• १२ साउन २०८१, शनिबार

बढ्यो चिसो, घटे नेपाली चलचित्र

blog

काठमाडौँ, पुस १९ गते । चिसो बढेसँगै चलचित्र हलमा नेपाली चलचित्रको खडेरी लागेको छ । दसैँतिहारमा जुन सङ्ख्यामा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए, त्यसपछि हलमा नेपाली चलचित्र एकदमै न्यून देखिन थालेका छन् । दसैँपछि चलचित्र ‘बासेन्जी’, ‘दिमाग खराब’, ‘जम्प’ र ‘दुई कदम’ प्रदर्शनमा आए । ‘दिमाग खराब’ बाहेक अन्य कुनै चलचित्रले बक्स अफिसमा सोचे जस्तो कमाइ गर्न सकेनन् । 

यही पुस २७ गते ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ नेपाली चलचित्र प्रदर्शन हुँदै छन् । यी चलचित्रमा धेरैको आँखा गाडिएको छ । बाबुछोरीबिचको कथामा बनेको चलचित्र ‘चित्रा’ मा नाम चलेका कलाकार अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधानको अभिनय रहेकाले पनि धेरैले चलचित्र राम्रो चल्ने आशा गरेका छन् । चलचित्रले राम्रो कथा बोकेकाले चलचित्र राम्रो चल्नेमा चलचित्र निर्देशक घनश्याम लामिछाने आशावादी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चलचित्रलाई अवश्य दर्शकले रुचाउने छन् । यसले हलमा फेरि नेपाली चलचित्र पनि चल्न थालेछन् भन्ने पनि सङ्केत गराउने छ ।” 

प्रेमकथामा आधारित चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ पुराना निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्नुभएको छ । कुनै समय निर्देशक श्रेष्ठले ‘पर्खी बसेँ’ मार्फत नयाँ कलाकारका रूपमा राजवल्लभ कोइराला र युना उप्रेतीलाई डेब्यु गराउनुभएको थियो । यस पटक उहाँले ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीलाई डेब्यु गराउनुभएको छ । निर्देशक श्रेष्ठले भन्नुभयो, “यो प्रेम कथानक चलचित्र हो । ‘पर्खी बसेँ’ झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु ।” अहिले नेपाली चलचित्रहरू हलमा खासै प्रदर्शन नभइरहेको समयमा यसले अवश्य अन्य चलचित्र प्रदर्शन हुनका लागि थप बाटो खुल्ने उहाँको दाबी छ ।

हलमा नेपाली चलचित्र कम प्रदर्शन भइरहेका छन् तर कलाकारलाई भने चलचित्र सुटिङमा भ्याइनभ्याइ छ । दयाहाङ राई, सौगात मल्ल, प्रवीण खतिवडा, विपिन कार्की, अनमोल केसी, पूजा शर्मालगायत धेरै कलाकारका चलचित्र प्रदर्शनको तयारीमा छन् । चलचित्र ‘दयारानी’, ‘फर्की फर्की’, ‘महाजात्रा’, ‘रङ्गेली’, ‘डिग्री माइला’, ‘दान्भी’, ‘यो मन त नेपाली हो’ लगायतका चलचित्र केही प्रदर्शनको तयारीमा छन् भने केहीले पोस्ट प्रोडक्सनका काम सुरु गरेका छन् । त्यस्तै  ‘१२ गाउँ’, ‘भुठान’, ‘मनसरा’, ‘मेयर’, ‘वरिष्ठ बलराम’, ‘लोकल हिरो’, ‘बलिदान’, ‘कार्साङ’, ‘ज्वाइँसाब’, ‘पुजार सार्की’, ‘जेरी–२’ लगायत चलचित्र छायाङ्कनको तयारीमा छन् । 

निर्देशक दीपेन्द्र के खनाल फागुनपछि नेपाली चलचित्रको प्रदर्शनको पालो आउने बताउनुहुन्छ । अहिले हलमा चलचित्रको अभाव होइन, चलचित्र कुन समयमा प्रदर्शन गर्ने भन्ने कुराको तयारी हुँदै छ ।  फागुन लागेपछि धेरै चलचित्र दर्शकसामु आउने तयारीमा छन् । चिसो मौसमका कारण चलचित्र प्रदर्शनमा नआएको भनाइमा भने उहाँ सहमत देखिनुहुन्न । चलचित्र राम्रो बन्यो भने चिसो÷तातो मौसमले केही फरक नपार्ने, दर्शक त्यसै हलमा आउने उहाँ बताउनुहुन्छ ।