स्वयम्भू महाचैत्यको पश्चिमतिर एक गुम्बा छ । यो गुम्बाको नाम हो, ‘मार्मो ल्हाखाङ्ग’ । यो गुम्बामा अखण्ड दीप प्रज्वलन गरिन्छ । यो गुम्बा भुटानी गुम्बा हो । यो गुम्बामा भुटानी धर्माधिकार रहने व्यवस्था छ । नेपालमा कुनै विदेशीले आफ्नो स्थापत्य कृति निर्माण गर्न र अचल सम्पत्तिमा अधिकार जमाउन नपाउने नियम छ । नेपाल–भुटान सम्बन्धबारे विज्ञ लेखक सुशीला मानन्धर (फिसर) ले ‘प्राचीन नेपाल’ (सङ्ख्या १७७–असार २०७८ः३४) मा उल्लेख गरे अनुसार नेपाली सीमाभित्र भुटानी धर्माधिकारीद्वारा सञ्चालन गर्ने व्यवस्थासहित भुटानी गुम्बा स्थापित रहनुमा दुई देशबिचको प्राचीन र आपसी सम्बन्धले काम गरेको छ ।
नेपाल र भुटानबिच भौगोलिक सीमा नजोडिए पनि धार्मिक र सांस्कृतिक सम्बन्ध घनिष्ठ रहँदै आएको छ । स्वयम्भूमा रहेको उक्त गुम्बामा भुटानी लामा रहने व्यवस्था छ । उनी नेपालमा भुटानी धार्मिक प्रतिनिधिस्वरूप रहन्छन् । सन् १९८३ को नेपाल–भुटानबिचको औपचारिक कूटनीतिक सम्बन्धपूर्व भुटानी लामाको संयोजकत्वमा दुई देशबिच कूटनीतिक क्रियाकलाप हुने गथ्र्यो (मानन्धर, २०६८ः३५) ।
सम्बन्धको सेतु बौद्ध धर्म
नेपाल र भुटानबिचको सम्बन्धको खास कारण बौद्ध धर्म हो । तिब्बतमा बौद्ध धर्म नेपालबाट प्रवेश गरेको हो र तिब्बतबाट भुटानमा बौद्ध धर्म प्रवेश भयो । तिब्बतको डुग्पा सम्प्रदायका बौद्ध विद्वान्ले भुटानमा बौद्ध धर्म प्रवेश गराएको इतिहास पाइन्छ ।
लोव पोन नादो (सन् १९७७:९०) लाई उद्धृत गर्दै इतिहासकार रमेश ढुङ्गेलले उल्लेख गरे अनुसार लामा ङग्–वङ्–नम्–ग्याल खाम प्रदेशस्थित रालुङ गुम्बाका विद्वान् भिक्षु थिए । उनी तिब्बतका डुग–प (डुग्पा) धर्मका मुख्य संस्थापकमध्येका लामा ये–से दोर्जेका भाइतर्फका वंशज थिए । डुग्पा सम्प्रदायका विद्वान् कुन–खेन्–पेमा कार्पोका अवतारका रूपमा उनले आफूलाई दावा गरेका थिए तर उनका विरोधी शक्तिशाली तिब्बतका देपा चङ्–पका सहयोगमा अरू लामाले उनलाई पेमा कार्पोको अवतार स्वीकार नगर्नाले उनी रालुङ गुम्बा छाडेर तात्कालिक ल्हो–मोन् प्रदेश अर्थात् भुटानमा आएको उनको जीवनी तथा भुटानको इतिहासबाट जानकारी मिल्छ । भुटानमा उनलाई स्याव–ढुङ–रिन्–पो–छे ङग्–वङ्–नम्–ग्याल रूपमा चिनियो (रमेश ढुङ्गेल, ‘कन्ट्रिब्युसन टु नेपालिज स्टडिज’ वर्ष १६, अङ्क २– जुलाई सन् १९८९ः१६९–७०) ।
नेपालमा प्राचीनकालमै बनेका स्वयम्भूनाथ तथा बौद्धनाथ जस्ता विशाल बौद्ध धार्मिक तीर्थका कारण पनि भुटानी बौद्ध धर्मालवम्बीहरू नेपाल आउने गर्थे । विसं १६९३–१७६५ को बिचमा जार्चेन चोस्जे दामचो पैडकर (दम्–छ्यो–पे–कर) नामका लामाले नेपाल आई भुटानी गुम्बा स्थापना गरेका थिए । त्यसै ताका नेपालका राजा र मन्त्रीले स्वयम्भू र बोधनाथ (बौद्धनाथ) मा भुटानीलाई धार्मिक मामिलामा स्वायत्तता प्रदान गरेका थिए ( डिल्लीराज शर्मा, ‘कन्ट्रि«ब्युसन टु नेपालिज स्टडिज’ वर्ष १७ अङ्क २– जुलाई सन् १९९०ः१६०) ।
नरभूपाल शाहको ताम्रपत्र ।
बौद्ध धर्ममार्फत नेपाल र भुटानबिच सांस्कृतिक सम्बन्ध राजकीय सम्बन्धका रूपमा पनि जोडिन पुग्यो । भुटानका तात्कालिक लामाका तान्त्रिक ख्याति र उनीहरूका धार्मिक कार्य र काठमाडौँ उपत्यकाको बौद्ध शिक्षा तथा संस्कृतिको केन्द्र स्वयम्भूनाथको माध्यमले नेपाल–भुटानबिचको सम्बन्धको थालनी हुन पुग्यो । भुटानका प्रथम धर्मराजले सन् १६२४/२५ देखि सम्बन्ध राख्न थालेका थिए । यसै क्रममा गोरखा दरबारभित्रको दाजुभाइको कलह निराकरण गर्न भुटानी लामालाई गोरखा ल्याउन राजा राम शाहले एउटा दूत पठाएको र धर्मराजाले त्यहाँका प्रसिद्ध लामा दम्–छ्यो–पे–करलाई गोरखा पठाएका थिए (ढुङ्गेल, सन् १९८९ः१७०) ।
यति मात्रै होइन, भुटानका खाली जग्गामा आवाद गर्न भुटानी राजाले गोरखालीहरू भुटान लगेका थिए । भुटानी स्रोत अनुसार भुटानका पहिलो धर्मराजा स्याव्–ढुङ ङग्–वाङले आफैँ दुई पटक गोरखा र काठमाडौँको भ्रमण गरेका थिए । सन् १६६४ को भ्रमणकालमा चारै वर्ण ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र (कामी, दमार्इं, सार्कीसमेत) गोरखालीका ४०/५० परिवारलाई भुटानको जग्गा गुल्जार गराउन लगेका थिए भनी कोएल्लो (सन् १९६७:१२), सिंह (१९७२:२१–२२) र ह्वाइट (१९०९:२९१) ले उल्लेख गरेका छन् । यस पटकको भुटान बसाइ जाने गोरखाली जनताको नेतृत्व विसन थापामगरले गरेको विपिनदेव ढुङ्गेलद्वारा सङ्कलित अप्रकाशित स्रोतमा उल्लेख छ (ढुङ्गेल, सन् १९८९: १७१–७२) ।
यताबाट हेर्दा नेपाल र भुटानबिचको सम्बन्ध कति पुरानो रहेछ भन्ने स्पष्ट हुन आउँछ ।
गोरखा दरबारमा बौद्धपूजा
भुटानी बौद्ध लामाको गोरखा दरबारसँग ऐतिहासिक सम्बन्ध रहेको छ । यसबारेमा यहाँ केही चर्चा गरिन्छ ।
गोरखा दरबारमा हानाथाप र झैझगडा थियो । त्यसैबेला गोरखाली राजा पृथ्वीपति शाहका एक छोरा रणशार्दूलले आत्महत्या गरे । यसपछि राजा पृथ्वीपति र युवराज वीरभद्र शाहबिच मनोमालिन्य भयो । त्यसपछि वीरभद्र भक्तपुरका आफ्ना दौतरी राजा भूपतिन्द्र मल्लकहाँ पाहुना लाग्न पुगे तर त्यहाँ उनी बिरामी परी गोरखा फर्कंदा गण्डकी किनार आरुघाटमा विसं १७५४ मा उनको देहान्त भयो । वीरभद्रले आफू भक्तपुर जाँदा आफ्ना दुई रानी (दिग्विजय सेनका बहिनीहरू) लाई माइतिघर तनहुँमा पठाइदिएका थिए । उनको देहान्त भएको केही दिनपछि उनकी दोस्री रानी मल्लिकादेवीको कोखबाट नरभूपाल शाह जन्मेको खबर गोरखामा आइपुगेको थियो । गोरखाको भावी राजा को हुने भन्ने हानथाप चलिरहेका बेला नरभूपाल जन्मेको खबरले त्यो विवाद पनि सेलाएर गयो तर राजा दिग्विजय सेनले आफ्ना भान्जालाई व्रतबन्धको समय नआएसम्म नौ/१० वर्ष तनहुँमै राखेको इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ (२०६१:१६) मा उल्लेख गरेका छन् ।तनहुँबाट गोरखा आएपछि विसं १७६३ मा नरभूपाल शाह युवराज घोषित भए (आचार्य, २०६१:२१) ।
पृथ्वीनारायण शाहले भुटानी गुम्बाहरूलाई दिएको पत्र ।
उनको खाँचीकी राजकुमारी चन्द्रप्रभावतिसँग विसं १७६२ मा पहिलो विवाह भएको थियो । उनी राजा भएपछि पाल्पाली राजा गन्धर्व सेनकी छोरी कौशल्यावतीसँग दोस्रो विवाह भयो । उनको क्रमशः पर्वतका राजाकी भतिजी बुद्धिमतीसँग तेस्रो र तनहुँकी मावली घरानाकी सुभद्रावतीसँग चौथो विवाह भयो तर २२–२३ वर्षको उमेरमा पनि नरभूपालका सन्तान नभएका कारण गोरखा दरबारमा ठुलो चिन्ता फैलिएको थियो (आचार्य, २०६१:६८) ।
यसरी चिन्ता फैलिरहेका बेला माहिली रानी कौशल्यावतीले देवा धर्मा (भुटान) बाट एक जना लामालाई ल्याएर उपाय गरे सन्तान हुने छ भन्ने सपना आफूले देखेको दरबारमा बताइन् । सोही बेहोरा खोली लामालाई बोलाउन भुटानतर्फ लालमोहर पठाइयो तर लामा व्यस्त भएकाले हाललाई आउन नसक्ने खबर पठाए । जस्तोसुकै जरुरी काम छाडेर भए पनि आउनुहोस् भनी फेरि एक सरदारका साथ खबर पठाइयो । उनै सरदारका साथ भुटानी लामा गोरखा आइपुगे । उनलाई बडो सत्कारका साथ खानपिनको बन्दोबस्त गरी गोरखा दरबारमा राखियो । लामाले उपाय (बौद्ध पूजा, तान्त्रिक अनुष्ठान आदि) गरेपछि कौशल्यावतीको गर्भ रह्यो । गर्भ रहेको सात महिनामा पृथ्वीनारायण शाहको जन्म भयो (नेपाल देशको इतिहास ‘प्राचीन नेपाल’, सङ्ख्या २३–वैशाख २०३०:४) ।
आचार्यले वीरभद्रको देहान्त विसं १७५४ मा भएको र त्यसको केही दिनपछि मल्लिकादेवीको कोखबाट तनहुँमा नरभूपाल शाहको जन्म भएको भन्ने उल्लेख गरेबाट नरभूपाल शाहको जन्म साल विसं १७५४ ठहर्छ । रानी कौशल्याको कोखबाट पहिलो सन्तानका रूपमा विक्रम संवत् १७७९ पुस २७ गते जन्म भयो । यसरी हेर्दा यी बाबुछोराबिचको उमेरमा २५ वर्षको अन्तराल हुन्छ । गोरखा राजपरिवारमा त्यो समय १६/१७ वर्षकै उमेरमा सन्तान उत्पादन हुने चलन चलेको विचार गर्दा नरभूपाल शाह ढिलो उमेरमा बाबु बनेको देखिन्छ । यसै गरी सन्तान जायजन्मका हिसाबले चन्द्रप्रभावतीभन्दा एक वर्षपछि कौशल्यावतीसँग विवाह गरेको मान्दा पनि नरभूपाल शाहले विवाह गरेको छ वर्षपछि उनलाई सन्तानलाभ भएको देखिन्छ ।
नरभूपाल शाहकी जेठी रानी चन्द्रप्रभावती निःसन्तान थिइन् । उनका तीन रानी र एक भित्रिनीबाट २३ सन्तान जन्मे । तीमध्ये १२ जना छोरा र ११ जना छोरी भए (नेपाल देशको इतिहास, ‘प्राचीन नेपाल’ सङ्ख्या २१– कात्तिक २०२९:५–६) । यसरी पृथ्वीनारायण शाहको जन्म भएपछि नरभूपाल शाह खुसी भए । आफ्नो सन्तान नहुँदा भुटानी लामा (लोपा लामा) को आशिर्वाद पाएपछि पृथ्वीनारायण शाहको जन्म भएकोमा प्रभावित भएर ती भुटानी लामालाई उनले विसं १७९८ मा एउटा ताम्रपत्र जारी गरेर गोरखाको नक्थली गुम्बा लोपा लामालाई र छोङ लामालाई चुमावन, घेलिङ, चुमेगाउँ र गोथान गरी पाँच वटा गुम्बा दान गरे (शर्मा, सन् १९९०:१५८) ।
नरभूपाल शाहको समयमा केरुङ र झुँगाको दोसाँध झुँगा थानामा रहेका गोरखाली फौजलाई भोटको फौजले घेरिराखेको अवस्थामा भुटानी लामाले सन्धि गरिदिएको रिझबापत नरभूपाल शाहले भूटानी लामाले चलाएको गुम्बालाई नक्थली र पुँझो गाउँका जग्गा दिएका थिए (दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ पहिलो भाग–२०४१ः२४४) ।
नरभूपाल शाहले भुटानी गुम्बाका लागि जारी गरेको ताम्रपत्र इतिहासकार धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठले ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’ को अभिलेख खण्ड (२०३२:२३) मा प्रकाशित गरेका छन् । विसं १७९८ फागुन वदी ५ रोज ७ मा जारी ताम्रपत्रको बेहोरा यस्तो छ :
आगे ल्होपा लामाकन, नकथलिको घुम्वा कुशवत्ति वकस भयो धनजियले सेवा गर्नु क्षोड लामाकन वक्स्याको जजमान सभै वकस भयो थूंवन् गोलजुङ चिलतिंमा पाजुङका षेत २ घुंवा गाउँ गवलां एति गाउँले या लामाले अह«ायाको सो काम गर्नु ।
भुटानी गुम्बाको थमौती
भुटानी लामाहरूको प्रभाव पृथ्वीनारायण शाहमा पनि परेको देखिन्छ । उनले आफ्नो समयमा एक लालमोहर जारी गरेर छ वटा गुम्बाको बिर्ता थामिदिएका थिए । यो लालमोहरको छायाप्रति इतिहासकार भगीराज इङ्नाममार्फत यो लेखकले प्राप्त गरेको छ ।
विसं १८१८ फाल्गुन वदि ९ रोज मा जारी लालमोहरको बेहोरा यस्तो छ :
आगे. गिनु दुन पाम्दार्लामा पुंजि घुंम्वा. वांथाली घुंम्वा. नाग¥या घुंवा. लिस्यावुघंवा. उंमा घुंवा. चरिकोट घुंवा ल्होभा लामाले मारव कसि पठाया छन्. सो हामिले थामि वक्सिउ. घुंवा घुंवाका साषा माथिको अंवल गिनहुन पांवार्लामाले गर्नु. घुंवा घुंवाको पुरानु षायल विर्ता समेत थामी वकसीउं ।
मानन्धर (२०६८:३५) अनुसार राजा नरभूपाल शाहलाई पुत्रलाभको उपाय गरिदिएबापत भुटानी लामालाई रिझबापत बिर्ता दिन प्रणपत्र गरिएको थियो । यस्तै भक्तपुरका मल्ल राजा रणजित मल्ल पनि भुटानी लामाबाट प्रभावित थिए । भुटानी लामाले आफ्नो तन्त्र साधनाबाट भक्तपुरका राजा रणजित मल्लले आफ्नो व्यथा बिसेक गरिदिएको रिझबापत उनलाई एक स्थानीय बहालको पुजारी भई बस्ने र त्यहाँ उनले आफ्नो धर्म प्रचार गर्न पाउने अनुमतिसहित ५० रोपनी जग्गा गुठी राखिदिएका दिएका थिए ।
पृथ्वीनारायण शाहको जन्म भएपछि नरभूपाल शाह खुसी भए । आफ्नो सन्तान नहुँदा भुटानी लामा (लोपा लामा) को आशीर्वाद पाएपछि पृथ्वीनारायण शाहको जन्म भएकोमा प्रभावित भएर ती भुटानी लामालाई उनले विसं १७९८ मा एउटा ताम्रपत्र जारी गरेर गोरखाको नक्थली गुम्बा लोपा लामालाई र छोङ लामालाई चुमावन, घेलिङ, चुमेगाउँ र गोथान गरी पाँच वटा गुम्बा दान गरे (शर्मा, सन् १९९०ः१५८) ।
राजा रणजित मल्लले भुटानी लामालाई जग्गा दिएको ऐतिहासिक प्रसङ्गसमेत उल्लेख भएको राजा गीर्वाणयुद्धविक्रम शाहको समयको एक रुक्का उपलब्ध छ । हाल अमेरिका निवासी ऐतिहासिक पत्रहरूको सङ्ग्रहकर्ता मनोज मनुजको सङ्ग्रहमा रहेको विसं १८५८ मा जारी उक्त रुक्काको बेहोरा यस्तो छ :
आगे देवा धर्माका राजालाई रणजित मल्ल राजाले ष्याकु षेत रोपनी २५ भुकुडोल षेत रोपनी २५ लोहत्वाफपल घड्यारी रोपनी ६ घुंवा गाउं समेत तावापत्र गरि विर्ता दिलयाको रहेछ––––––––––वाट पनी थामि वक्सनु भयाको रहेछ. सोही वमोजिम हामिले पनी थामि वक्स्यौँ ।
यो पत्रको सिरानमा ‘श्री जिज्यू वाज्या’ उल्लेख भएकाले रणजित मल्लले भुटानी गुम्बालाई दिएको बिर्ता पृथ्वीनारायण शाहले पनि थामिदिएका थिए भन्ने बुझिन्छ ।
हिजो गोरखा दरबारमा आफूहरूले गुन लगाएको सम्झाउने काम स्वयम् भुटानी लामाहरूले गरेको देखिन्छ । राजा रणबहादुर शाहको समयमा साके १७०८ (विसं १८४३) तिर देवा धर्मा (भुटान) का लामा आई उनका पुर्खालाई हिजो नरभूपाल शाहको समयमा सन्तान नहुँदा झिकाएको र लामाले मागेको दिन्छु भनी वचन दिएको सम्झना गराएका थिए । उनीहरूले आफ्ना पुर्खा लामाले गर्दा पृथ्वीनारायण शाह पैदा भएका तर नरभूपाल शाहको वचन अनुसार आफूहरूले केही पनि नपाएको भनी बिन्ती गर्दा ती भुटानी लामालाई १५/२० खेत र १५/२० गाउँ लालमोहर गरी बिर्ता दिइएको र यसरी पाएको सबै जमिन स्वयम्भूमा गुठी राखेर ती लामा भुटानतर्फ बिदा भएका थिए, पुरातìव विभागको मुखपत्र ‘प्राचीन नेपाल’ सङ्ख्या २३ (वैशाख २०३०:१०) मा पढ्न पाइन्छ ।