अपनाएका थिए । गोरखाली राजाहरूले आफ्नो इष्टदेवताका रूपमा गोरखनाथलाई मान्दै आएकाले पृथ्वीनारायण शाहले आफूले प्रचलनमा ल्याएको मुद्रामा गोरखनाथ उल्लेख गर्दै आएकोमा शाके १६८५ (विसं १८२०) मा प्रचलनमा ल्याएको मुद्रामा मल्ल राजाहरूले इष्टदेवका रूपमा प्रयोग गर्ने लोकनाथलाई पनि गोरखनाथसँग अङ्कित गरिदिए । उक्त मुद्राको अग्रभागमा ‘श्री श्री पृथ्वी नारायण शाहदेव, १६८५’ लेखिएको छ । पृष्ठ भागको चक्काभित्र बिचमा फूलको मालासहित खड्ग छ । यसको शिरमा सूर्यचन्द्र दायाँबायाँ छरिएको अक्षरमा ‘लोकनाथ’ लेखिएको छ । गोलचक्काबाहिरका फूलपाते बुट्टाहरूमा ‘श्री श्री श्री गोरषनाथ’ नै लेखिएको छ । मुद्रामा ‘लोकनाथ’ लेखिएबाट यस मुद्राको प्रचलन मल्ल मुद्रा सरह काठमाडौँमा पनि चलोस् भन्ने अभिप्राय हुन सक्छ । यिनका पछि निस्केका मुद्राहरूमा भने ‘लोकनाथ’ भेटिएको छैन । उनकी रानी नरेन्द्रलक्ष्मीका नाममा पनि शाके १६९२ (विसं १८२७) मा चाँदीको सुकी मुद्रा र शाके १६९३ (विसं १८२८) मा सुनको सुकी मुद्रा पनि प्रचलनमा आएको थियो (जोशी, २०४२:१०२–३) ।
पृथ्वीनारायण शाहले यसरी आफ्नो नाममा मुद्रा प्रचलनमा ल्याए । यसका लागि उनले अनेकौँ जुक्ति, बुद्धि लगाए । सन्धि तथा धर्मपत्रहरू गरे ।