अहिले विवाहको मौसम चलिरहेको छ । जहाँ पहिले ठिकसँग हिँडडुल गर्न सम्भव थिएन, त्यहाँ अहिले बाटाघाटा बनेका छन् र बरात सजाउनेका लागि पौ–बारह जस्तै भइसकेको छ । डिजेसँगै रथ छ । रथमा दुलहा, दुलहाको छेउमै खुसीमा मग्न दुलहाकी आमा–इजोतिया । अगाडि पुरुषभन्दा महिलाको उपस्थिति बढी छ । त्यो केवल दर्शक मञ्च बनेको होइन । घरबाट बाहिर निस्कँदा लजाउने केटी–बुहारीहरू पनि डिजेको धुनमा नाचिरहेका छन् । यो बरात स्वागतको बेला हो कि बिदाइको, भन्न गाह्रो छ । यस्तै दृश्य अहिले गाउँमा छ । सहरमा कला देखाउनका धेरै कारण हुन्छन् तर हाम्रो पात्र गाउँकै हो । र उनी पनि अरू जस्तै काम गर्ने महिला हुन्– खेत, पाखो, घरआँगनमा परिवारसहित व्यस्त रहने । जन–मजदुरको परिवार । छोरी जन्मिँदा पनि अचेल जस्तो दुःखी हुँदैनथिन् । हात गइरहेका बेला कमाइमा कमी गर्दिनथिन् । बाली काट्ने, धान सफा गर्ने, गोरु–बस्तु हेर्ने र जाने बेला छोरीको नाममा अहङ्कारले ‘पारस’ पनि लिएर जाने गर्थिन् ।
त्यही इजोतियालाई जिपको इन्जिनमा बनाइएको रथमा बसेको देख्दा म भावुक भएँ । बर्सौंदेखि अरूको बरात सजाउँदै आएकी इजोतिया आज आफ्नै नातिको विवाहमा रथमा बसेकी देख्दा म भावुक भएँ । उनी आफ्नो खुसी देखाउन खुलेर हाँस्न सक्दिनन् । भगवान्ले छोरा, नाति कमाइने बनाइदिएका छन् । दुबई, कतार, मलेसियाको गर्मीमा पसिना बगाउँछन्, पैसाको हिसाब राख्छन् । गाउँमा बाआमालाई सुखसुविधा दिलाउन पनि सोच्दछन् । घर बनाए, खेत किन्ने पैसा जोडे, अहिले आफ्नै खेत छ । अब आफ्नै कामदार राख्ने हैसियतमा पुगेकी छन् तर अहिले त्यस्तो कामदार पाइँदैन । दिनभरिको ज्यालामा मान्छे पाइन्छ । तीन तीन बाली फल्छ, घरमा लक्ष्मीको बास छ । इजोतिया स्वयम्
‘गीरहतनी’ बनेकी छन् ।
आज उनी नातिको विवाह कौवाहा गाउँमा गर्न जाँदै छिन् । दिनेलिने धेरै भयो । अब उनी बलिया असामी भइसकेकी छन् । सधैँ अरूको घरका लागि मात्र चमकदमक, अब आफ्नै चाहियो । त्यसैले आज धेरै दिनपछि आफ्नै नातिको विवाहमा जति खुसी पाउन सक्थिन्, सबैलाई एकमुष्ट पाउने गरी उनले तयारी पूरा गरिसकेकी छन् । पटक पटक हात जोडेर आफ्नो कुलदेवतालाई ढोग्दै कृतज्ञता व्यक्त गर्दै छिन् इजोतिया । हाँस्दैखेल्दै भिडमा उनी पनि सहभागी छिन् । रथमा त चढ्न चाहिनन् तर छोराको जिदीमा चढेकी हुन् । बुढी लजाएकी थिइन्, जसरी पछि मलाई थाहा भयो ।
यो विवाहको सबै तालमेल बुढीले मिलाइन् । उनको चलाखीबाट म अवगत छु । बाबुसँगै खेतमा काम गर्दा म इजोतियालाई राम्ररी चिन्दथेँ– अलिक बढी नै, र आज जसलाई म चिन्दथेँ, उनी नै रथमा सवार छिन् । लुकाउँदालुकाउँदै पनि आफ्नो अनुहारमा छरिएको खुसी अरूलाई पनि बाँड्दै छिन् ।
अहिले मात्र इजोतिया मेरो नजरमा छिन् । उनका छोरा, नाति, नातिनी मेरो चिन्तनको घेरामा अहिलेसम्म आएका छैनन् । म त आफैँ सहर गएर हराएँ । गाउँलाई बिर्सेको त होइन तर आफ्नै उमेरका साथीहरूसँग रमाउँदै अघिल्ला ५०/६० वर्षको इतिहास बिर्सेर बसिरहेको छु ।
त्यसैले होला, सुरुमा मसँगै बसिरहेका ललितजीलाई मैले सोधेको थिएँ, “यो को हो ?”
ललितजीले महिलालाई ध्यानपूर्वक हेरेर भने– “आहा ! यो त इजोतिया हो सर ! बोदलकी छोरी... । हजुरकै लगुआ–भरुआ... ।”
उहाँको कुरा काट्दै सम्झेँ– ओह ! इजोतिया... ।
त्यसपछि म मौन भएँ । मनमा सबै सम्झना ताजा भए । कुरा यस्तो थिएन कि म बिर्सिहाल्थेँ तर समयको अन्तरालले बिर्सिएँ जस्तो मात्र थियो । मैले त यो पनि थाहा पाएको थिइनँ कि इजोतिया अहिले कहाँ छिन् । उनी मभन्दा एकदुई वर्ष जेठी होलिन् । केटाकेटीमा खेलकी साथी थिइन् । जब बुवाहरू दिउँसोतिर खेतमा रोपाइँ गराउन जाने गर्नुहुन्थ्यो तब इजोतियाको परिवार पनि हाम्रो खेतमा ड्याङहरू उखेल्ने, रोपाइँ आदिमा व्यस्त हुन्थ्यो । तब हाम्रो घरको पछाडिमा रहेको फूलबारीमा हाम्रो खेल जम्थ्यो ।
इजोतिया एक्लै थिइनन्, उनकी एउटी बहिनी पनि थिइन्; जो प्रायः हाम्रो उमेरकी थिइन् । आज मलाई त्यो बेला खेलिएका खेलहरूको याद छैन । घन्टौँसम्म आँपको बोटमुनि, पराल घरको छेउमा के के खेल्थ्यौँ हामी । बाल मनोभाव ! त्यो बेलाको बालमनोभाव आज जस्तो होइन, चारपाँच वर्षदेखि नै मोबाइलमा संसार देख्ने जस्तो होइन्थ्यो ।
देशदुनियाँको कुनै दाउपेच, भाव–व्यवहारबाट अन्जान हामीहरू । एक दिन खेल्दै गर्दा इजोतियाले मलाई गरेको प्रस्तावले भने मेरो देह सिउरिएको थियो । त्यो बेला मलाई त्यसको अर्थ थाहा थिएन तर हाउभाउले डराएको थिएँ । लाग्थ्यो, इजोतिया मभन्दा बढी बुझ्छिन् । धेरै थोक बुझ्न थालेकी थिइन् । मैले तत्काल मना गरिसकेको थिएँ ।
तर यसले हाम्रो सम्बन्धमा वा खेलकुदमा कुनै असर परेन । अरू दिन जस्तै इजोतिया राति पनि ‘आगे माई ककडीको बतिया’ भन्दै हाम्रो ठुलो आँगनमा नितम्ब घस्रने खेल प्रतियोगितामा कुनै रुकावट आएन । साँचो कुरा यो थियो– म तत्काल त्यो क्षण बिर्सिसकेको थिएँ । बिर्सन त मैले यो पनि बिर्सिसकेको थिएँ कि म उसको गीरहतको छोडा थिएँ र उनी मेरो जनकी छोडी... ।
साँच्चै भनौँ भने त्यस बेला बाल अवस्थामा त्यो कुरा त बिर्सिगएको थिएँ तर पछि म जब देशदुनियाँ बुझ्ने भएँ, त्यतिबेला उनको भनाइको अर्थ लाग्यो । फेरि कस्सिएर जिउ सिउरियो । आजसम्म त्यो सम्झना मेरो मस्तिष्कबाट हराएको छैन ।
इजोतियाको छोरा, नाति, पनाति सबैले घर भरिएको छ तर म अहिले पनि उनलाई आफ्नी पुरानी साथी इजोतियाको रूपमा चिन्दै आएको छु । र आज अचानक इजोतियालाई देख्दा पुरानो घटना याद त आएन तर लाग्यो– आमाबाबुको खेतको कमाइमा दिनरात सहयोग गर्ने इजोतिया आज रथमा बसेर कति खुसी छिन् होला । उनको खुसी नै मेरो खुसीको कारण बनिरहेको छ । त्यो किन, यो मलाई पनि थाहा छैन । नातिको छेउमा बसेकी इजोतियाको अनुहारमा देखिने गहिरो संवेदनालाई चिर्ने हल्का मुस्कानले फेरि मलाई जगाइदिन्छ । आखिर के थियो इजोतियामा, जो त्यतिबेला मलाई तानिरहेकी थिइन्, र आज पनि... ।
अगाडि डिजेको धुनमा नातिनातिनीहरू रमाइरहेका छन् । इजोतियाले त्यो खुसी आफ्नो अनुहारमा समेटेर टाढासम्म आफ्नो आभा फैलाइरहेकी छन् । म पनि त्यो आभाको प्रवाहमा बगेझैँ भइरहेको छु, एकाग्रचित्त हुँदै ।