• ८ जेठ २०८१, मङ्गलबार

बाघ र गैँडा आतङ्क : ९ महिनामा २ को मृत्यु ८ घाइते

blog

नवलपुर, पुस १९ गते । नवलपुरमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । वैशाख ३१ गते यता बाघ  र गैँडाको आक्रमणबाट २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । 

बाघले आक्रमण गरी  ६ वटा बाख्रा मारेको छ भने दुई वटा बाख्रालाई घाइते बनाएर छाडेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गैँडाको आक्रमणबाट पुस १९ गते बुधबार एक जना घाइते हुनुभयो । गैँडाले आक्रमण गरी मनकामना सामुदायिक वनमा दाउरा खोज्ने क्रममा कावासोती नगरपालिका –८ का ६५ वर्षीय पतिराम महतोलाई घाइते बनायो । 

गैँडाले आक्रमण गरी मनकामना सामुदायिक वनमा दाउरा खोज्ने क्रममा कावासोती नगरपालिका –८ का ६५ वर्षीय पतिराम महतोलाई घाइते बनायो । 

त्यसअघि पुस ८ गते बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका –१ की ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेलको मृत्यु भयो । घाँस काट्न गएका सासू–बुहारीलाई बाघले जङ्गलमा आक्रमण गरेको थियो । 

त्यसअघि पस १६ गते हुप्सेकोट गाउँपालिका –४ शङ्खदेवमा जङ्गलमा चराउने क्रममा  ४ वटा बाख्रा मार्‍यो । असोज ९ गते मध्यबिन्दु नगरपालिका –२ शेरीमा डोलाराम थनेतले सञ्चालन गरेको एकता एग्रो फर्ममा आक्रमण गरी २ वटा बोका मार्‍यो भने २ वटा बाख्रालाई घाइते बनायो । 

प्रहरीको तथ्याङ्कअनुसार बाघले गत मङ्सिर १ गते मध्यबिन्दु नगरपालिका –१५ टिकुलीटार बस्ने ६० वर्षीय रेशराम थारुलाई गिरुबारी खोलामा भैँसी चराउने क्रममा आक्रमण गरी घाइते बनायो । वैशाख ३१ गते विनयीत्रिवेणी गाउँपालिका ४ तल्लो पिदारीका मणिमुकुन्द सामुदायिक वनको रेखदेखका लागि खटिएका वनपाले ४० वर्षीय योगबहादुर पल्लीलाई बाघले आक्रमण गरी घाइते बनायो ।

नवलपुरमा बाघ मात्र होइन, गैँडाको आक्रमणबाट स्थानीय त्रसित बनेका छन् । गैँडाले पुस ४ गते कावासोती नगरपालिका –१ लौकाहा स्याउली बस्ने ४० वर्षीय पुष्प परियारलाई घर पछाडि बसिरहेको अवस्थामा आक्रमण गरी घाइते बनायो । मङ्सिर ८ गते देवचुली नगरपालिका –३ पिप्रहरका कालीराम महतोलाई आफ्नै घरनजिक आक्रमण गरी घाइते बनायो । 

बाघको आक्रमणबाट बिनयी त्रिबेणी गाउँपालिका –१ की ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेलको मृत्यु भयो । 

मङ्सिर १९ गते कावासोती–१ लोकाहा स्याउलीस्थित भित्री बाटोमा हिँडिरहेको अवस्थामा ५१ वर्षीय भुलमाया विक र चितवन भरतपुर–१७ का ६० वर्षीय थमबहादुर सारू मगरलाई आक्रमण गर्‍यो । जेठ ११ गते देवचुली–१० प्रकृतिटोलका ५१ वर्षीय कृष्ण क्षेत्रीलाई आक्रमण गरी घाइते बनायो । कात्तिक २८ गते मध्यबिन्दु नगरपालिका–२ मदनपुरका ३१ वर्षीय राजकुमार बोटेलाई आक्रमण गरी घाइते बनायो । 

गत वैशाख ३१ देखि हालसम्म मानिस तथा घरपालुवा जनावरमाथि गैँडा र बाघले गरेका आक्रमणका यी घटना हुन् । लगातार बाघ र गैँडाको आक्रमण बढिरहँदा घाँस दाउरा गर्न जङ्गल जान र साँझ परेपछि घरबाहिर निस्कन स्थानीय त्रसित हुने गरेका छन् । 

डिभिजन वन कार्यालय नवलपुर यसरी आक्रमण गरिरहने बाघ एउटै हो या फरक–फरक भन्ने यकिन गर्न सकेको छैन । ‘हामीले चितवन राष्ट्रिय निकुञ्जको सहकार्यमा ट्यापिङ् क्यामेरा राखेर बाघको अनुसन्धान गरिरहेका छौँ, वन कार्यालयका निमित्त प्रमुख सूर्यसिंह गुरुङले भन्नुभयो, ‘क्यामेरामा बाघ परेको छैन, क्यामेरा बाहेक केही पर पाइला स्पट भएका छन्, तर आक्रमण  गर्ने बाघ एउटै हो या होइन निधो गर्न सकिएको छैन ।’

बाघ क्यामेरामा नदेखिएपछि क्यामेराको ठाउँ परिवर्तन गरे पनि नदेखिएकाले कस्तो प्रकृतिको बाघ हो भन्ने पहिचान भइनसकेको गुरुङले बताउनुभयो । आफ्नो नियन्त्रण क्षेत्र बाहिर बाघ र गैँडाले घटना घटाएपछि त्यसको अवस्था पत्ता लगाउन निकुञ्जले डिभिजन वनको आग्रहमा क्यामेरा जडानको काममा सहयोग गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताउनुभयो । बाघ एक दिनमा ८ किलोमिटरभन्दा बढी हिँड्ने गर्छ । 

जङ्गली जनावरले मानवीय क्षति गर्दैआए नियन्त्रणमा डिभिजन वन र निकुञ्जले खासै चासो नदिएको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

विगत ३ वर्षदेखि विनयीत्रिवेणी क्षेत्रमा बाघलगायतका जङ्गली जनावरले मानवीय क्षति गर्दैआए नियन्त्रणमा डिभिजन वन र निकुञ्जले खासै चासो नदिएको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । पुस ८ गते बाघको आक्रमणबाट सासू बुहारीको मृत्यु भएपछि निकुञ्ज र डिभिजन वनका अधिकारी बोलाएर छलफल गरेको र अझै पनि आक्रमण बढिरहे जनावर लखेटन जनता जाग्नुपर्ने अवस्था आउने गिरीको भनाइ छ ।

‘मैले निकुञ्जका सहायक वार्डेन, डिभिजन वनका कर्मचारीसहितको छलफलमा भनेको छु, तपाईँहरूको बाघ र गैँडा नियन्त्रण गर्नुस्, सक्नुहुन्न भने जनताले गर्छन्, जिम्मेवारी निकुञ्ज र डिभिजन वनले लिनुपर्छ’ गिरीले भन्नुभयो । डिभिजन वन कार्यालयले भने एक्ला–एक्लै वन प्रवेश नगर्न, प्रवेश गर्नै परे समूह बनाएर जान र रातिको समयमा यात्रा गर्दा सचेत हुन आग्रह गरेको छ  ।

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।